काठमाडौंको सिनामंगलस्थित एक ज्वेलर्स अगाडि राखिएको शंकास्पद वस्तु बम नभएको पुष्टि नेपाली सेनाले गरेको छ।
सुनचाँदी पसलको सटरमा राखिएको होक्स अर्थात नक्कली बमलाई नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय बनाइसकेको छ।
नक्कली बमका कारण उक्त क्षेत्र दुई घण्टाभन्दा धेरै तनावग्रस्त भयो। उक्त सुनचाँदी पसलका मालिकलाई आतंकित बनाएर रकम असुल्न खोजेको अभियोगमा प्रहरीले रौतहटका खजाञ्जी पासवानलाई पक्राउ गरिसकेको छ।
खोटाङ हलेसी ज्वेलर्स अगाडि नक्कली बम राखेर आतंक मच्चाएको आरोपमा पक्राउ परेका पासवानलाई अहिले गौशाला बृत्तको हिरासतमा राखिएको छ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार काठमाडौं मेडिकल कलेजबाट पुरानो बानेश्वर जाने सडक छेउमा शंकास्पद वस्तु राखेको आरोपमा तत्कालै उनलाई पक्राउ गरिएको हो।
नक्कली बमका कारण सिनामंगल–पुरानो बानेश्वर सडकअन्तर्गतको क्षेत्रमा तनाव भएको थियो।
Shares
प्रतिक्रिया