ad ad

खेल


ओलम्पिकमा नेपालले जितेको त्यो पदक !

विधान भन्छन् : नेपालले एक दिन पक्कै जित्नेछ
ओलम्पिकमा नेपालले जितेको त्यो पदक !

यज्ञराज जोशी
साउन ९, २०७८ शनिबार १६:५८,

विश्व खेलकुदको महाकुम्भ ओलम्पिकको नयाँ संस्करण जापानमा सुरु भएको छ। नेपालका पाँच खेलाडीले यो महाकुम्भमा प्रतिस्पर्धा गरिरहेका छन्। नेपालले ओलम्पिकका हरेक संस्करणमा भाग त लिन्छ तर उपाधि नजिक अझैसम्म पुग्न सकेको छैन। 

नेपालले अझैसम्म उपाधिको खडेरी तोड्न नसकेका बेला नेपालको सहभागिता औपचारिकतामै सीमित हुने गरेको छ। नेपालले ओलम्पिकमा पदक जित्दै नजितेको भने होइन। एक पटक नेपाली टोलीले जितेको पदकलाई आयोजकले गणना नै गरेन। गणना नभएको उक्त पदक नेपालले जितेको ३३ वर्ष बितिसकेको छ।  त्यसयता कुनै नेपाली खेलाडी ओलम्पिकको पदक नजिक पुग्न सकेका छैनन्। 

त्यो प्रतियोगिता

सन् १९८८ को ओलम्पिक दक्षिण कोरियाको सोलमा आयोजना गरिएको थियो। जहाँ तेक्वान्दोलाई पहिलो पटक प्रदर्शनी खेलका रुपमा समावेश गरियो। सन् २००० पछिमात्रै तेक्वान्दोले ओलम्पिकमा औपचारिक खेलको मान्यता पायो। 

तेक्वान्दोको विश्व च्याम्पियनसिप हरेक दुई वर्षमा हुन्छ। आठौँ विश्व च्याम्पियनसिप स्पेनको बार्सिलोनामा सन् १९८७ मा भएको थियो। ओलम्पिक आयोजकले उक्त च्याम्पियनसिपमा स्वर्ण, रजत र कास्य पदक विजेतालाई सिधै छनोट निर्णय लिएको थियो। च्याम्पियनसिपमा तीन देश खेलाडीलाई हराउँदै नेपालका विधान लामाले कास्य पदक जितेर सनसनी मच्चाएका थिए। 

आयोजकको नियमानुसार कास्य जितेसँगै तेक्वान्दोबाट विधानले ओलम्पिकमा नेपालको पनि सहभागिता पक्का गरे। ओलम्पिकका लागि नेपालमा पनि छनोट खेल भएको थियो। विश्व च्याम्पियनसिपमा कास्य जितेर चर्चा बटुलेका विधान छनोट नहुने कुरै थिएन। 

ओलम्पिकमा खेल्न जाने खबर सुन्दाको त्यो क्षण स्मरण गर्दा विधानको मुहारमा अहिले पनि उस्तै खुशी झल्कन्छ। ‘जुनसुकै खेलाडीको पनि ओलम्पिक खेल्ने ठूलो चाहना हुन्छ,’ हाल अमेरिकामा रहेका विधानले नेपालखबरसँगको कुराकानीमा भने, ‘त्यहाँ जान पाउँदा हर्षले भुइँमा खुट्टा थिएनन्। यो सुनौलो मौकामा उत्कृष्ट प्रदर्शन गरेर स्मरणीय बनाउने सोचिसकेको थिएँ।’ 

सोल ओलम्पिकमा नेपालबाट ६ खेलहरु एथलेटिक्स, बक्सिङ, सुटिङ, भारत्तोलनका, तेक्वान्दो र जुडोबाट १८ खेलाडी सहभागी थिए। 

सन् १९६४ को टोकियो ओलम्पिकदेखि यस वर्षको टोकियो ओलम्पिकसम्म आउँदा नेपालले १४ पटक विश्व खेलकुदको कुम्भ मेलामा भाग लिएको छ। ८५ भन्दा बढी खेलाडीले सहभागिता जनाइसक्दा नेपालका लागि विधानले सोल ओलम्पिकमा जितेको एकमात्रै त्यही कास्य पदक हो। यद्यपि प्रदर्शनी खेल भएकाले त्यो पदकले औपचारिक मान्यता भएन। 

नेपालबाट ओलम्पिकमा छनोट चरण पार गर्ने दुईमध्ये एक तेक्वान्दोका दीपक विष्ट प्रदर्शनी खेल भएर पदकमा गणना नभए पनि विधानले विश्वका एक से एक प्रतिस्पर्धीलाई ओलम्पिकमै हराएर उक्त पदक जितेको बताउँछन्। 

‘पदक तालिकामा नगनिए पनि ओलम्पिकमा लडेरै विधानले नेपालका जितेका हुन्,’ विष्टले भने, ‘उनी कति उत्कृष्ट, प्रतिभावान खेलाडी थिए भन्ने त्यसैबाट प्रमाणित हुन्छ। विधान नेपालले पाएका एक उत्कृष्ट खेल प्रतिभा हुन्।’
दीपकले भनेजस्तै ओलम्पिकसँगै विश्व तेक्वान्दो च्याम्पियनसिप, एसियन गेम्स र एसियन च्याम्पियनसिपमा नेपाललाई पदक दिलाउँदै विधानले उत्कृष्ट खेलाडीका रुपमा प्रमाणित गरेका छन्। 

ओलम्पिकको पदक

ओलम्पिकमा सहभागिता जनाउने भएपछि तयारीका लागि नेपालले कोरियाबाट त्यहाँका ग्राण्ड च्याम्पियनलाई ल्याएको थियो। जससँग विधानले दशरथ रंगशालामा दैनिक तीन सत्रमा कठोर अभ्यास र प्रशिक्षण लिए।
ओलम्पिक आउनु दुई महिनाअघि वैदेशिक प्रशिक्षणका लागि तेक्वान्दो संघले विधानलाई कोरिया पठायो। जहाँ उनले कोरियाको राष्ट्रिय टोलीसँगै अभ्यास गर्ने मौका पाए। त्यसले आफूलाई ओलम्पिकका लागि तयार पारेको विधान बताउँछन्। 

‘कोरियामा प्रशिक्षणका दिन निकै कष्टपूर्ण थिए। हातखुट्टा गलेर थिलथिलो हुन्थे। त्यही पनि ओलम्पिकमा उत्रिने उत्साहले जाँगर पलाउँथ्यो’, उनले भने, ‘कोरियाको त्यही दुःखले ओलम्पिकमा फाइट गर्न आत्मबल बढ्यो।’
तेक्वान्दो विश्व च्याम्पियनसिपमा पहिलो, दोस्रो र तेस्रो भएकासँगै विश्वका उत्कृष्ट खेलाडीलाई ओलम्पिकमा उतारिएको थियो। उनीहरुसँग प्रतिस्पर्धा गर्न विधान तयार थिए। 

उनको पहिलो भिडन्त इङ्ग्ल्यान्डका खेलाडीसँग पर्‍यो। जो ब्रिटिस आर्मीका च्याम्पियन पनि थिए। प्रतिस्पर्धात्मक भिडन्तमा विधानले विपक्षीलाई पाखा लगाए। त्यसपछि क्वार्टर फाइनलमा जर्मनीका खेलाडीलाई पनि पराजित गर्दै कास्य पदक नजिक पुगिसकेका थिए। सेमिफाइनलमा अमेरिकी खेलाडीसँग पराजित भए पनि विधानको कास्य पदक सुनिश्चित भइसकेको थियो।

जुन नेपालले ओलम्पिक इतिहासमा हात पारेको अहिलेसम्मको एकमात्रै पदक हो। त्यो सफलता सम्झिँदा अहिले पनि विधान पुलकित हुन्छन्।

‘पदक पाउँदा आफ्नो मिहिनेतले सपना पूरा भएको अनुभव हुन्छ,’ विधान भन्छन्, ‘अझै ओलम्पिकमा पदक जित्दाको अनुभव नै बेग्लै। राष्ट्रिय गानसँगै शक्तिशाली राष्ट्रभन्दा माथि नेपालको झण्डा फहराउँदाको क्षण सबैभन्दा गौरवपूर्ण थियो। त्यो मेरो जीवनकै अविस्मरणीय पनि थियो।’

पदक जितेर बाहिर निस्कँदा बेग्लै माहोल थियो। पत्रकारहरुले घेरेर अन्तर्वार्ता लिएका थिए। प्रायोजकहरूले आफ्नो सामान प्रयोग गरिदिन अफर गरिरहेका थिए। कतिपय फ्यान उनलाई अटोग्राफ मागिरहेका थिए। उपस्थित नेपालीहरु हुटिङमै व्यस्त थिए। यी सबै दृश्य अहिले पनि विधानका आँखामा नाचिरहेका छन्। 

किन आएन पदक?

विधानले उक्त पदक हात पारेको ३३ वर्ष भइसकेको छ। त्यसपछि कुनै नेपाली खेलाडीले ओलम्पिकको पदक ल्याउन सकेका छैनन्। पदक त परको कुरा संगीना वैद्य, दीपक विष्टबाहेक कुनै खेलाडीले छनोट चरण पार गरेर आफ्नै बलबुतामा ओलम्पिकमा पुग्न सकेका छैनन्। 

तर विधान भने नेपाली खेलाडीले पदक ल्याउनेमा आशावादी छन्। उनी त्यसबेला आफूले कोरियन राष्ट्रिय टोलीसँग प्रशिक्षणको मौका पाएर म्याच एक्सपोजर मिल्दा ओलम्पिकमा पदक सम्भव भएको बताउँछन्। 

‘मलाई जस्तै अवसर पाएपछि नेपालका प्रतिभावान खेलाडी कास्य मात्रै नभइ स्वर्णको पनि हकदार छन्,’ विधान भन्छन्, ‘खेलाडीले स्वर्ण जित्छु भनेर नै कडा मिहिनेतसहित तयारी गर्नुपर्छ। स्वर्ण नै जित्छु भनेर खेलेमा दोस्रो, तेस्रो त पक्कै भइन्छ। सकारात्मक कोणबाट हरेक कुरा सोच्नुपर्छ। जिन्दगीमा जे पनि सम्भव छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .