इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार भएको पहिलो खेलमा क्रिस्टल प्यालेसले टोटनहमलाई लज्जास्पद हार चखाएको छ।
क्रिस्टलले पाहुना टोली टोटनहमलाई ३-० गोलको हार चखाएको हो। क्रिस्टलको शानदार जितमा ओडसन एडुवार्डले दुई गोल गरे। त्यस्तै विल्फ्रिड जाहाले पनि एक गोल थपे।
दुई टोलीबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। त्यसपछि दोस्रो हाफको ५८ औँ मिनेटमा टोटनहम १० खेलाडीमा झरेपछि दबाबमा परेको थियो।
टोटनहमका टाङगंगा दोहोरो पहेँलो कार्ड पाउँदै रातो कार्ड खाएर मैदान छाड्न बाध्य भए। क्रिस्टलले त्यसकै फाइदा उठाउन सफल भयो।
१० खेलाडीमा सीमित टोटनहममाथि दबाब बढाएको क्रिस्टलले खेलको ७६ औं मिनेटमा पहिलो गोल गरे। जाहाले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए।
त्यसपछि खेलको ८४ औं मिनेटमा जाहाकै पासमा एडुवार्डले गोल गर्दै क्रिस्टललाई २-० ले अघि बढाए। त्यसपछि खेलको इन्जुरी समयमा एडुवार्डले व्यक्तिगत दोस्रो गोल गर्दै क्रिस्टललाई ३-० को जित पक्का गरे।
लिग तालिकाको शीर्ष स्थानको टोटनहमले सिजनको पहिलो हार भोग्यो। टोटेनहम अघिल्ला तीन खेलमा हारेको थिएन। यो हारपछि पनि टोटेनहम ४ खेलबाट ९ अंकसहित शीर्ष स्थानमै छन।
क्रिस्टल प्यालेसले भने ४ खेलबाट ५ अंक जोडेर लिगको ११ औं स्थानमा रहेको छ।
Shares

प्रतिक्रिया