आइसीसी विश्वकप छनोट लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले आज (मगंलबार) ओमानको सामना गर्दैछ।
ओमानको घरेलु मैदान अल अमरेत क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ।
सिरिजको पहिलो खेलमा अमेरिकालाई ५ विकेटले हराएको नेपाल सोही लयलाई निरन्तरता दिन चाहन्छ। सिरिजमा लगातार दोस्रो जित निकाल्दै नेपाल चौथो स्थानमा उक्लन चाहन्छ। तर नेपालका लागि जित निकाल्न त्यति सहज भने हुने छैन।
सिरिजको पहिलो खेल खेलेको २४ घण्टा बित्न नपाउँदै नेपाली टोलीले दोस्रो खेल खेल्न लागेका हो। छोटो समयको विश्रामका कारण पनि टोलीको प्रर्दशनमा असर पर्न सक्नेछ। घरेलु मैदानमा जित निकाल्दै ओमान अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ।
यी दुई टोली १९ महिनापछि आमनेसामने हुदैछन्। यसअघि नेपालको घरेलु मैदानमा भएको भेटमा दुवै खेलमा ओमानले जित निकालेको थियो। नेपाल घरेलु मैदानमा भोगेको हारको बदला लिने योजनामा छ।
एकदिवसीय खेलमा यी टोलीबीच दुई खेलमा भेट भएको छ। दुवै भेटमा नेपाल पराजित भएको छ। सिरिज अन्तर्गत किर्तिपुरस्थित त्रिवि मैदानमा भएको पहिलो खेलमा ओमानले नेपाललाई ८ विकेटले हराएको थियो भने दोस्रो खेलमा १८ रनले जित निकालेको थियो।
अंक तालिका
आइसीसी विश्वकप छनोट लिग २ को अंक तालिकामा १० खेल खेलेको ओमान १६ अंकमा शीर्ष स्थानमा छ।
सबैभन्दा बढी १३ खेल खेलेको अमेरिका १२ अंकसहित दोस्रो स्थानमा छ। ८ खेल खेलेको स्कटल्याण्ड ९ अंकमा तेस्रो स्थानमा हुँदा ७ खेलबाट ८ अंक जोडेको नामिबिया तालिकाकोृ चौथो स्थानमा छ।
संयुतm अरब एमिरेन्ट् (युएई) ले ७ खेलबाट ७ अंक जोड्दै पाँचौ स्थानमा आफूलाई उभ्याएको छ। सबैभन्दा कम खेल अर्थात ५ खेल खेलेको नेपाल ६ अंकमा छैटौँ स्थानमा रहँदा ८ खेलबाट अंकविहिन पपुवा न्युगिनी तालिकाको पुछारमा छ।
Shares
प्रतिक्रिया