ad ad

समाज


खच्चड फसेको कर्णालीको झोलुंगे पुल: २३ वर्षअघि कसले बनायो, स्थानीय प्रशासन नै अनभिज्ञ!

खच्चड फसेको कर्णालीको झोलुंगे पुल: २३ वर्षअघि कसले बनायो, स्थानीय प्रशासन नै अनभिज्ञ!

दिनेश बुढा
जेठ ३०, २०८१ बुधबार १३:४६, सुर्खेत

गएको आइतबार बिहान अछामबाट दैलेखतर्फ आउँदै गरेका १३ वटा खच्चड कर्णाली नदीमाथिको झोलुंगे पुलमा अड्किए। दैनिक उपभोग्य सामान ढुवानीका लागि दैलेख आउँदै गरेका खच्चड झोलुंगे पुलको लठ्ठा चुडिँदा त्यहीँ फसेका थिए। 

त्यसपछि स्थानीय नागरिक तथा अछाम र दैलेखबाट खटिएका तीनै तहका सुरक्षाकर्मीको सहयोगमा पुलमा फसेका खच्चडको उद्धार गरिएको थियो। 

अछामको पञ्चदेवल विनायक नगरपालिका र दैलेखको आठबीस नगरपालिका ४ को खिड्कीज्यूलास्थित झोलुंगे पुलमा खच्चड फसेपछि अहिले नागरिकलाई त्यो पुलबाट आवजजावत बन्द गरिएको छ।

पुलमा फसेका १३ मध्ये ११ वटा खच्चडको त्यतिबेलै उद्धार भएको थियो भने २ वटा खच्चडको उद्धारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

पुलमा खच्चडहरु फसेपछि पुल निर्माण गर्ने निकायको खोजी गर्न थालिएको छ। जिल्ला प्रशासन कार्यालय दैलेखले अहिलेसम्म सो पुल २०५८ सालमा बनेको भन्ने मात्रै पत्ता लगाएको छ।
  

तर, प्रशानले उक्त पुल कुन संस्थाले बनाएको भन्ने बारेमा खोजी भइरहेको जनाएको छ। 

जिल्ला प्रशासन कार्यालय दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले पुलको लठ्ठा चुँडिएको समस्याको तत्कालीन निकास भनेको मर्मत नै भएको बताए। ‘सोही अनुसार काम अगाडि बढाइरहेका छौँ,’ उनले भने।

झोलुंगे पुल निर्माण सम्बन्धी काम गर्ने नाम नखुलेको एक संस्थाले २०५८ सालमा उक्त पुलको निर्माण गरेको उनले बताए। 

‘हामीले पुल बनाउने संस्थालाई सम्पर्कमा ल्याउन खोज्दा संस्थाका मान्छेहरु सम्पर्कमा अझै पनि आउनु भएको छैन्। हामीले पुल बनाउने संस्थाको नाम पत्ता लगाउने प्रयास गरिरहेका छौँ,’ कोइरालाले भने। 

यस्तै, जिल्ला प्रशासन कार्यालय अछाम र दैलेखको समन्वयमा पुलमा आवतजावत बन्द गरिएको छ। 

यसबाट पुल तरेर अध्ययनका लागि अछाम र दैलेखका विद्यालयमा आवतजावत गर्ने विद्यार्थीले पढ्न पाएका छैनन्। दुवै जिल्ला प्रशासन कार्यालयले पुल मर्मतका लागि गृह मन्त्रालयमा पत्रचार गरिसकेका छन्। 

यस्तै, विद्यार्थीहरुको पढाईमा बाधा नहोस् र स्थानीय नागरिकलाई कुनै समस्या आउन नदिन दुवै जिल्ला प्रशासन कार्यालयले आफ्नो तर्फबाट सम्पूर्ण प्रक्रिया अगाडि बढाएको जनाएका छन्।

यसैबीच स्थानीय प्रशासनले आजदेखि कर्णाली नदीमा बनेका दैलेख र अछाम जोड्ने झोलुंगे पुलहरुको अवस्था के छ भन्ने विषयमा जानकारी लिन थालेका दैलेखका निमित्त प्रजिअ कोइरालाले जानकारी दिए। 

पुल मर्मतका लागि दैलेखबाट प्रतिनिधित्व गर्ने पदेश तथा संघीय सांसद, कर्णाली प्रदेश सरकार, सुदूरपश्चिम प्रदेश सरकार र गृह मन्त्रालयलाई जानकारी गराइसकेको उनले बताए। 

उनले भने, ‘पहिला उक्त पुललाई प्राविधिकहरुले हल्लाउँदा केही लोड धान्न सक्ने देखिएको थियो,’ स्थानीयको भनाई उद्धृत गर्दै कोइरालाले भने, ‘त्यो पुल हुँदै भारी बोकेका खच्चडहरु हिडाँउन मिल्ने निष्कर्षको आधारमा उक्त पुल सञ्चालमा रहेको हामीले पाएका छौ।’

उनले अब पुलको प्रविधिक निरीक्षण र मर्मतपछि मात्रै खच्चडलाई हिँडाउन दिने कि नदिने भन्ने टुंगो लाग्छ। ‘त्यो सुनिश्चिता गरेपछि मात्रै पुल सञ्चालनमा ल्याउने तयारी भइरहेको छ,’ उनले भने। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .