ad ad

समाज


मातेका युवकले ढुंगाले हानेर पूर्वशिक्षकको हत्या गरे, कुकुर प्रयोग गरेर समातियो

मातेका युवकले ढुंगाले हानेर पूर्वशिक्षकको हत्या गरे, कुकुर प्रयोग गरेर समातियो

नेपालखबर
जेठ ३, २०८१ बिहिबार १०:४९, कञ्चनपुर

कञ्चनपुरमा ढुंगा प्रहार गरेर पूर्व शिक्षकको हत्या भएको छ। ढुंगा प्रहार गरेर बेलौरी नगरपालिका-६ का ६४ वर्षीय लक्षी चन्दको हत्या भएको हो। 

बुधबार राति घरनजिकै सामान्य विवादमा चन्दमाथि ढुंगा प्रहार भएको थियो। घाइते चन्दकाे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीकाअनुसार घटनामा संलग्न बैतडीको दोगडाकेदार गाउँपालिका–४ का ३५ वर्षीय महेश भण्डारी पक्राउ परेका छन्। उनी केहीदिन अघि मात्रै बेलौरी नगरपालिका–६ स्थित आफन्तकोमा आएका थिए।

रक्सीले मातेका भण्डारीले सामान्य विवादमा चन्दमाथि ढुंगा प्रहार गरेकाे खुलेको छ। 

‘त्यस्तो ठूलो विवाद केही देखिएको छैन। मादक पदार्थ सेवन गरेर हिँडेका बेला विवाद हुँदा घटना भएको देखिन्छ,’ डीएसपी जोशीले भने, ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।’

भण्डारीको आक्रमणबाट चन्दको टाउकोमा गम्भीर चोट लागेको थियो। श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि धनगढीस्थित निसर्ग अस्पतालमा लगिएको थियो। त्यहाँ उपचारका क्रममा चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि भण्डारी भागेका थिए। बाक्लो संख्यामा प्रहरी र तालिम प्राप्त कुकुरको सहायताले बिहीबार बिहान ४ बजे उनलाई गाउँबाटै नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ। 

मृतक चन्द सेवा निवृत्त शिक्षक हुन। उनले लामाे सयम बेलौरीको महाकाली माध्यमिक विद्यालयमा अध्यापन गराएका थिए। उनकाे शव पोष्टमार्टमको लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .