पाकिस्तानका पूर्व स्टार अलराउन्डर शाहिद अफ्रिदीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने भएका छन्।
राष्ट्रपति भण्डारीसँग अफ्रिदीले भोलि भेट गर्नलागेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले पुष्टि गरे।
अधिकारीका अनुसार राष्ट्रपतिसँग शुक्रबार अपराह्न शीतलनिवासमा भेट हुनेछ।
भेटका लागि जानेको नामावली भने अहिलेसम्म नपुगेको प्रमुख स्वकीय सचिव अधिकारीले बताए।
भेटका क्रममा राष्ट्रपति भण्डारीले प्रतियोगिताका लागि शुभकामना दिनेछिन्। ईपीएल आयोजकसँगै सहभागी टोलीले पनि राष्ट्रपतिसँग भेट गर्ने तय भएको छ।
फ्रेन्चाइज टोली काठमाडौं किंग्स इलाभेनमा आबद्ध अफ्रिदी नेपालमा एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्न आज काठमाडौं आउँदै छन्।
अफ्रिदी कतार एयरवेजबाट अपराह्न ३ बजे काठमाडौं अवतरण गर्दै छन्। उनलाई होटल सोल्टीमा बस्ने व्यवस्था गरिएको छ।
अफ्रिदी भोलि काठमाडौं किंग्स एलाभेनको पत्रकार सम्मेलनमा पनि उपस्थित हुनेछन्।
ईपीएलका लागि नेपाल आएका विदेशी खेलाडीमध्ये ४१ वर्षीय अफ्रिदी चर्चित अलराउन्डर हुन्। काठमाडौं किग्स इलाभेनमा अनुबन्ध भएका अफ्रिदीले ईपीएलका दुई खेल मात्र खेल्नेछन्।
अफ्रिदीले ललितपुर प्याट्रियट्सँगको उद्घाटन खेल र विराटनगर वारियर्ससँगको खेलमा सहभागिता जनाउनेछन्।
उद्घाटन खेल शनिबार सवा १२ बजे किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। दोस्रो खेल सोमबार साढे ९ बजे हुनेछ।
करिब ५ दिन काठमाडौमा रहने अफ्रिदीले शिष्टाचार भेटदेखि माउण्टेन फ्लाइटसम्मका कार्यक्रम तय भएको छ।
अफ्रिदीले २६ सेप्टेम्बरमा माउण्टेन फ्लाइटदेखि दराज, शिवम् सिमेन्ट र बजाज पल्सरका विभिन्न कार्यक्रममा उपस्थित हुनेछन्। अफ्रिदी २७ सेप्टेम्बरमा पाकिस्तान फर्कने कार्यक्रम छ।
अफ्रिदी ठूला सर्ट र स्पिन बलिङका लागि परिचित छन्। अफ्रिदीले पाकिस्तानबाट २७ टेस्ट, ३ सय ९८ ओडीआई, ९९ टी२० आई र ३ सय २६ टी२० खेल खेलेका छन्।
सन् २००६ मा इंग्ल्यान्डविरुद्ध डेब्यू गरेका अफ्रिदीले टी२० मा १ हजार ४ सय १६ रन बनाउँदा ९८ विकेट लिएका छन्।
ओडीआईमा उनले १९९६ मा श्रीलंकाविरुद्ध ३७ बलमा शतक प्रहार गरेका थिए। ओडीआईमा शतक प्रहार गर्ने अफ्रिदी कान्छा खेलाडी बनेका थिए।
उनले १६ वर्ष २ सय १७ दिनमा श्रीलंकाविरुद्ध शतक बनाउँदै कीर्तिमान कायम गरेका थिए।
Shares

प्रतिक्रिया