२८ वर्षीय व्यवसायी हरिसिंह पालीको कारागारमा शंकास्पद मृत्यु भएपछि आफन्तहरू कारागार प्रशासनविरुद्ध विरोधमा उधिएका छन्।
बैंकिङ्ग कसुरमा पक्राउ परेका पालीको मृत्यु प्रहरीको कुटपिटटका कारण भएको आरोप लगाएर आफन्त र स्थानीयले डडेल्धुरा सदरमुकाममा बजार र यातायात अवरुद्ध पार्दै प्रदर्शन गरेका हुन्।
पालीलाई गत फागुन २९ गते कैलाली जिल्ला अदालतले १० दिन कैद र दुई लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो।
सोही सजाय कार्यान्वयनका लागि उनलाई डडेल्धुराको अमरगढी नगरपालिका–५ स्थित तुफानडाँडाबाट पक्राउ गरी कैलाली लगिएको थियो। पक्राउपछिको दुई दिनभित्रै, असार २ गते सेती प्रादेशिक अस्पतालमा उनको मृत्यु भएको हो।
मृतकका आफन्तले नियोजित रूपमा प्रहरीले यातना दिएको आरोप लगाएका छन्। घटनाको सत्य, तथ्य छानबिन गरेर दोषीलाई कारबाही हुनु पर्ने उनका आफन्तले माग गरेका छन्।
कैलाली प्रहरी भने पालीको मृत्यु स्वास्थ्य समस्याले गर्दा भएको दाबी गर्दै आएको छ। सोमबार अचानक बिरामी भएपछि सेती प्रादेशिक अस्पताल लगिएकोमा पुगेको आधा घन्टामै चिकित्सकले उनको मृत्युको घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनाबारे डडेल्धुरा उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघलगायत संस्थाहरूले प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालयलाई ध्यानाकर्षण पत्र पनि बुझाएका छन्।
‘पालीलाई चार दिनसम्म गैरकानुनी रूपमा प्रहरी नियन्त्रणमा राखी मानसिक र शारीरिक यातना दिइयो, यसैका कारण मृत्यु भएको देखिन्छ,’ ध्यानाकर्षण पत्रमा लेखिएको छ।
पीडित परिवारले दोषीमाथि कारबाही नभएसम्म शव नबुझ्ने अडान लिएका छन्।
Shares

प्रतिक्रिया