ad ad

खेल


अन्तिम समयमा ओलम्पिकमा जान नपाउँदाको पीडामा गोपी

अन्तिम समयमा ओलम्पिकमा जान नपाउँदाको पीडामा गोपी

गोपीचन्द्र पार्की


लक्ष्मी जि.सी
असार १८, २०७८ शुक्रबार १७:४४,

टोकीयो ओलम्पिक २०२० का लागि लागि करिब डेढ वर्षदेखि प्रशिक्षणरत गोपीचन्द्र पार्कीको नाम अन्तिम समयमा काटिएको छ। 

गत वर्ष नेपालगञ्जमा भएको धारा नेपालगञ्ज म्याराथनलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ओलम्पिक छनोटका लागि स्वीकृति प्रदान गरेको थियो। 

नेपालगञ्ज म्याराथनलाई अन्तिम छनोट प्रतियोगिता रहेको जनाएको थियो। जसमा गोपीचन्द्र पार्की पहिलो बन्दै ओलम्पिकका लागि छनोट भएका थिए। 

तर केही दिन अघिदेखि पार्की टोकियो ओलम्पिकामा जान नपाउने खबरहरु आएका थिए। यसबारेमा एनओसी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल एथलेटिक्स संघले बिहीबार संयुक्त विज्ञप्ती जारी गर्दै प्रष्ट पारेको छ।
म्याराथनमा कोटाभन्दा धेरै आवेदन परेका कारण नेपाललाई म्याराथनको ठाउँमा एथलेटिक्सको महिला १ सय मिटर दौडमा कोटा छुट्टाएकाले पार्कीले ओलम्पिक खेल्न नपाउने विज्ञप्तिमा जनाइएको छ।

यसअघि युनिभर्सालिटी कोटामा पौडीकी गौरिका र एलेक्स शाह तथा एथलेटिक्सबाट गोपीको नाम रहेको एनओसीले बताउँदै आएको थियो। सुटिङकी कल्पना परियार र जुडोकी सोनीया भट्टले भने वाइल्ड कार्ड पाएका थिए। 

ओलम्पिक खेल्न नपाउने सुनेपछि गोपी केही सोच्ने अवस्थामा नै नपुगेको बताए। नेपालखबरसँगको कुराकानीमा उनले भने, 'जतिबेला सुने त्यो सुनेपछि ४८ घण्टा त केही सोच्नै सकिन। खान पनि सकिन। यस्तो बेलामा खान्छु भन्दा पनि नसकिने रहेछ।' 

'म ओलम्पिकको लागि छनोट भएँ भनेर पहिला नै जानकारी आएको थियो। सबै जना तयारीका लागि होटलमा जान लागेका छन्। ओलम्पिक भनेको धेरै खेलाडीको सपना बाहिरको कुरा हो। मेरो एउटा सपना थियो', उनले भने। 

ओलम्पिक कमिटीबाट नाम नगएको कारण नै खेल्न नपाएको उनको गुनासो छ। यसमा केही टेक्निकल मिस्टेक भएको र गल्ती गर्नेले गल्ती नस्वीकारेको उनको भनाई छ।

यता नेपाल राष्ट्रिय तथा अन्तरर्ष्ट्रिय खेलाडी संघ र नेपाल लोकतान्त्रिक खेलकुद संघले विज्ञप्ती जारी गर्दै गोपीमाथि अन्याय र अपमान भएको बताएको छ। 

खेलाडी संघले एनओसीकै मान्यतामा गत वर्ष मंसिरमा आयोजना भएको नेपालगन्ज म्याराथनलाई टोकियो ओलम्पिकको आन्तरिक छनोटको मान्यता दिएको स्मरण गराएको छ।

शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै उसले भनेको छ, ‘अहिले ओलम्पिक सुरु हुन ३ साता भन्दा कम समय बाँकी रहँदा बिहीबार मात्रै एनओसी, राखेप र नेपाल एथलेटिक्स संघका जिम्मेवार पदाधिकारीले संयुक्त विज्ञप्ती जारी गर्दै गोपीचन्द्र पार्कीले सहभागी हुन नपाउने जानकारी गराउँदा एउटा खेलाडी कस्तो अवस्थाबाट गुज्रिनु भएको होला भन्ने हामी खेलाडीहरुले महसुस गर्न सक्छौं। कुनै व्यक्ति वा सम्बन्धित निकायको कमजारीका कारण पार्कीको सहभागिता हुन नसकेको हो भने त्यस्तामाथि कारवाही हुन जरुरी छ। यसको सत्यतथ्य छानविन गरि सार्वजनिक गर्न संघ जोडदार माग गर्दछ।' 

नेपाल लोकतान्त्रिक खेलाडी संघले ओलम्पिक सुरु हुनुभन्दा २० दिन अगाडिमात्र कोटा परिर्वतन भएको जानकारी पठाएको भन्ने व्यहोराको पत्रका तीन पक्षले हस्ताक्षरसहितको विज्ञप्तीमा दिईएको स्पष्टिकरणले यस विषयलाई अझै शंकास्पद र गैह्र जिम्मेवार कार्यभएको पुष्टि गरेको बताएको छ।

छनोट नभएर जान नपाउने भन्ने अलग कुरा भएको बताउँदै गोपीले छनोट भएर पनि जान नपाउनु भनेको एकदमै दुखद भएको बताए। 

'कसैको कारणले जिन्दगीमा यति ठूलो धोका पाउनु निकै दुखद घटना हो। तर पनि यो अन्तिम हैन अझै राम्रो गर्नेछु। यो विषयमा मिडिया पनि चुप लागेका छन्। खेलाडीलाई यस्तो भयो अब के त भन्नेमा कसैले चासो दिएको जस्तो लाग्दैन', गोपीले भने।
 
ओलम्पिकको तयारीका लागि गोपीले सुरुदेखि नै मेहनत गरेका थिए। कोरोना महामारीको बिचमा पनि प्रशिक्षण नरोकेका गोपीको त्यो मेहनत त खेर गयो नै शारिरिक, मानसिक र आर्थिक रुपमा पनि धेरै लगानी गरेका छन्। 

'यो टाइमिङलाई यस्तै राख्न प्रशिक्षणलाई निरन्तरता दिइरहनु पर्छ। यो एक दुई दिनको मेहनतले हुने कुरा हैन', उनले भने।

यता ओलम्पिक कमिटीले भने गोपीको नाम गत वर्ष नै पठाए पनि कोटा पुरा भएका कारण उनले खेल्न नपाएको बताएको छ। 

'उताबाट नै कोटा फुल भैसक्यो भनेर भनेर पत्र आएको छ। ओलम्पिकमा १ सय १० जना खेलाडीको नाम गएको छ। त्यसमा १ सय ५ जना खेलाडी क्वालिफाइड भएर नै गएका छन्',  ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्यले भने, 'त्यसैले उताबाट नै महिला एथलेटिक्समा १ सय मिटरमा खेलाडीको नाम देउ भनेकाले सरस्वतीले खेल्ने पक्का भएको हो।' 

छात्रवृत्तिमा बसेका कति खेलाडी पनि जान नपाएको उनले बताए। त्यसमा नेपाल ओलम्पिक कमिटीले केही गर्न नसक्ने उनको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .