ad ad

खेल


कीर्तिमानी प्रदर्शनसहित दक्षिण अफ्रिका पहिलोपटक विश्वकपको फाइनलमा

९ विकेटले हार्‍यो अफगानिस्तान
कीर्तिमानी प्रदर्शनसहित दक्षिण अफ्रिका पहिलोपटक विश्वकपको फाइनलमा

नेपालखबर
असार १३, २०८१ बिहिबार ८:३२, काठमाडौँ

अफगानिस्तानविरुद्ध कीर्तिमानी जित हासिल गर्दै दक्षिण अफ्रिका पहिलोपटक आईसीसी टी-२० विश्वकपको फाइनलमा पुगेको छ। 

बिहीबार बिहान भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका तेस्रो प्रयासमा फाइनलमा पुग्न सफल भएको हो। 

जारी विश्वकपमा कीर्तिमानी प्रदर्शन गरिरहेको दक्षिण अफ्रिका लगातार ८ खेल जित्ने एक्लो टोली हो। 

यसअघि सन् २००९ र २०१४ मा सेमिफाइनल खेलेको दक्षिण अफ्रिका १० वर्षपछि अहिले सेमिफाइनलमा पुगेको थियो। 

सुपर ८ मा समूह २ को विजेता बन्दै दक्षिण अफ्रिका तेस्रोपटक सेमिफाइनलमा पुगेको थियो।

अफगानिस्तान भने समूह १ को उपविजेताका रूपमा अन्तिम चारमा पुगेको थियो। 

अफगानिस्तानले दिएको ५७ रनको झिनो लक्ष्य अफगानिस्तानले ८.५ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। 

दोस्रो विकेटका लागि रिजा हेनरिक र कप्तान एडेन मक्रमले ५५ रनको साझेदारी गरेपछि दक्षिण अफ्रिकाले खेल सहजै जितेको हो।

रिजा २९ र मक्रम २३ रनमा नटआउट रहे। 

ओपनर क्वीन्टन डी कक ५ रन बनाउँदा फजहक फारुकीको बलमा बोल्ड आउट भए।

त्यसअघि ब्रायन लारा स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ११.५ ओभरमा ५६ रन बनाउँदा अलआउट भयो।

यो विश्वकपको सेमिफाइनल इतिहासमा अहिलेसम्मकै कम योगफल हो। 

समूह चरण र सुपर ८ मा उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा पुगेको अफगानिस्तान दक्षिण अफ्रिकाको घातक बलिङसामु लामो समय क्रिजमा टिक्न सकेन। 

अजमतुल्लाह ओमरजाइले बनाएको १० रन नै अफगानिस्तानका लागि सर्वाधिक रह्यो।

अन्य ब्याटरले दोहोरो अंककोे स्कोर छुन सकेनन्। अफगानिस्तानका ४ ब्याटर बोल्ड आउट भए। तीन ब्याटर क्याच आउट र तीन खेलाडी एलबीडब्लु आउट भए। ‍

अफगानिस्तानलाई कम स्कोरमा रोक्न मार्को जोसन र तबरैज साम्सीले समान ३ विकेट लिए। कागिसो रवाडा, एनरिच नोर्टेजले समान २ विकेट झारे। 

समूह चरणको पहिलो खेलमा श्रीलंकालाई ६ विकेटले हराएको दक्षिण अफ्रिकाले दोस्रो खेलमा नेदरल्यान्डस्‌लाई ४ विकेटको जितेको थियो।

समूह चरणको आफ्नो तेस्रो खेलमा बंगलादेशलाई ४ रनले पराजित गर्दा नेपालमाथि १ रनको रोमाञ्चक जित हात पारेको थियो। ‍

सुपर ८ मा आयोजक अमेरिकालाई १८ रनले हराउँदा इङल्यान्डविरुद्ध ७ रनको जित निकालेको थियो। 

सुपर ८ मा नै अर्को आयोजक वेस्ट इन्डिजलाई डिएलएस मेथडमा ३ विकेटले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको थियो। 

उता सुपर ८ भारतसँग ४७ रनले पराजित हुँदा दोस्रो खेलमा अस्ट्रेलियालाई २१ रनले पाखा लगाएको थियो।

सुपर ८ को अन्तिम खेलमा बंगलादेशलाई डीएलएस मेथडमा ८ रनको जित दर्ता गर्दै विश्वकपको इतिहासमा नै पहिलो पटक सेमिफाइनलमा स्थान बनाएको हो। 

समूह चरणमा न्युजिल्यान्ड र सुपर ८ मा अस्ट्रेलियालाई हराएको अफगानिस्तानको टोली उच्च मनोबलमा छ। 

अफगानिस्तानले समूह चरणमा युगान्डालाई १ सय २५ रनले तथा दोस्रो खेलमा न्युजिल्यान्डलाई ८४ रनले हराउँदै सानदार जित निकालेको थियो। 

पपुवा न्यु गिनीलाई ७ विकेटले हराउँदा समूह चरणको अन्तिम खेलमा आयोजक वेस्ट इन्डिजसँग भने १ सय ४ रनको फराकिलो हार बेहोरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .