ad ad

समाज


गर्मी अत्यधिक बढ्दा वीरगन्जका विद्यालय ३ दिनको लागि बन्द

गर्मी अत्यधिक बढ्दा वीरगन्जका विद्यालय ३ दिनको लागि बन्द

फाइल तस्बिर


नेपालखबर
जेठ १४, २०८१ सोमबार १३:५०, वीरगन्ज

अत्यधिक गर्मीका कारण वीरगन्ज महानगर क्षेत्रका विद्यालयको पठनपाठन तीन दिन बन्द हुने भएको छ। 

वीरगञ्ज आसपास क्षेत्रको तापक्रम बढेर बिहानी सत्रको पठनपाठन कार्य पनि प्रभावित भएपछि जेठ १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन कार्य बन्द गर्न लागिएको हो।

वीरगञ्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले अत्यधिक गर्मीको कारणले पठनपाठनमा असहज भएको बताए। अभिभावक, विद्यार्थी र शिक्षकबाट गुनासो आएसँगै महानगर शिक्षा समितिको आज बसेको बैठकले तीन दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको हो। 

‘वीरगञ्ज महानगर शिक्षा समितिको आज बसेको बैठकले अत्यधिक गर्मीको कारणले विद्यालयको पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेको छ’, उनले भने, ‘वर्षे बिदाबाट कट्टा हुने गरी सबै विद्यालयको प्रशासनिक कार्य गर्न÷गराउन बाधा नपर्ने गरी पठनपाठन कार्य मात्र तीन दिन बन्द हुनेछ।’

भोलि अर्थात मङ्गलबार भने गणतन्त्र दिवसका सार्वजनिक बिदा छ। महाशाखा प्रमुख कर्णले बिदा घोषणा गरेपनि मौसम सुधार भएको खण्डमा भने पठनपाठन गर्न सकिने बताए।

महानगर शिक्षा समितिको २०८१ वैशाख १७ गतेको निर्णयअनुसार प्रतिकूल मौसम (अत्यधिक गर्मी) का कारणले दिउँसोको समयमा पठनपाठन कार्य असहज भएको भन्दै बिहान ६ बजेदेखि पठनपाठन सुरु गर्ने निर्णय गरेको थियो। 

गत वैशाख २० गतेदेखि वीरगञ्ज महानगर क्षेत्रमा बिहानीको समयमा पठनपाठन हुँदै आएको थियो।

महानगरभित्र सामुदायिकतर्फ ९२ वटा र निजीतर्फ एक सय ३८ विद्यालय छन्। सामुदायिक विद्यालयतर्फ २१ माध्यमिक, १५ आधारभूत, ५५ वटा प्राथमिक विद्यालय र एउटा पूर्वप्रथामिक विद्यालय रहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .