राष्ट्रिय महिला क्रिकेट टिमकी उपकप्तान सीता रानामगरको टोली पोखरा पल्टनले ‘वुमन्स च्याम्पियन्स लिग’अन्तर्गत बिहीबार क्याट क्विन्स काठमाडौंसँग भएको पहिलो खेल जतिसक्दो चाडो भुल्ने प्रयास गर्नेछ। किनकि सबै थोक बिगारेको टोलीले काठमाडौंसँग ८२ रनको नमिठो हार बेहोर्यो।
टोली जम्मा ७० रनमा समेटिएको थियो। कप्तान सीता(१७) र बिन्दु रावल (१३) बाहेक ८ खेलाडीले दोहोरो अंकै जोड्न सकेनन्। ५ खेलाडी त रनआउट नै भए। तीन खेलाडीले एक रन पनि बटुल्न सकेनन्। बलिङ पनि बिर्सन लायक रह्यो। अतिरिक्तबाट मात्रै उनीहरुले २५ रन दिएका थिए।
पहिलो खेलमा भएको खराब प्रदर्शन आगामी दिनमा नदोहोर्योस भन्ने चाहना टोलीको हुनेछ। तर, टोलीको खराब प्रदर्शनसामू बिहीबार एउटा खेलाडीको प्रदर्शन भने छायाँमा पर्यो।
अनुराधा चौधरी नेपाली महिला क्रिकेटमा खासै सुनिएको नाम हैन। तर, बिहीबार राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्रीको टोलीविरुद्ध भने उनी राम्रो छाप छाड्न सफल भइन्।

उसो त चौधरीले एक समय नेपालको महिला यू–१९ टोलीमा स्थान बनाउँदै विदेशको समेत भ्रमण गरिसकेकी छन्। तर, त्यो ७ वर्षअघिको कुरो हो। प्रतियोगिताको सम्झना पनि उनको स्मृतिबाट धुमिल भैसक्यो। त्यसपछि उनी कता गायब भइन कता। न उनलाई उमेर समूहमा देख्न पाइयो, न त उनले राष्ट्रिय टोलीको ढोका नै ढक्ढकाउन सकिन्।
लहान गृहजिल्ला भएकी अनुराधाले बिहीबार पोखराले खेल हार्दा पनि दर्शकको मन जितिन्। पोखराले सबैथोक बिगारेको खेलमा अनुराधाको प्रदर्शनमात्रै टोलीका लागि सम्झन लायक रह्यो। उनले ४ ओभरमा २८ रनमात्रै खर्चेर काठमाडौंका ठूला र महत्वपूर्ण चार विकेट ढालेकी थिइन्।
विनोद दास नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका पूर्व प्रशिक्षक हुन। दासले नै यस प्रतियोगितामा पोखरा पल्टनको प्रशिक्षकत्व सम्हालिरहेका छन्। दासकै भनाइमा पोखराको टिमकी अनुराधाले मात्रै आफ्नो जिम्मेवारी पूरा गर्ने खेलाडी हुन्। बाँकीले जिम्मेबारी पूरा गर्न नसकेको प्रशिक्षक दासको गुनासो थियो।
‘हामीले योजना बनाएका थियौं तर खेलाडीहरु त्यसलाई कार्यान्वयन गर्ने पाटोमा नराम्ररी चुके,’ प्रशिक्षक दासले खेलपछि भने, ‘अरु बलरजस्तै अनुराधारलाई पनि स्टप्म्समा बलिङ गर्ने र स्टप्म्सको ६ मिटर अगाडि फाल्ने जिम्मेवारी उसलाई दिएका थियौं। तर, अरु त्यो लेन्थमा चुक्दा अनुराधालेमात्रै त्यो लेन्थमा फालिन् र सफलता पनि मिल्यो।’

अनुराधा सुरुवातदेखि नै काठमाडौंमाथि भारी देखिइन्। उनको प्रदर्शनले एक समय पोखराको पल्ला भारी भए पनि अरु खेलाडीले साथ दिन नसक्नु उसका लागि दुर्भाग्य बन्यो।
अघिल्लो दिन(बुधबार)को खेलमा काठमाडौंका लागि सर्वाधिक स्कोर(३४) गर्ने खेलाडी ओपनर रोशनी शर्मा चौलागाई थिइन्। उनी यस खेलमा क्रिजमा टिकेको भए काठमाडौंले अझै ठूलो स्कोर बनाउन सक्थ्यो। अनुराधाले रोशनीलाई २ रनमै बोल्ड पार्दै काठमाडौंलाई झट्का दिइन्।
काठमाडौंका लागि तेस्रो विकेटका लागि कप्तान रुविना क्षेत्री र रोमा थापाबीच ६४ रनको साझेदारी भएको थियो। त्यही साझेदारीले नै खेल काठमाडौंतर्फ ढल्काइदिएको हो। अरु बलरहरुले यो साझेदारी तोड्न संघर्ष गरिहरँदा अनुराधाले नै त्यो ‘डेडलक’ तोडिन्। उनले दशौं ओभरमा रोमालाई विकेटकिपर मञ्जुबाट क्याच गराउँदै पोखरालाई ट्रयाकमा ल्याइन।
अनुराधाले उक्त साझेदारी नतोडेको भए काठमाडौं अझै ठूलो स्कोरतर्फ अघि बढ्ने निश्चित देखिन्थ्यो। दुवैले झण्डै ८ रनप्रति ओभरको दरले स्कोर अघि बढाएका थिए। त्यसमा ब्रेक लगाउने काम अनुराधाले गरिन्।
अनुराधाले त्यो साझेदारीमात्रै तोडिनन् अर्को ओभरमा एकपछि अर्को गर्दै दुई विकेट लिँदै विपक्षीमाथि दबाब बढाइन्। १३औं ओभरको पहिलो बलमा उनले अप्सरी बेगम(१)लाई बोल्ड पारिन्। उनले दोस्रो बलमा ममता थापालाई खाता नै खोल्न नदिई एलबीडब्लूको सिकार बनाइन्। तेस्रो बलमा ईश्वरी विष्टले कुनै रन नलिई रोकिदिँदा उनी प्रतियोगिताकै पहिलो ह्याट्रिक लिनबाट चुकिन्।
पोखरा पल्टनकी कप्तान सीता रानामगर पनि अनुराधाको प्रदर्शनबाट प्रभावित छिन्। उनी भन्छिन्, ‘हामी पाँच बलरमध्ये उसको प्रदर्शन एकदमै राम्रो भयो। उसले पहिले पनि यू–१९ खेलेर आएको हो। अझै म्याच एक्सोजर पाउने हो भने उसको पोटिन्सियल राम्रो देखिन्छ।’
आफ्नो प्रदर्शनले खुशी हुनुभन्दा पनि अनुराधा भने टोलीको हारले दुःखी देखिइन्। ‘चार विकेट लिए पनि त्यति खुशी लागेको छैन। फिल्डिङमा केही गल्तीहरु हुँदा रन धेरै गयो। रन च्याप्न सकेको भए खेल आफ्नो पक्षमा पार्न सक्थ्यौं किजस्तो लाग्छ,’ उनले भनिन्।

सिराहाको लाहानमा अनुराधाका अंकलका छोरा क्रिकेट खेल्थे। उनी पनि बिस्तारै अंकलकै छोरासँग क्रिकेट खेल्न थालिन्। सुरुमा गाउँकै दाइहरुसँग गल्लीमा क्रिकेट खेल्दै गर्दा उनमा यो खेलप्रति रस बस्यो। सन् २०११ मा पहिलोपटक उनले स्कुलस्तरीय प्रतियोगिता खेलेकी थिइन्। त्यहाँबाट जिल्ला क्षेत्र हुँदै उनले राष्ट्रिय प्रतियोगिता खेलिन्।
सन् २०१२ मा उनी यू–१९ टोलीमा पर्दै कुवेत यात्रामा समेत गइन्। त्यसपछि भने बन्द प्रशिक्षणमा परे पनि उनी टिममा अटाउन सकिनन्। ‘लाहानमा अभ्यास नै एकदम कम गर्न पाइन्छ। बेलुका ४–५ बजेतिर दुई चार जना केटीहरुमात्रै खेल्न आउछन्,’ उनले भनिन्, ‘यसपटक फ्रेन्चाइजी क्रिकेट खेल्न पाउँदा निकै उत्साहित छु। यस्तै प्रतियोगितामा राम्रो गर्न सकेँ आगामी दिनमा राष्ट्रिय टोलीसम्म पुग्ने आशा छ।’

प्रतिक्रिया