ad ad

समाज


रिपोर्ट नआउँदै हल्लाकै भरमा घर पठाइएका थिए सप्तरीका संक्रमित

रिपोर्ट नआउँदै हल्लाकै भरमा घर पठाइएका थिए सप्तरीका संक्रमित

यज्ञराज जोशी
बैशाख २९, २०७७ सोमबार १३:८,

सप्तरीमा सोमबार भेटिएका कोरोना संक्रमित युवालाई परीक्षणको रिपोर्ट नआउँदै घर पठाइएको खुलेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिउँसो एक विज्ञप्ति जारी गर्दै सप्तरी डाक्नेश्वरी नगरपालिका वडानम्बर ३ का १८ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो।

चितवनको सौराहामा मजदुरी काम गर्न गएका ती युवासहित १३ जनाको टोली गाउँ पुगेपछि बैशाख १० देखि स्थानीय जनता माविको क्वारेन्टिनमा राखिएको थियो।

क्वारेन्टिन व्यवस्थापनमा खटिएका हिरा लालका अनुसार एउटा कोठामा चार जनाका दरले राखिएको थियो। १४ दिन पुगेपछि एक कोठाबाट २ जनालाई पीसीआर परीक्षण गरियो भने बाँकीको द्रूत विधि (र्‍यापिड टेस्ट) बाट परीक्षण गरिएको थियो।

त्यसो गर्दा १३ जना समुहका उनीहरुको ६ जनाको र्‍यापिड टेस्टमा कोरोना देखिएको थिएन। बाँकी ७ मध्ये एउटा कोठाबाट दुई जनाको परीक्षण गर्दा ५ जनाको पीसीआर परीक्षण गरियो।

संक्रमित युवाको कोठाबाट उनीसँगै मुन्ना खानको पीसीआर परीक्षण गरिएको हिरा लालले नेपालखबरलाई जानकारी दिए। सोमबार संक्रमण पुष्टि भएका युवाबाहेक अरु सबैको रिपोर्टमा कोरोना संक्रमण देखिएन।

हल्लाका भरमा छाडिएका थिए युवक
क्वारेन्टिनमा रहेकाहरुको रिपोर्ट सोमबारमात्रै आएपनि संक्रमित युवालाई भने आइतबार साँझ नै छोडिएको थियो। संक्रमित ती युवालाई हल्लाकै भरमा रिपोर्ट नेगेटिभ आएको भनेर छोडिएपछि उनले एक रात घरमा बिताएका थिए।

क्वारेन्टिन व्यवस्थापक हिरा लालले आफूहरुले जिल्ला स्वास्थ्य कार्यालयमा फोन गरेको र मौखिम आदेशका आधारमा छाडिएको बताए।

स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले आफूले फोनमा रिपोर्ट नेगेटिभ आएको हल्लामात्रै सुनेको भनि जानकारी दिएको बताए।

‘४ सय भन्दामाथिको जाँच गर्दा पोजिटिभ आएको थिएन्,’ यादवले नेपालखबरसँग भने, ‘त्यसैले सबैलाई नेगेटिभ छ, नेगेटिभ छ भन्ने हल्ला चल्यो। मैले पनि ‘नेगेटिभ छ भनेको हल्ला सुनेको’ बताएको थिए।’

उनले ल्याबबाट अगाडि नै रिपोर्ट चुहिएका कारणले रिपोर्ट नेगेटिभको हल्ला चलेको र त्यसैका आधारमा छाडिएको बताए।

संक्रमितलाई सोमबार गजेन्द्र नारायणसिंह सगरमाथा अञ्चल अस्पतालमा लगिएको थियो। उनीसँगै रात बिताएका परिवारका हजुरबुबा, हजुरआमा र आमालाई अहिले क्वारेन्टिनमा राखिएको छ।

कसरी सर्यो?
फागुन पहिलो साता उक्त १३ जनाको टोली चितवनमा नहरको काम गर्न पुगेको थियो। उक्त समुहका ठेकेदार थिए, हनुमान मुखिया।

सरकारले चैत्र ११ मा लकडाउन घोषणा गरेपछि काम पनि रोकियो। गाडीपनि बन्द भए। एक ठाउँबाट अर्को ठाउँमा जान पनि रोक लगाइयो। तर, खाद्यान्न लगायतको अभाव हुन थालेपछि उनीहरुले आफ्नो गाउको वडाध्यक्ष प्रदीपकुमार साहलाई फोन गरे।

साहले गाउँ आए क्वारेन्टिनमा बस्नुपर्ने बताएपछि बैशाख ८ गते चितवनबाट हिडेको उक्त टोली १० गते सप्तरीको क्वारेन्टिनमा पुगेको थियो। बैशाख २३ गते १४ दिनको क्वारेन्टिन बसाई पुरा गरेका हनुमान मुखियासँगै ६ जनाको र्‍यापिड टेस्ट गरियो।

लगत्तै आएको रिपोर्टमा उनीहरुमा कोरोना संक्रमण नेगेटिभ देखिएपछि क्वारेन्टिनबाट छाडिएको थियो। तर, बाँकी ७ जनामध्ये कुनै बिधिबिना (र्‍यान्डम्ली) छानिएका ५ जनाको पीसीआर परीक्षण गरिएको र उनीहरुको रिपोर्ट नआएकाले आइतबारसम्म छाडिएको थिएन।

आइतबार साँझ एक्कासी सबैको रिपोर्ट नेगेटिभ आएको हल्ला फैल्याएपछि सबैलाई छाडिएको थियो। तर, सोमबार आएको आधिकारिक रिपोर्टमा भने एकजनालाई पोजिटिभ आएपछि घरबाट ल्याएर अस्पताल पठाइएको छ।

‘बाटोमा हामीहरु सरासर कसैलाई नभेटेर आएका थियौं। अरुलाई पनि देखिएको छैन। बीचमा क्वारेन्टिनमा भारतबाट आएका मान्छेहरुसहित अन्यलाई राखिएको थियो। उनीहरुबाट सर्यो कि,’ हनुमान मुखियाले अनुमान लगाए।

सप्तरीका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको थियो। तर, सोमबार साँझ थप १३ जनामा कोरोना पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या १३४ पुगेको छ।

संक्रमितमध्ये २८ जना निको भइसकेका छन्। निको भएका ३ जनामा पुनः संक्रमण भेटिएपछि अस्पताल भर्ना गरि उपचाररत् छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .