महिला राष्ट्रिय फुटबल टोलीले आज बिहीबार बगंलादेशसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दै छ। खेल, दशरथ रगंशालामा साँझ साढे ५ बजे सुरु हुनेछ।
एएफसी एसियन च्याम्पियनसिप छनोटको तयारीमा रहेको नेपालले बगंलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
महिला राष्ट्रिय टोलीले दशरथ रगंशालामा पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो। इतिहासमै पहिलोपटक विदेशी प्रशिक्षकसहित नेपाली टोलीले रगंशालामा डेब्यु गर्नेछ।
छनोट खेलका लागि मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले मिडफिल्डर प्रिती राई, फरवार्ड सविता राना, रश्मी घिसिङ, रजनी थोकर, डिफेन्डर निशा थोकर, सृजना सिंह र विमला विकलाई पहिलोपटक टोलीमा समावेश गरेका छन्।
पहिलो मैत्रीपूर्ण खेलमा प्रक्षिक्षक फिलिप्सले नयाँ खेलाडीलाई मौका दिन सक्नेछन्। टोलीमा केही खेलाडी चोटग्रस्त रहे पनि मैत्रीपूर्ण खेल एएफसी छनोटको तयारीका लागि ठूलो मौका भएको उनको भनाइ छ। फिलिप्सले सावित्राको अभाव रहे पनि टोलीमा रहेका २३ खेलाडीले राम्रो प्रदर्शन गर्ने विश्वास लिएको बताएका छन्।
राष्ट्रिय लिगका दौरान घुँडामा चोट लागेपछि साम्बा अहिले उपचारका लागि कतारमा छिन्। उनलाई मैदान फर्किन अझै ७ महिना लाग्न सक्ने बताइएको छ।
टोलीकी नियमीत फरवर्ड सावित्रा भण्डारी साम्बा टोलीमा नहुँदा भने आफ्नो टोलीलाई राहत महसुस भएको बगंलादेशी टोलीका मुख्य प्रशिक्षक गोलम रोबानी चोटनले बताएका छन्।
चोटनले भने, ‘सावित्रा भण्डारी दक्षिण एसियाकै उत्कृष्ट फरवार्ड हुन्, उनी बिहीबारको खेलमा नहुनु दुःखद कुरा हो तर यसले हाम्रा डिफेन्डरलाई केही राहत महसुस भएको छ।
दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ।
हेड टु हेड
यी दुई टोलीबीचको ६ भेटमा अहिलेसम्म बगंलादेशले नेपाललाई हराउन सकेको छैन।
एसियन च्याम्पियनसिप र साफमा मात्र भेट भएका यी टोली पहिलोपटक मैत्रीपूर्ण खेल खेल्न लागेका हुन्।
नेपाल र बगंलादेशबीच सन् २०१० पछि हालसम्म ६ पटक मात्र भेट भएको छ। त्यसमा ५ खेल नेपालले जितेको थियो भने एउटा खेल बराबरीमा टुंगिएको थियो।
नेपाल र बगंलादेशबीच पहिलो भेट सन् २०१० को ११औँ सागमा भएको थियो। बंगलादेशको ढाकास्थित बंगबन्धु स्टेडियममा भएको सो खेलमा नेपालले १–० ले विजयी भएको थियो।
सोही वर्ष साफ च्याम्पियनसिपमा भएको अर्को भेटमा नेपालले बंगलादेशलाई ३–० ले हराएको थियो।
नेपालले बंगलादेशलाई सन् २०१४ मा पाकिस्तानमा भएको साफ च्याम्पियनसिपमा १–० र २०१६ मा भारतमा भएको १२औँ सागमा ३–० ले हराएको थियो।
सन् २०१८ मा म्यान्मारमा भएको ओलम्पिक छनोटमा यी दुई टोलीले १–१ को बराबरी खेलेका थिए। यी दुई टोलीबीच पछिल्लो भेट दुई वर्षअघि विराटनगरमा भएको साफ च्याम्पियनसिपमा भएको थियो। त्यति बेला नेपाल ३–० ले विजयी भएको थियो।
Shares

प्रतिक्रिया