उपसचिवहरुबीचको विवादका कारण मन्त्रालयको काम नै ठप्प भएको छ।
प्रदेश सरकारले सो मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी प्रदेशसभा सचिवालयको सचिव समेत रहेका रञ्जित यादवलाई दिएको छ।
जबकि उनीभन्दा वरिष्ठ उपसचिव महेन्द्र महतोलाई मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी नदिएर यादवलाई दोहोरो जिम्मेवारी दिएको हो।
२०७५ मा संघीय सरकारको समायोजनबाट बढुवा भएर शिक्षा तालिम केन्द्र, बारा कलैयामा २०७९ पुस २ गते महेन्द्र महतो हाजिर भएका थिए।
तर उनलाई काज सरुवामा महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी सम्हाल्ने गरी तानियो। उनी मन्त्रालयमा २०७९ पुस २ गते हाजिर भएका हुन्।
मधेश प्रदेशसभाको सचिवसमेत यादवलाई मुख्यमन्त्री कार्यालयबाट दोहोरो जिम्मेवारीमा महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी दिइयो।
यादव २०७९ साउनमा प्रदेश सरकारको बढुवामा उपसचिव भएका हुन्। दुवै उपसचिवलाई एउटै मन्त्रालयमा मुख्यमन्त्री कार्यालयले पठाएपछि दुई उपसचिवबीच वर्चस्वको लडाइँ शुरु भएको हो।
फलस्वरुप मन्त्रालयको काम नै ठप्प भएको छ।
मन्त्रालयको खाता निमित्त सचिव रञ्जित यादव र सह–लेखापाल सुशील यादवले सञ्चालन गरेपछि विवाद बढ्दै गएर मन्त्रालयको काम ठप्प भएको मन्त्रालयकै एक कर्मचारीले बताए।
उपसचिव महतोले वरीयताक्रममा यादव भन्दा आफूमाथि रहेकाले निमित्त सचिवको जिम्मेवारी आफूमा निहित रहनुपर्ने तर्क गरे।
उनले भने, ‘मभन्दा कनिष्ठ उपसचिव हो, म उहाँ भन्दा वरिष्ठ हुँ। समायोजनदेखि बढुवासम्मको अंक हेर्नुस्, मभन्दा कनिष्ठको तल बसेर कसरी काम गरुँ?'
यसबारेमा महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री मोहम्मद जैयद आलम भने आफूलाई केही थाहा नभएको बताए।
'म उपराष्ट्रपति निर्वाचनमा व्यस्त थिएँ', उनले नेपालखबरसँग भने, 'यसबारे मलाई थाहा छैन, म यसबारे बुझेर आवश्यक कदम चाल्छु।'
प्रतिक्रिया