ad ad

समाज


जलेश्वर कारागारमा बम्जनलाई भेट्न आउने घटे, खाना बनाउन छुट्टै कैदी खटाइयो

जलेश्वर कारागारमा बम्जनलाई भेट्न आउने घटे, खाना बनाउन छुट्टै कैदी खटाइयो

फाइल तस्बिर


नेपालखबर
माघ १८, २०८० बिहिबार ९:४८, महाेत्तरी

विगत तीन सातादेखि महोत्तरीको जलेश्वर कारागारमा रहेका ‘तपस्वी’ रामबहादुर बम्जनको दिनचर्या सामान्य बन्दै गएको छ। 

सुरुका दिनमा कारागारमा केही असहज महसुस गरेका बम्जन अहिले अन्य कैदीबन्दी सरह कारागारभित्र सामान्य रुपमा बस्न थालेका जलेश्वर कारागारका प्रमुख (जेलर) रामचन्द्र साहले बताए। 

बाल यौन शोषणको अभियोगमा पक्राउ परेका बम्जनलाई जिल्ला अदालत सर्लाहीले गएको पुस २६ गते पुर्पक्षको लागि जलेश्वर कारागार चलान गरेको थियो। 

उनलाई त्यसको दुई दिनअघि (पुस २४ गते राति) प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँको बुढानिलकण्ठबाट पक्राउ गरेको थियो। 

जलेश्वर कारागार पुगेपछि उनले अन्य कैदी बन्दीसँग बसेर खाना खान अस्वीकार गरेका थिए भने आफूले खाना बनाएर खान नसक्ने भन्दै सहयोगी माग गरेका थिए। 

कारागार प्रशासनले उनको माग अनुसार बम्जनलाई छुट्टै खाना खाने व्यवस्था मिलाएको छ भने एक जना सहयोगी पनि उपलव्ध गराएको छ। सहयोगी पनि कैदी नै हुन्।

‘उनलाई हामीले अरु कुनै विशेष सुविधा दिएका छैनौँ,’ जेलर साहले नेपालखबरसँग भने, ‘उनी बस्ने कोठामा टीभीको व्यवस्था गरेका छौँ। एकजना कैदीबन्दीले उनलाई लसुन, प्याज र बेसार नहालेको खाना बनाइ दिन्छन्। व्यक्तिगत सरसफाइको काममा सघाउँछन्। उनी एक्लै खाना खान्छन्। दिनभरी कोठामै बस्छन्।’

बम्जनलाई भेट्न सुरुका दिनमा अलि धेरै मानिसहरु आउने गरेका भए पनि अहिले भने त्यसरी मानिसहरु आउन छाडेको साहको भनाई छ।

‘आजभोलि बम्जनलाई भेट्न नियमित मानिसहरु आउँदैनन्। कहिलेकाहीँ चार पाँच जना आउँछन्,’ साहले भने, ‘उनका निजी वकिलबाहेक अरु कोही उच्च ओहदाका मानिस उनलाई भेट्न आएको देखेका छैनौँ।’

योग ध्यान गरेर प्रसिद्धि कमाएका भनिएका बम्जनले कारागारमा नियमित योग-ध्यान पनि गर्ने गरेका छैनन्। जलेश्वर कारागारमा ४ सयभन्दा बढी पुस्तक रहेको पुस्तकालय पनि छ। तर बम्जन पुस्तकालयतिर पनि जाँदैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .