समाज


कञ्चनपुरकी १८ वर्षीया सम्झना भट्ट मृत्यु प्रकरण: मुख्य आरोपी युवती पक्राउ

पुजा भट्टले सम्झनाको हत्याका लागि भाईलाई उकासेको अडियो सार्वजनिक
कञ्चनपुरकी १८ वर्षीया सम्झना भट्ट मृत्यु प्रकरण: मुख्य आरोपी युवती पक्राउ

मृतक १८ वर्षीया सम्झना भट्ट


नेपालखबर
साउन २५, २०८२ आइतबार ११:३०, काठमाडौँ

कञ्चनपुरकै बेलडाँडी गाउँपालिका–२ सिहपालकी १८ वर्षीया सम्झना भट्टको मृत्यु प्रकरण अनुसन्धानका क्रममा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। 

गएको आइतबार साँझ झुन्डिएको अवस्थामा उनको शव घरमै फेला परेको थियो। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सम्झना भट्ट मृत्यु प्रकरणको अनुसन्धानका लागि कैलालीको धनगढी विमानस्थलबाट बेलडाँडीकी पूजा भट्ट पक्राउ परेकी हुन्। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहोराका अनुसार सम्झनाका माइती पक्षले दिएको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो। 

यसअघि मृतक युवतीका श्रीमान् पवन भट्ट, ससुरा हरिदत्त भट्ट, सासू किरण भट्टलाई प्रहरीले पक्राउ गरेको थियो। 

‘उनीहरूलाई कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप गरेर घटनाबारे थप अनुसन्धान भइरहेको छ,’ डीएसपी बोहोराले भने, ‘पछिल्लोपटक पक्राउ परेकी पूजा पवनकी दिदी हुन्। उनलाई पीडित पक्षले मुख्य आरोपीकाे रूपमा किटानी जाहेरी दिएकी छन्।’

मृतक युवतीका माइती पक्षले प्रहरीसमक्ष बुझाएको एउटा अडियोमा सम्झनाको हत्या गर्न पूजाले भाइ पवनलाई आदेश दिएको पाइएको प्रहरीले जनाएको छ। अडियोमा ‘सम्झनालाई मारे पनि पाँच वर्ष त सजाय हुने हो, भाइ मार्दे’ भन्ने शब्द प्रयोग गरिएको छ। 

प्रनाउ बोहोराले उक्त अडियोको विषयमा पनि छानबिन भइरहेको बताए। शुक्रबार पवनकी दिदी पूजालाई पनि नियन्त्रणमा लिएर आत्महत्या गर्न दुरुत्साहन दिन नहुने शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको डीएसपी बोहोराले जानकारी दिए।

घटनाको अनुसन्धान गरी दोषीउपर कारबाहीको माग गर्दै मृतकका माइती पक्षले शव उठाउन मानेका थिएनन्। मृतकको शव महाकाली प्रादेशिक अस्पतालमा राखिएको थियो।

घटनामा संलग्न रहेको आरोपमा मृतकका माइती पक्षले चार जनामाथि किटानी जाहेरी दिएका छन्। 

प्रहरीका अनुसार माइती पक्षले घटनाको मुख्य योजनाकार पूजा रहेको आरोप लगाउँदै आएका छन्।  पूजालाई पक्राउ नगरुन्जेल शव नउठाउने अडानमा माइती पक्ष थिए। शुक्रबार पूजा पक्राउ परेपछि सम्झनाका माइती पक्षले शवको दाहसंस्कार गरेका छन्।

साउन १८ गते बिहान बेलडाँडी गाउँपालिका–२ स्थित सिंह पालटोलमा घरभित्र झुन्डिएको अवस्थामा सम्झना मृत फेला परेकी थिइन्। 

प्रहरीले कोठाको ढोका तोडेर शव बाहिर निकालेको थियो। विगत लामो समयदेखि प्रेम सम्बन्धमा रहेका सम्झना र पवनले गएको फागुनमा विवाह गरेका थिए। 

सम्झनाका माइती पक्षले श्रीमान् र परिवारका सदस्यले छोरीमाथि दाइजोको निहुँमा शारीरिक र मानसिक  यातना दिँदै आएका दाबी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad