ad ad

समाज


सरकारी विद्यालयबाट एसईईमा ४ जीपीए ल्याउने कैलालीकी निकिता, अतिरिक्त क्रियाकलापमा पनि अब्बल

ट्युसन पढिनन्, पाठ्यपुस्तकमा मात्र भर गरिनन्
सरकारी विद्यालयबाट एसईईमा ४ जीपीए ल्याउने कैलालीकी निकिता, अतिरिक्त क्रियाकलापमा पनि अब्बल

गोकुल जोशी
असार १३, २०८१ बिहिबार २०:५७, कञ्चनपुर

कैलालीको गोदावरी नगरपालिका–४ बसन्तपुरकी १५ वर्षीया निकिता अवस्थी बिहीबार बिहानैदेखि समाचार हेर्दै थिइन्। एसईई परीक्षा दिएर बसेकी उनी नतिजाको पर्खाइमा थिइन्। नतिजा सार्वजनिक हुने सूचनाले नतिजा हेर्न आतुर थिइन्।

उनले सबै विषयको परीक्षा तयारीअनुसार राम्रै गरेकी थिइन्। तथापि उनको मनमा उल्लाससँगै नतिजा कस्तो पो आउँछ भन्ने चिन्ता पनि खेलिरहेको थियो। 

एसईई नतिजा सार्वजनिक भएपछि उनले हेर्न खोजिन्। तर तत्काल अनलाइनमा नराखिएकाले त्यतिबेलै सम्भव भएन। नतिजाका लागि तारन्तार प्रयासमा रहेकी निकिता दिउँसो १२ बजे मात्र सफल भइन्। 

त्यसपछि उनको मनको संकोच मात्रै हटेन। वर्षभरि गरेको कडा मिहिनेत स्पष्ट देखिने गरेर उत्कृष्ट नतिजा हासिल गरिन्। गोदावरी नगरपालिका–२, अत्तरियास्थित दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालयबाट एसईई परीक्षामा सम्मिलित निकिता ४ जीपीए प्राप्त गरेर अहिले चर्चामा छिन्। 

उनलाई साथीभाइ, आफन्त, शिक्षकलगायतबाट बधाई थाप्न भ्याई–नभ्याई छ। सरकारी विद्यालयमा पढाइ हुँदैन र विद्यार्थी कमजोर हुन्छन् भन्ने मान्यतालाई खण्डित गर्दै निरन्तरको कडा मिहिनेतले असम्भव केही हुँदैन भन्ने उदाहरण निकिताले पेस गरेकी छन्।

कैलालीका ४ जनाले ल्याए ४ जीपीए 
यसपटकको एसईई परीक्षामा सुदूरपश्चिम प्रदेशमा ४ जीपीए ल्याउने विद्यार्थी थोरै छन्। सरकारी विद्यालयबाट ४ जीपीए ल्याउने निकिता सुदूरपश्चिमकी एक्ली विद्यार्थी हुन्।

शिक्षा विकास निर्देशनालय, दीपायलका सूचना अधिकारी कृष्णबहादुर बोहराका अनुसार सुदूरपश्चिमको कैलालीबाट ४ विद्यार्थीले ४ जीपीए ल्याएका छन्। 

‘हामी विवरण संकलन गरिहेका छौँ। बझाङबाहेक अन्य ८ जिल्लाको प्राप्त विवरण अनुसार कैलालीका ४ जनाले ४ जीपीए ल्याएका छन्,’ उनले भने।

शिक्षा विकास तथा समन्वय एकाइ, कैलालीका शाखा अधिकृत प्रतापसिंह धामीका अनुसार दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालयकी छात्रा निकितासँगै टीकापुरको वीरेन्द्र विद्या मन्दिरका हेमन्तबहादुर साउँदले पनि ४ जीपीए ल्याएका छन्। 

यस्तै, अत्तरियाकै सैनिक आवासीय विद्यालयका विकास रावत र सोही ठाउँकै सत्यवती एकेडेमीकी निर्मला ठगुन्नाको जीपीए ४ छ।

इन्टरनेटबाट तयारी
विद्यालय समयबाहेक घरमा नियमित अध्ययन गरिराख्थिन्, निकिता। अफ्ठ्यारो लागेको विषय निरन्तर शिक्षकहरूको नजिक रहेर सहयोग माग्थिन्। 

अध्ययनका क्रममा उनी पाठ्यपुस्तकमा मात्र परिनन्। अतिरिक्त पुस्तक पढ्नु उनको अर्को रूचिको विषय हो। कतिपय कठिन विषय इन्टरनेटको सहायताले खोज्ने गरेको उनी सुनाउँछिन्। निरन्तरको मिहिनेतले नै उत्कृष्ट नतिजा ल्याउन सफल भएको निकिताको भनाइ छ।

‘ट्युसन, कोचिङ कहिल्यै पढिनँ। अतिरिक्त किताबबाट पढियो। इन्टरनेटबाट खोजेर पनि तयारी गरियो। अहिले सफलता पाउँदा निकै खुसी लागेको छ,’ उनले नेपालखबरसँग अनुभव सुनाइन्, ‘परिवार र शिक्षकवर्गबाट राम्रो सहयोग पाएँ। कठिन लागेको कुरा जतिबेला पनि शिक्षकलाई सोधेर सहयोग माग्थेँ।’ 

आमाबुवा शिक्षक, मेधावी निकिता
निकिताका आमाबुवा दुवै प्राथमिक तहका शिक्षक हुन्। निकिताकी बहिनी कक्षा ९ र भाइ कक्षा ५ मा अध्ययन गर्छन्। हजुरआमासहित उनको परिवारमा ६ जना छन्।

निकिताले कक्षा ८ सम्मको अध्ययन गोदावरी नगरपालिका–६, लालपुरस्थित साधनापथ एकेडेमीमा गरेकी थिइन्। त्यसपछि कक्षा ९ देखि उनी दुर्गालक्ष्मीमा अध्ययन गर्न थालिन्। 

उनी कक्षामा कहिल्यै दोस्रो स्थानमा आइनन्। अब्बल नतिजासहित सधैँ उनी प्रथम हुन्थिन। औपचारिक शिक्षा मात्रै होइन, निकिता अतिरिक्त क्रियाकलापमा पनि सहभागी भएर प्रशस्त पुरस्कार जितेकी छन्।

एसईई नतिजा आउनुपूर्व असार ८ मा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको प्रादेशिक कविता महोत्सव–२०८१ मा सहभागी उनले प्रथम स्थान हासिल गरिन्। 

१५५ जनाको दरखास्तमध्ये छनोटमा परेका ३२ प्रतियोगीमा निकिता प्रथम भएकी थिइन्। त्यसको एक साता नबित्दै एसईईमा उत्कृष्ट नतिजा ल्याएर उनले परिवारमा खुसी थपेकी छन्।

यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरले आयोजना गरेको निबन्ध प्रतियोगितामा निकिता सुदूरपश्चिम प्रदेशभरमा पहिलो भएकी थिइन्। उनी विभिन्न ठाउँमा भएका वादविवाद, कविता, निबन्ध प्रतियोगितामा सहभागी भएर पनि सम्मानित भएकी छन्।

सीए बन्ने सपना
एसईईमा उत्कृष्ट नतिजा ल्याएकी निकिताको चार्टर्ड एकाउन्टेन्सी अध्ययन गर्ने सपना छ। व्यवस्थापन संकायबाट कक्षा १२ सम्म अध्ययन गर्ने योजना पनि उनले बुनेकी छन्। 

‘विद्यालय समयबाहेक बिहान–बेलुका मिहेनतसाथ पढिन्। एक्स्ट्रा किताब र नेट जोडिदिएको थिएँ। त्यसैबाट तयारी गरिन्,’ निकिताका बुवा टेकराज अवस्थी भन्छन्, ‘चाहिने सामग्री राखिदिनुपर्छ। साँझ–बिहान अभिभावकले हेर्नुपर्छ। सरकारी विद्यालयमा पढेर पनि राम्रै गर्न सकिन्छ।’

छोरीको इच्छाअनुसार नै आगामी अध्ययनमा आफूहरूले साथ दिने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .