उरुग्वेली स्ट्राईकर लुइस स्वारेज चम्किएपछि साविक विजेता एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा गेटाफेविरुद्ध पुनरागमन जित निकालेको छ।
मंगलबार राति भएको खेलमा एट्लेटिकोले गेटाफेलाई उसैको मैदानमा २–१ गोलले हरायो। १० खेलाडीमा समेटिएको गेटाफे सुरुवाती अग्रता लिएर पनि हार खेप्न बाध्य भयो। एट्लेटिकोको जितमा दुवै गोल लुइस स्वारेजले गरे। गेटाफेका स्टेफन मित्रोभिकले सुरुवाती गोल गरेका थिए।
प्रतिस्पर्धात्मक खेलमा गेटाफेले ४५औं मिनेटमा अग्रता लिएको थियो। स्टेफनले हेड गोल गर्दै घरेलु टोलीको उत्साह जगाए। तर गेटाफेको खुशी लामो समय टिकेन। ७४औं मिनेटमा गेटाफे १० खेलाडीमा समेटियो। कार्लेस एलेना दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि गेटाफे दबाबमा देखिएको थियो। जसको फाइदा पाहुना टोली एट्लेटिकोले भरपुर उठायो।
६८ प्रतिशत बल पोसेसन राखेको एट्लेटिकोले ६८औं मिनेटमा बराबरी गोल फर्काएको थियो। स्वारेजले मारियो हर्मोसोको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसपछि इन्जुरी समयमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए। स्वारेजले सिम भर्सलज्कोको पासमा हेड गोल गरेका थिए। यससँगै स्वारेजले जारी सिजन तीन गोल गरेका छन्। स्वारेज ‘म्यान अफ दी म्याच’ भए।
जितसँगै एट्लेटिकोले लिगमा अपराजित यात्रा पनि कायम राखेको छ। शीर्षस्थानमा उक्लिएको एट्लेटिकोको ६ खेलबाट १४ अंक छ। अंकविहीन गेटाफे १९औं स्थानमा छ। दोस्रो स्थानमा रहेको रियल म्याड्रिडले पाँच खेलबाट १३ अंक बनाएको छ। तेस्रो र चौथो स्थानमा रहेको भ्यालेन्सिया र रायो भालेकानोको समान १० अंक छ।
मंगलबार राति नै भएको अर्को खेलमा रायो भालेकानोले एथलेटिक बिल्बाओलाई उसैको मैदानमा २–१ गोलले हराउँदै चौथो स्थानमा उक्लिएको हो। रायो भालेकानोको जितमा अल्भारो गार्सियाले पाँचौं र राडामेल फाल्काओले दोस्रो हाफको इन्जुरी समयमा गोल गरे।
बिल्बाओले आत्मघाती गोल उपहार पाएको थियो। ३३औं मिनेटमा रायो भालेकानोका पाथे सिसको प्रहार आत्मघाती गोलमा परिणत भएको थियो। पराजित बिल्बाओ ९ अंक सहित छैटौं स्थानमा छ। अर्को खेलमा सेल्टा भिगोले लिभान्तेलाई २–० गोलले पराजित गरेको छ।
विश्वकै चर्चित लिग मध्येको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रत्यक्ष हेर्न पाइने ब्यवस्था छ। ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो।
ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भइरहेको छ। त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ। हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ।
Shares
प्रतिक्रिया