ad ad

राजनीति


कृष्ण सिटौलाले यसपटक सभापतिमा उम्मेदवारी देलान्?

कृष्ण सिटौलाले यसपटक सभापतिमा उम्मेदवारी देलान्?

केशव सावद
भदौ २६, २०७८ शनिबार ७:९, काठमाडौँ

१३औँ महाधिवेशनदेखि कांग्रेसमा ‘तेस्रो धार’को नेतृत्वकर्ताका रुपमा चिनिन्छिन् कृष्णप्रसाद सिटौला। यो धारलाई विचार समूह भन्न रुचाउने सिटौलाले बेला–बेला पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच देखिने असमझदारी हटाउन समन्वयकारी भूमिकासमेत निर्वाह गर्दै आएका छन्। 

अघिल्लो महाधिवेशनमा सभापतिमा चुनाव लडेका सिटौलाले यस पटक उम्मेदवारी दिन्छन् दिँदैनन्, थुप्रै कांग्रेसीजनलाई चासो छ। 

तर, अरु नेताहरुले भटाभट उम्मेदवारी घोषणा गरिरहँदा सिटौला भने मौन छन्। हप्तौँदेखि उनी कुनै सार्वजनिक कार्यक्रममा समेत देखिएका छैनन्। 

पूर्वमहामन्त्री सिटौला बाहिर कतै नदेखिए पनि उनले उम्मेदवारी दिने र त्यसका लागि आन्तरिक रुपमा तयारी गरिरहेको निकटस्थहरुले बताएका छन्। महाधिवेशनको तयारीस्वरुप सिटौलाले नेता–कार्यकर्ताहरुसँगको नियमित सम्पर्कलाई निरन्तरता  दिएका छन्। 

‘हो, म महाधिवेशनमा सभापति पदको उम्मेदवार हो। पार्टीभित्रको प्रतिष्पर्धामा म कसैसँग पूर्वाग्रह नराखी अगाडि जानुपर्छ भन्ने मान्यता राख्छु।’ सिटाैलाले नेपालखबरसित भने, ‘प्रतिष्पर्धा तिक्तता र कटुपूर्ण बन्नु हुँदैन। प्रतिष्पर्धा पछि आउने परिणामलाई सवैले सहर्ष स्वीकार गर्नुपर्छ। परिणाम पछि सवैलाई मिलाएर, सवैले मिलेर नै अगाडि बढ्नुपर्छ।’ 

उनले ले २०७६ फागुनमा गृहजिल्ला झापा पुगेर पहिलोपटक आउँदो महाधिवेशनमा पनि अलग समूह बनाउने घोषणा गरेका थिए। उनले १४औं महाधिवेशनलाई नै लक्षित गरेर २०७६ फागुन अगाडि नै सम्पर्क कार्यालय खोलेका थिए। काठमाडौंको महाराजगन्जस्थित रिङ रोडको मुख्य सडकबाट नजिकै रहेको सम्पर्क कार्यालयमा सिटौलाले नेता–कार्यकर्ताहरूसँग नियमित भेटघाटसमेत सुरु गरेका थिए। 

‘अहिले वडा तहका अधिवेशनहरु हुँदैछन्। संघीय संरचनाअनुसार प्रदेश अधिवेशनले एउटा सन्देश दिन्छ। अहिले सभापतिमा आकांक्षा राखिरहनुभएका नेताको परीक्षण प्रदेश अधिवेशनबाट हुन्छ।’  पूर्व महामन्त्री सिटाैलाले भने, ‘प्रदेश अधिवेशनले सवैको हैसियत, पावरबारे प्रष्ट सन्देश दिन्छ। त्यो आधारमा आकांक्षीहरुले उम्मेदवारी बारे निर्णय गर्छन होला।’

तर महाधिवेशन सरेपछि अहिले उनको सम्पर्क कार्यालय गौशाला सरेको छ। गत चैत महिनाबाट महाराजगञ्जबाट गौशाला सम्पर्क कार्यालय स्थापना गरिएको स्वकीय सचिव किरण सिटौलाले जानकारी दिए। उनका अनुसार सिटौला सम्पर्क कार्यालयमा दिउँसो १ बजेबाट नियमित रुपमा उपस्थित हुने गरेका छन्। 

‘बिहान ६ बजेबाट घरमै कार्यकर्ताहरुसँग भेटघाट गर्नुहुन्छ,’ उनले भने, ‘मिटिङमा जानुपर्ने भए जानुहुन्छ। नत्र नियमित रुपमा दिउँसो १ बजेबाट सम्पर्क कार्यालय पुग्नुहुन्छ।’ 

महाधिवेशनमा उम्मेदवारी दिनकै लागि सम्पर्क कार्यालय स्थापना गरी गतिविधि अघि बढाइएको उनले बताए।

यसअघि १३औं महाधिवेशनमा पहिलो चरणबाटै सभापतिको प्रतिस्पर्धाबाट बाहिरिएपछि उनले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई सभापतिमा सघाएका थिए। सिटौलाकै सहयोगका कारण देउवाले प्रतिद्वन्द्वी पौडेललाई हराएका थिए। 

तर, १४ औं महाधिवेशनको चहलपहल बढेसँगै यसपटक देउवालाई सघाउनेबारे सोच्न पनि नसकिने सिटौलाले बताएका छन्।

सदस्यता विवाद समाधान
सिटौला पछिल्लो समय क्रियाशील सदस्यता विवादका लागि गठित तीन सदस्यीय कार्यदलको संयोजक थिए। कांग्रेसमा लामो समयसम्म विवादित बनेको क्रियाशील सदस्यतासम्बन्धी विवाद सिटौलाकै नेतृत्वमा समाधान भएको छ। 

कार्यदल गठन हुनुअघि कांग्रेसका एक सयभन्दा बढी वडामा नवीकरण र नयाँ क्रियाशील सदस्यतासँगै समायोजन भएर आएका नेता–कार्यकर्ताहरुको सदस्यताबारे विवाद थियो।

साउन ३० गते बसेको केन्द्रीय कार्यसमिति बैठकले पूर्वमहामन्त्री सिटौलाको संयोजकत्वमा केन्द्रीय सदस्यद्वय डा. मिनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको कार्यदल गठन गरेर जिम्मेवारी सुम्पिएको थियो।

नेताद्वय डा. रिजाल र लेखकको सहायतामा उनले क्रियाशील सदस्यता विवाद किनारा लगाउँदै भदौ ८ गते प्रतिवेदन सभापति देउवा र वरिष्ठ नेता पौडेलको जिम्मा लगाएका थिए। 

सिटौला संयोजकत्वको कार्यदलले क्रियाशील सदस्यता विवाद समाधान गरेसँगै कांग्रेसले १४औँ महाधिवेशनको प्रक्रिया अघि बढाएको छ। कांग्रेसले समायोजनमा देखिएको समस्या समाधान गर्न साझा मापदण्ड बनाएको छ। 

‘कुनै पनि वडामा समायोजनको संख्या नवीकरण भएका सदस्यको संख्याभन्दा बढी हुन नहुने’ मापदण्ड कांग्रेसले बनाएको छ। सोही मापदण्डअनुसार नवीकरण भएको सदस्यता संख्याभन्दा बढी समायोजनबाट आएका सदस्यहरूको संख्या देखिएका वडामा संख्या घटाइएको छ।

पार्टीमा समायोजनको विषय विवादित बनेपछि सिटौलाले नै सो मध्यमार्गी प्रस्ताव अघि सारेका थिए। सिटौलाको जुक्ति ‘अचुक’ उपाय बनेको उनको समूहको बुझाइ छ। 

‘क्रियाशील सदस्यताको विवाद मिलाउन अहम भूमिका निर्वाह गर्नुभयो,’ सो समूहका एक नेताले भने, ‘समायोजन सदस्य संख्यालाई नेपाली कांग्रेसको पुरानो संख्याभन्दा बढी नहुने गरी प्रस्ताव गरेको मापदण्ड त अचुक उपाय नै सावित भयो।’  

के गगनले सिटौला समूह छोडेका हुन्? 
सिटौलाले भदौ १३ गते आफूनिकटका केन्द्रीय सदस्यहरु भीमसेनदास प्रधान, उमाकान्त चौधरी, प्रदीप पौडेल र गगन थापासँग जमलस्थित एक होटलमा छलफल गरेका थिए। छलफलमा सिटौलाले थापालाई आफ्नो ‘लाइन क्लियर’ गर्न भनेका थिए।

त्यसपछि थापाले आफूहरु एकढिक्का रहेको सन्देश दिन पत्रकार सम्मेलन आयोजना गर्ने प्रस्ताव राखेका थिए। 

‘त्यो दिन गगनले पर्सि गौशालास्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गर्ने र हामीहरु सँगै छौं भन्ने सन्देश दिनुपर्ने प्रस्ताव गरेका थिए,’ उक्त छलफलमा सहभागी एक नेताले नेपालखबरसँग भने, ‘तर पत्रकार सम्मेलनको कुरा अगाडि बढेन। उनी एकाएक पौडेल समूहको पत्रकार सम्मेलनमा देखा परे।’ 

वरिष्ठ नेता पौडेलले भदौ १७ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर नेता–कार्यकर्ताहरुलाई आप्mनो समूह एकढिक्का रहेको सन्देश प्रवाह गर्न खोजे। संस्थापन इतर नेताहरुको तर्फबाट साझा आवाज बोल्दै नेता पौडेलले सहमतिमै अघि बढ्ने बताए।

‘हाम्रोतर्फबाट सभापतिको उम्मेदवार एकजना मात्रै हुनेछ,’ उनले भने, ‘यो कुरामा हाम्रा देशभरका साथीहरुलाई पनि विश्वास दिलाउन चाहन्छौँ।’ 

पत्रकार सम्मेलनमा पौडेल समूहबाट सभापतिका आकांक्षी पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइरालालगायत नेताहरु उपस्थित थिए। 

सोही पत्रकार सम्मेलनमा गगन थापा सहभागी भएको देखेपछि उनले सिटौला समूह छाडेको चर्चा चुलियो। यद्यपि, उनी त्यसअघि पनि पौडेल समूहले आयोजना गर्ने गुटगत छलफलमा पनि सहभागी हुँदै आएका थिए।

थापाले समूह परिवर्तनका बारेमा नेता सिटौलालाई कुनै जानकारी दिएका छैनन्।  नेपालखबरसँगकाे संवादमा सिटौलाले पनि गगन थापाले आफ्नो टिम नछाेडेकाे बताए। ‘गगनले टिम छोडेका छैनन्।’ ​ सिटाैलाले भने ‘१३औँ महाधिवेशनमा बनेको हाम्रो टिम छँदैछ। अहिले १३औँमा देखिएको शेरबहादुरजीको टिम पनि छरपष्ट छ। यस्तै रामचन्द्रजीको टिम पनि छरपष्ट नै छ।’

थापाको सचिवालयले पनि अहिले नै सिटौला समूह छाडिसकेको भन्न नमिल्ने प्रतिक्रिया दिएको छ। 

‘अहिलेसम्म रहेको ग्रुप छाडेको भन्न मिल्दैन। दाइ यसअघि पनि पौडेल समूहको छलफलमा सहभागी हुँदै आउनुभएको थियो नि,’ उनको सचिवालयले भन्यो, ‘सभापति देउवाविरुद्ध दुवै समूहलाई एक बनाउन उहाँ प्रयासरत हुनुहुन्छ।’ 
  
के सिटौलाले कुनै समूहलाई सघाउँछन्?
उनीनिकट नेताहरु महाधिवेशनमा संस्थापन समूह वा पौडेल समूहलाई सिटौलाले सघाउने सम्भावना नरहेको दाबी गर्छन्। यद्यपि, पौडेल समूह एकढिक्का भएर देउवाविरुद्ध उभिए सिटौलाको साथ पाउने सम्भावना भने रहेका नेताहरुको भनाइ छ। 

तर, पौडेल समूहले सभापति देउवाविरुद्ध साझा उम्मेदवार चुनावी मैदानमा उतार्ने सम्भावना भने न्यून रहेको सिटौला समूहको बुझाइ छ। 

‘यसपल्ट देउवालाई सघाउनु हुन्न। पौडेल समूहलाई मिलाउन खोज्नुभएकै हो,’ उनीनिकट नेताले भने, ‘उहाँहरु आफैँ मिलिरहनुभएको छैन। मिल्ने छाँटकाँट नै देखिन्न। यस्तो अवस्थामा कहाँ सघाउनु हुन्छ?’

सोही समूहमा रहेका अर्का नेताले पनि पौडेल समूहलाई सिटौलाले सहयोग गर्ने सम्भावना नरहेको दाबी गरे।

‘पौडेल समूहमा रहनुभएका नेताहरु आफू भए मात्र ठीक, अर्को भए देउवालाई हराउन सकिँदैन भनिरहनुभएको छ। उहाँहरु एक हुने देखिन्न,’ ती नेताले भने, ‘साझा उम्मेदवार दिन सक्नुभएन भने दाइले सहयोग गर्ने सम्भावना देखिन्न अब।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .