सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महामन्त्री डा. मुकुल ढकालले पार्टीभित्र आफूविरुद्ध प्रहार हुनसक्ने भनी व्यक्त गरेको चिन्ताबारे सार्वजनिक प्रतिक्रिया दिएका छन्।
बिहीबार बिहान पत्रकारले राखेको जिज्ञासामा उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछानेले महान्त्री ढकालले आफू पदबाट पनि हटाइन सक्ने भनी व्यक्त गरेको चिन्ता आशंका मात्रै भएको जवाफ दिएका हुन्।
पार्टीको आन्तरिक समीक्षाका लागि महामन्त्री ढकालले गत जेठ ६ गतेदेखि देशव्यापी यात्रा गरेका थिए।
यात्रा सकेर असार ५ गते काठमाडौँ आइपुगेका ढकालले यसको प्रतिवेदन बुधबार सभापति लामिछानेलाई बुझाएका छन्।
त्यसमा उनले आफूले ३८ जिल्लाका २०७९ जनाभन्दा बढीसँग अन्तर्क्रिया गरेको उल्लेख गर्दै पार्टी दुर्घटनामा पर्ने चेतावनी दिएका छन्।
जसका कारण आफूविरुद्ध पार्टीभित्र प्रहार हुन सक्ने र महामन्त्रीबाटै हटाइन सक्ने चिन्ता व्यक्त गर्दै प्रतिवेदनसँगै सभापति लामिछानेलाई पत्रसमेत लेखेका छन्।
सो विषयमा बिहीबार बिहान पत्रकारले ‘ममाथि प्रहार हुन्छ, म महामन्त्रीबाट हटाइन पनि सक्छु भनेर चिन्ता व्यक्त गर्नुभएको छ नि उहाँ (ढकाल) ले)’ भनी राखेको जिज्ञासामा सभापति लामिछानेले भने, ‘वैचारिक रूपमा, कडा रूपमा प्रस्तुत हुँदाखेरि त्यस्तो होला कि भन्ने चिज हुन्छ नि, त्यस्तो हुँदैन।’
Shares
प्रतिक्रिया