ad ad

समाज


अदालतमा मुद्दाको पेसी चढ्दा मूलपानीमा क्रिकेट कुर्दै सन्दीप

अदालतमा मुद्दाको पेसी चढ्दा मूलपानीमा क्रिकेट कुर्दै सन्दीप

मूलपानी क्रिकेट मैदानमा सन्दीप लामिछाने। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
बैशाख ११, २०८० सोमबार १३:१, काठमाडौँ

जिल्ला अदालत काठमाडौंमा मुद्दाले सुनुवाइको पालो कुरिरहँदा प्रतिवादी सन्दीप लामिछाने भने बिहानै मूलपानी क्रिकेट मैदानमा पुगेका थिए। 

बिहान ९ बजेबाटै सुरु हुनु पर्ने साउदी अरेबियाविरुद्धको एसीसी प्रिमियर कपको खेलको प्रतीक्षामा पूर्वकप्तान लामिछानेसहितको टिम मूलपानी पुगेको थियो। 

मैदानमा वर्षात भइरहँदा नेपाली क्रिकेटरहरु भने मैदानबाहिरका दर्शकसँग सेल्फी खिचिरहेका थिए। सन्दीप बेला बेला घडी हेर्थे। अनुहार उज्यालो थिएन। 

तर मध्यान्ह साढे १२ बजेतिर वर्षातका कारण खेल रद्द भयो। मैदानमा पुगेर पनि उनीहरु नखेलि फर्किनु पर्यो। 

मूलपानीमा मौसमले साथ दिएन। यससँगै अरुको त प्रतीक्षा सकियो। तर सन्दीप भने अब अर्को प्रतीक्षामा हुनेछन्। 

अदालतमा पनि मूलपानीमा जस्तै अनिश्चितता छ। यसअघि सर्दै आएको मुद्दाको सुनुवाइ जिल्ला अदालत काठमाडौंमा आजै टुंगो लाग्ने निश्चित छैन।

सन्दीपविरुद्धको मुद्दा अन्तिम सुनुवाइका लागि पेशी चढेको छ। चौथो नम्बरमा रहेको मुद्दा हेर्न भ्याइने नभ्याइने निश्चित भने छैन। 

सुनुवाइको सम्भावना बढेको छ। सन्दीपको भन्दा अगाडि रहेका दुई मुद्दाको आदेश आइसकेको छ। न्यायाधीश दीपक ढकालको इजलासमा रहेको यो मुद्दा हेर्न नभ्याइए मात्रै नभए आजै सुनुवाइ सुरु हुनेछ। 

सुनुवाइ भएर आजै फैसला आए र दोषि ठहर भए सन्दीप क्रिकेट मैदानबाट घर फर्किन पाउने छैनन्। जेल फर्किनु पर्ने हुनसक्छ। 

यसअघि नै तीन महिनाबढी जेल बसेर छुटेका हुन् सन्दीप। गत भदौमा उनीविरुद्ध एक किशोरीले जबरजस्ती करणीको उजुरी गरेकी थिइन्।

असोज २० गते सन्दीपलाई थुनामा राखेर प्रहरीले अनुसन्धान सुरु गर्यो। कात्तिक २९ गते उनलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। 

तर झण्डै तीन महिना कारागारमा बसेपछि उच्च अदालतबाट उनको पक्षमा आदेश आयो र थुनामुक्त भएका थिए। थुनामुक्त भएपछि सन्दीपले नेपालका लागि १३ खेल खेलिसके। यहिबीचमा राखे विश्व किर्तिमान पनि। 

सन्दीपले सबैभन्दा कम खेलमा सय विकेट लिने विश्व किर्तिमान बनाएका हुन्। यसअघि ओमानको ३ विकेट लिएसँगै सन्दीपले ४२ खेलमा १०२ विकेट लिए।

तर यसपछिको क्रिकेटमा सन्दीप मैदानमा हुने छन् वा छैनन् अब अदालतले फैसला गर्नेछ।

तस्बिरहरु : सरोज नेपाल/नेपालखबर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .