दैलेखस्थित कर्णाली नदीमा बेपत्ता गाडी र यात्रु खोज्न चितवनको कुरिनटारबाट पनि सशस्त्र प्रहरी बलको गोतखोर टोली पठाइएको छ।
यही असार १८ गते सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका-७ साङ्गेताडाबाट कर्णाली नदीमा खसेर यात्रुसहित बेपत्ता छ।
त्यही दिन भिरमा एक जनाको शव भेटिए पनि अझै गाडी र ५/६ जनाको अवस्था अज्ञात छ। गाडीमा जम्मा कति जना थिए भन्ने एकिन नभए पनि मृतकसमेत ६/७ जना रहेको अनुमान गरिएको छ।
बेपत्ता गाडी र यात्रु अहिलेसम्म फेला नपरेकाले कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट पनि खोजीका लागि थप जनशक्ति पठाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
‘सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङको कमान्डमा ४ जना गोताखोरसहितको टोली आज घटनास्थल पुगेर खोजीमा खटिएको छ’, उनले भने, ‘टोलीले पानीमुनि तथा भेलमा खोज्न सोनार क्यामरा र म्याग्नेटलगायत उपकरण लिएर गएको छ।’

Shares

प्रतिक्रिया