सर्लाहीमा भारतीय मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने अर्का किशोर घाइते भएका छन्।
गएराति ईश्वरपुर नगरपालिका-२ राईटरखोरमा पूर्वबाट सुकनाहातर्फ जाँदै गरेको बीआर.३० ई ६९०२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ६५ वर्षीय किसुन देव साहको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी साइकलमा सवार थिए।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ईश्वरपुर नगरपालिका-१५ सुकनाहा घर भएका सोनेलाल राउतका छोरा १४ वर्षीय बिक्की कुमार राउत घाइते भएका छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका किसुन देव साहलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवामा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।
दुर्घटनापछि मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका-१५ सुकनाहा निवासी २३ वर्षी मनिष साहलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
Shares

प्रतिक्रिया