जारी सिजनको फ्रेन्च लिग वान फुटबल प्रतियोगितामा पेरिस सेन्ट जर्मेनले पहिलो हार ब्योहरेको छ।
लियोनेल मेस्सी, नेयमार र किलियन एम्बाप्पे तीनै खेलाडीलाई एकसाथ मैदानमा उतार्दा पनि पीएसजी स्टडे रेन्याससँग २-० गोलअन्तरले पराजित भएको हो।
पीएसजीलाई सिजनको पहिलो हार चखाउने क्रममा खेलको पहिलो हाफ र दोस्रो हाफ दुवैमा रेन्यासले एक एक गोल गर्यो।
पहिलो हाफको अन्तिम समयमा ग्लाटन लाबर्डेले पहिलो गोल गरे। त्यसपछि दोस्रो हाफको पहिलो मिनेटमै फ्लाभिय टिटले गोल गरेपछि पीएसजी २-० गोलले पछि पर्यो।
त्यसअघि खेलको ३१ औँ मिनेटमा पीएसजीका लियोनेल मेस्सीले प्रहार गरेको फ्री किक बल बारमा लागेर बाहिरिएको थियो।
त्यसपछि दोस्रो हाफको ६७ औँ मिनेटमा एम्बाप्पेले गरेको गोल अफसाइड हुँदा पीएसजीले खेलमा फर्किने मौका गुमायो। दोस्रो हाफमा पनि फ्रि किकलाई मेस्सीले पोस्टको दिशा दिए पनि गोलमा परिणत गर्न सकेनन्।
यस हारपछि पनि पीएसजी ९ खेलबाट २४ अंकसहित लिगको पहिलो स्थानमा छ। जित निकालेको रेन्यास ९ खेलबाटै १२ अंकसहित लिगको सातौँ स्थानमा छ।
Shares

प्रतिक्रिया