ad ad

समाज


ढल्केबरमा सञ्चालनमा आयो मालपोत र नापी कार्यालय

ढल्केबरमा सञ्चालनमा आयो मालपोत र नापी कार्यालय

नेपालखबर
जेठ १९, २०८१ शनिबार ७:२१, धनुषा

धनुषाको ढल्केबरमा मालपोत र नापी कार्यालय सञ्चालनमा आएको छ। 

दुवै कार्यालयको शुक्रबार राष्ट्रियसभाका सदस्य आनन्दप्रसाद ढुंगाना र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले संयुक्त रुपमा उद्घाटन गरेका छन्।

दुवै कार्यालयमा जग्गासम्बन्धी कामकाज शुक्रबारदेखि नै सुरु भएको छ। 

राष्ट्रियसभा सदस्य ढुंगानाले संघीयताको भावनाअनुसार जनतालाई आफ्नै ठाउँबाट सहज रुपमा सेवा दिने उद्देश्यले ढल्केबर मालपोत र नापी कार्यालयको स्थापना भएको बताएका छन्।

कार्यालय सञ्चालनमा आउँदा धनुषाको उत्तरपूर्वका नागरिकलाई जग्गासम्बन्धी काम गराउन सुविधा पुग्ने छ। जनताको कामसँग प्रत्यक्ष जोडिएको यस कार्यालयलाई बाहिरबाट हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी रहेको उल्लेख गर्दै उनले चुस्तदुरुस्त भएर सेवा प्रदान गर्न सुझाव दिएका छन्।

त्यस्तै, नेपाली कांग्रेसका सहमहामन्त्री यादवले ढल्केबरलगायत आसपासका पालिकाका नागरिकलाई जग्गासम्बन्धी कामकाज गराउनका लागि अब जनकपुर जानु नपर्ने बताए।

मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतोले मालपोत र नापी कार्यालय सञ्चालनमा आएसँगै ढल्केबरमा इलाका प्रशासन कार्यालयको स्थापना गर्न जुटेको बताएका छन्। उनले कार्यालय सञ्चालनसँगै यहाँको व्यापार–व्यवसायमा वृद्धि हुने विश्वास व्यक्त गरे।

ढल्केबर सञ्चालन भएको मालपोत र नापी कार्यालयले साबिकका गाविसहरु ढल्केवर, बेङ्गाडाबर, तुलसी, हरिहरपुर, नकटाझिज, भुचक्रपुर, शान्तिपुर, गोदार, भरतपुरलगायत हालका तीनवटा स्थानीय तह मिथिला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका र बटेश्वर गाउँपालिका क्षेत्रका सेवा प्रदान गर्ने बताइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .