बाजुराको गौमुल गाउँपालिकाले फलाम खानीको सम्भाव्यता अध्ययनका लागि संघ सरकार गुहारेको छ। पालिका अध्यक्ष हरि बहादुर रोकायाले काठमाडौँ गएर फलाम खानीको सम्भाव्यता अध्ययनका लागि संघ सरकार गुहारेका हुन्।
पालिकाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई फलाम खानीको सम्भाव्यता अध्ययनका लागि प्राविधिक टोली खटाइनुका साथै बजेटको व्यवस्था गरिदिन माग गर्दै पत्र लेखेको छ।
गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाका अनुसार उद्योग वाण्ज्यि तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले फलाम खानीको सम्भाव्यता अध्ययनका लागि तत्काल प्राविधिक टोली खटाइने प्रतिवद्धता जनाएको बताए।
गौमुल गाउँपालिकाको विभिन्न ठाउँमा परापूर्वकालमा पुर्खाले उत्खनन् गरेर बनाएका फलामका औजार तथा भाँडाकुँडा हालसम्म पनि प्रयोगमा रहेको रोकाया दाबी गर्छन्।
प्राविधिक टोलीले फलाम खानीको सम्भाव्यता अध्ययन गरेर सोको एकिन गर्नु पर्ने उनले बताए। यसअघि गौमुल गाउँपालिकाले फलाम खानीको सम्भाव्यता अध्ययनका लागि ५ लाख बजेट विनियोजन गरेको थियो।
तर प्राविधिक टोली नपाएर बजेट त्यसै थन्किएको थियो। स्थानीय तहले फलाम खानीका लागि भूगर्भ विज्ञ र बजेटको प्रयाप्तता नपाएपछि संघ सरकार गुहारेको रोकायले बताए।
Shares

प्रतिक्रिया