खेल


पपुवा न्युगिनीमाथि नेपालको कठिन जित

पपुवा न्युगिनीमाथि नेपालको कठिन जित

नेपालखबर
भदौ २२, २०७८ मंगलबार १७:०, काठमाडौँ

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजअघिको पहिलो एक दिवसीय अभ्यास खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)माथि कठिन जित निकालेको छ। 

टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले दिएको १३५ रनको सामान्य लक्ष्य नेपालले ८ विकेटको क्षतिमा भेट्टाएको हो। 

ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिजअघिको पहिलो अभ्यास खेलमा उत्कृष्ट बलिङ गरेको नेपालको ब्याटिङ भने कमजोर देखियो।

खराब ब्याटिङ गरेको नेपाललाई सोमपाल कामी र रोहित पौडेलको साझेदारीले जिततर्फ डोर्‍याएको हो। 

नेपालका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखले राम्रो सुरुवात गरे पनि अन्य ब्याट्सम्यान टिक्न नसक्दा नेपालको इनिङ धरापमा परेको थियो। 

भुर्तेलले १५ र शेखले ३० रन जोडे। ज्ञानेन्द्र मल्ल ६ रन, आरिफ शेख ९ रन र शरद भेषावाकर ६ रनमै आउट हुँदा नेपाल संकटमा परेको थियो। 

छैटौं नम्बरमा ब्याटिङ गर्न आएका रोहित टोलीलाई एक रन आवश्यक हुँदा ४१ रन बनाएर आउट भए। 

कुशल मल्ल १ रन र पवन सर्राफ शून्य रनमै आउट भएपछि आएका सोमपालले रोहितसँग साझेदारी जमाए। सोमपाल २२ रनमा अविजित रहे।

३९ दशमलव ३ ओभरमा नेपालले ८ विकेटको क्षतिमा १३५ रन जोड्दै जित निकालेको हो। 

पपुवा न्युगिनीका लागि गउडी तोकाले ३, डमिन रभु र चद शोपरले सम्मान २ विकेट लिए। नशैना पोकानाले एक विकेट हात पारे। 

त्यसअघि पपुवा न्युगिनी ३३ ओभरमा १३४ रनमा अलआउट भएको थियो।

नेपालका लागि स्पिनर सन्दीप लामिछानेले ४ विकेट लिए। एक दिवसीय अन्तर्राष्ट्रिय  क्रिकेटमा डेब्यु गरेका विक्रम शोबले २ विकेट हात पारे। 

कुशलले २ विकेट र सोमपालले १ विकेट लिए। 

लेगा सियाको ३० रन नै पीएनजीका लागि सर्वाधिक रन रह्यो। चाल्र्स अमिनीले २३, गौडी टोकले २२ रन जोड्दा किव्लिन डोरिगाल १५ तथा सेस बाउले १४ रन थपे। 

त्रिकोणात्मक सिरिजअघि नेपालले पपुवा न्युगिनीसँग एक दिवसीय खेल खेलेको हो।

नेपालले पीएनजीसँग दोस्रो अभ्यास खेल आउने शुक्रबार खेल्नेछ। साेसँगै अर्काे साता साेमबारदेखि ओमान र अमेरिकासँगकाे त्रिकाेणात्मक सिरिज खेल्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad