ad ad

राजनीति


किम यो जोङ बन्लिन् उत्तर कोरियाको पहिलो महिला नेता?

किम यो जोङ बन्लिन् उत्तर कोरियाको पहिलो महिला नेता?

सोजिन लिम
असोज १८, २०७८ सोमबार ८:२७, काठमाडौँ

हालै दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले कोरिया युद्ध औपचारिक अन्त्यको घोषणा गर्न आह्वान गरे। लगत्तै उत्तर कोरियाका उपविदेशमन्त्रीले सो प्रस्तावको आलोचना गरे। १९५३ मा युद्धविराम भएयता सो प्रस्तावमा उत्तर कोरियाले यस्तै जवाफ दिँदै आएको छ। 

तर, त्यसको भोलिपल्ट उत्तरका सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङका तर्फबाट भने अलि फरक सन्देश आयो। उनले राष्ट्रपति मुनको प्रस्तावलाई प्रशंसनीय भन्दै केही पूर्वसर्त पुरा हुनुपर्ने बताइन्।

उनले दोहोरो व्यवहार, तर्कहीन विभेद, खराब बानी र आफ्ना जस्तासुकै क्रियाकलापलाई उचित ठहर्याउने अनि अरुले आत्मरक्षामा चालेको कदमलाई पनि गलत भन्ने तरिका बन्द हुनुपर्ने सर्त अघि सारेकी थिइन्।

यस्तो खालको अभिव्यक्ति प्राय सर्वोच्च नेता किमले मात्रै दिने अपेक्षा राखिन्छ। तर, उनकी बहिनीका तर्फबाट सो सन्देश आएपछि त्यसको गहनताबारे चर्चा हुन थालेको छ।

को हुन् किम यो जोङ?
२०१८ मा दक्षिण कोरियाको भ्रमण गर्ने किम परिवारको पहिलो सदस्य बनेपछि किम यो जोङ पहिलो पटक अन्तर्राष्ट्रिय चर्चामा आइन्। दक्षिणमा भएको हिउँदे ओलम्पिकमा उत्तरको प्रतिनिधिमण्डलमा उनी सहभागी थिइन्। जहाँ दुवै मुलुकले एउटै टोलीका रुपमा स्पर्धा गरेका थिए। उनले राष्ट्रपति मुनसँग बैठक गर्नुका साथै अमेरिकी उपराष्ट्रपति माइक पेन्स तथा जापानी प्रधानमन्त्री आबे सिन्जोसँग तस्बिर पनि खिचाइन्। 

दक्षिणमा यो कूटनीतिक विजयपछि उनको प्रोफाइल बढ्यो। त्यसपछि चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पनि उनले भेटिन्। त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग किम जोङ उनले गरेका तीन वटै शिखर बैठकमा पनि उनी उपस्थित थिइन्।

किम यो जोङको बाल्यकालबारे अत्यन्त कम जानकारी मात्र सार्वजनिक भएका छन्। उनको जन्मदिन निश्चित छैन। उनी किम जोङ इल र को योङ हुइकी कान्छी सन्तान हुन्। उनले स्विट्जरल्यान्डको बर्नस्थित दाजु पढेकै स्कुलमा पढेको विश्वास गरिन्छ। त्यसपछि प्योङयाङको किम इल सुङ विश्वविद्यालयमा उनले कम्प्युटर साइन्स पढेकी थिइन्। 

२००९ मा बुबा किम जोङ इलको स्वास्थ्य कमजोर हुँदै गएपछि उत्तराधिकारी को बन्ने भन्ने चर्चा चल्न थाल्यो। विस्तारै किम जोङ उनले सत्ता सम्हाल्ने स्पष्ट हुँदै गयो। पिताको अन्तिम संस्कारमा भने किम यो जोङ परिवारका वरिष्ठ सदस्यहरुसँगै देखा परिन्। 

२०१७ र २०२० मा गरी दुई पटक उनी वर्कर्स पार्टीको पोलिटब्युरोमा बढुवा भइन्। उनी प्रचार विभागकी प्रमुख हुन्। जसका माध्यमबाट उनले दाजुको व्यक्तित्व निर्माणको काम गरिन्। त्यसका साथै विदेश मामिलामा पनि उनी नियमित रुपमा वक्तव्य दिइरहन्छिन्।

उनको विवाह चो सोङसँग भएको छ। जो पार्टीका सचिव चो रोङ हेका कान्छा छोरा हुन्। उनको राजनीतिक शक्तिको स्रोत यो पनि हो।

दाजुकी उत्तराधिकारी?
किम यो जोङको शक्ति कति छ त? उत्तर कोरियामा उनी आफूखुसी के कति गर्न सक्छिन् भन्ने जुन २०२० को एउटा घटनाले देखाउँछ।

उत्तरबाट भागेर दक्षिण पसेकाहरुले प्रोपागान्डाका लागि बेलुनबाट उत्तरतर्फ पर्चा छर्ने गरेका थिए। त्यसबेला उनले यस्तो गतिविधिविरुद्ध तत्काल निर्णायक कदम चाल्न आफूले अन्तर–कोरिया मामिला विभागलाई आदेश दिइसकेको बताएकी थिइन्। उनले उत्तर–दक्षिण सम्पर्क कार्यालय ध्वस्त भएको दृश्य चाँडै देखिने पनि उल्लेख गरेकी थिइन्।

नभन्दै भोलिपल्टै सो भवन विस्फोट गराइयो। यसले के देखायो भने जब किम यो जोङ कुनै आदेश दिन्छिन्, त्यो पुरा हुन्छ।

त्यस्तै, किम यो जोङ र उनका दाजुबीचको शक्ति–सम्बन्ध कस्तो छ भन्ने अर्को एउटा घटनाले केही प्रकाश पार्न सक्छ।

मार्च २०२० मा उनले पहिलो पटक आधिकारिक वक्तव्य जारी गर्दै दक्षिण कोरियाली राष्ट्रपति कार्यालयको चर्को आलोचना गरिन्। त्यसअघि दक्षिणको राष्ट्रपति कार्यालयले उत्तरलाई सैन्य अभ्यास रोक्न आह्वान गरेको थियो। उनले दक्षिणको नेतृत्वलाई बच्चासँग तुलना गर्दै ‘अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ’ भन्ने उखान चरितार्थ गरेको आरोप लगाएकी थिइन्।

तर, त्यसको दुई दिनपछि दाजु किम जोङ उनले कोभिड–१९ बाट भएको क्षतिप्रति समवेदना जनाउँदै दक्षिणका राष्ट्रपतिलाई सन्देश पठाए। उनले राष्ट्रपति मुनसँगको अटल मित्रता र विश्वास कायम रहने पनि बताएका थिए।

यी दुई घटनाले उत्तर कोरिया नियाल्नेहरुलाई द्विविधाग्रस्त तुल्यायो। दुई मुलुकबीचको सम्बन्धलाई लिएर दाजुबहिनीबीच मतभेद छ वा एक जनाले फकाउने र अर्कोले तर्साउने कूटनीतिक चाल चालिँदैछ भनेर उनीहरु दोधारमा परे।

किम परिवारमा शक्तिका सम्भावित पुरुष उम्मेदवारहरुको हत्या भएको छ। किमका सौतेनी दाजु किम जोङ नामको २०१७ मा र उनका काका जाङ सोङ थेकको २०१३ मा हत्या भएको थियो। त्यसैले किमको स्वास्थ्यबारे अनेक आशंका उब्जिएका बेला किम यो जोङले शक्तिका लागि चुनौती दिनसक्ने विश्लेषण पनि केहीले गरेका छन्।

उत्तर कोरियामा नेतृत्व प्राप्त गर्न सेना, पार्टी र जनता तीनै क्षेत्रमा राम्रो पकड हुनुपर्छ। किम जोङ इल र किम जोङ उन दुवै राष्ट्रिय रक्षा आयोग अर्थात् सेनाको नेतृत्वदायी भूमिकामा थिए। त्यस्तै पार्टीमा पनि उनीहरुको पकड थियो। दुवैले व्यक्तिपूजाको संस्कृति विकास गरेका थिए। त्यसैले जनतामा पनि राम्रो पहुँच थियो।

किम यो जोङ विदेश नीतिसम्बन्धी प्रवक्ताका रुपमा जनतामाझ परिचित छिन्। पार्टीमा पनि उनको पकड राम्रै छ। तर, अहिलेसम्म उनी रक्षा आयोगमा नियुक्त भएकी छैनन्। यदि चाँडै नै आयोगमा उनको नियुक्ति भयो भने उत्तर कोरिया पहिलो महिला नेताका लागि तयारी गर्दैछ भन्ने बुझ्नुपर्छ।

(द कन्भर्सेसनबाट। सोजिन लिम युनिभर्सिटी अफ सेन्ट्रल लंकासायरस्थित इन्टरनेसनल इन्स्टिच्युट अफ कोरियन स्टडिजकी उपनिर्देशक हुन्)
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .