ad ad

समाज


२४१ वर्ष लामो सजाय दिने न्यायाधीशले जेलमै मर्छौ भनेकी थिइन्, उनैले छुट्न सहयोग गरिन्

२७ वर्षपछि बाहिर निस्केका व्यक्तिले देखेको संसार
२४१ वर्ष लामो सजाय दिने न्यायाधीशले जेलमै मर्छौ भनेकी थिइन्, उनैले छुट्न सहयोग गरिन्

नेपालखबर
चैत ७, २०७९ मंगलबार १९:४०, काठमाडौँ

गत नोभेम्बरमा बबी बोस्टिक जेलबाट छुटे। २४१ वर्षको जेल सजाय तोकिएर २७ वर्ष थुनिएपछि मुक्त भएका उनलाई जेलबाहिर थुप्रै कुरा अनौठो लाग्यो। 

तारबिनाको इयरफोन (‘मान्छेहरु किन आफैँसँग बोलेका?’) देखि स्पिकरसँग मानिस बोलेको (‘के हो एलेक्सिस भनेको?’) र स्वचालित ड्रिंक मेसिन (हात हल्लाउनेबित्तिकै पानी आउँदो रहेछ।’) सम्म। डिसेम्बर १९९५ को तुलनामा संसार उनलाई निकै अलग लाग्यो।

तर, उनलाई सबैभन्दा अनौठो चाहिँ मान्छे नै लागे।

‘कति धेरै मिलनसार मान्छेहरु, जेलको तुलनामा,’ ४४ वर्षीय ओस्टिक भन्छन्, ‘पसलमा जाँदा पनि ‘सर, तपाईंलाई के सहयोग गरौँ?’ भन्छन्। जेलमा कुत्सित अनुहार र दुर्व्यवहारबाहेक केही पाइँदैन।’

‘मेरो नजिक नआइज है’ सुनिरहने उनका कान, ‘तपाईंलाई कस्तो छ?’ सुन्न बानी पर्दैछन्।

‘यहाँ सबैथोक राम्रो छ। मान्छेहरु मुस्कुराइरहन्छन्। सानासाना बच्चाहरु हात हल्लाउँछन्। जीवन त यस्तो पो हो त। सामान्य त यस्तो पो हो त। हुनुपर्ने त यस्तो पो हो त,’ उनी भन्छन्।

सायद २७ वर्षसम्मको संस्थागत आक्रमकता बेहोरेपछि उनलाई बानी पर्न कठिन भयो होला।

‘भएन। किनभने भित्री मनमा तपाईं त्यो मानवता चाहनुहुन्छ। त्यो मानवीय सम्बन्ध चाहनुहुन्छ। त्यही हो जीवन। त्यही हो सुन्दरता। त्यही हो मान्छे हुनुको आनन्द,’ उनी भन्छन्।
***

करिब १० हजार रात जेलको कोठामा कैद भएपछि नोभेम्बर ८ उनको त्यहाँ अन्तिम रात थियो। तर, स्वतन्त्रताको सपना देख्दादेख्दै उनी निदाउन सकेनन्।

बरु, उनले त्यो लामो र कालो रात सामान पोको पार्न बिताए। उनले आफ्ना सरसामान अन्य कैदीका लागि छाडे। तर, एउटा चिज भने आफैँसँग राखे– टाइपराइटर। त्यससँग जोडिएका उनका  स्मृति यति धेरै थिए, कथा यति धेरै थिए, त्यसलाई छाड्न सकेनन्।

घाम झुल्किएसँगै कुनकुन कैदीको कोठा परिवर्तन भयो भनेर लेखिएको बोर्डमा उनले नियाले। उनको नामको पछाडि लेखिएको थियो– रिहा।

‘त्यो शब्द नदेखुन्जेल यो यथार्थ हो भन्ने लागेकै थिएन। जब लाग्यो, मेरो आत्मामा संगीत बजेजस्तो भयो,’ उनले सुनाए।

यथार्थमै रिहा भएको स्पष्ट भएपछि बोस्टिकले घर जाने लुगा लगाए। जेलमा २७ वर्ष खैरो पोसाक लगाएका उनले घर जानेबेला निलो रङको थ्री पिस सुट रोजेका थिए।

‘यसले मेरो जिन्दगीको नयाँ अध्यायलाई संकेत गर्छ। जिन्दगीको नयाँ काम,’ उनी भन्छन्।

२५ वर्षअघि न्यायाधीश एभेलिन बेकरले बोस्टिकलाई भनेकी थिइन्, ‘तिमी जेलभित्रै मर्नेछौ।’ तर, नोभेम्बरको बिहान साढे सात बजे उनी जेलबाट एक स्वतन्त्र व्यक्तिका रुपमा बाहिर निस्किए। उनको सुट र मुस्कान मिजोरीमा घामको झुल्कोजत्तिकै चहकिलो थियो। 

जब उनी बाहिर निस्किए, कालो ह्याट लगाएकी एक महिला उनलाई अँगालो हाल्न अघि बढिन्। ती महिलाका नाम थियो, न्यायाधीश एभेलिन बेकर।

जेलबाहिर एउटा अंकमालसँगै टुंगिएको यो यात्रा डिसेम्बर १९९५ मा सुरु भएको थियो।

त्यो दिन सेन्ट लुइमा १६ वर्षे बोस्टिक र उनका साथी डोनाल्ड हटसनले जिन पिए, गाँजा ताने, लागूऔषध चक्की खाए र लुटपाटको क्रम सुरु गरे। उनीहरुले क्रिसमसको उपहार बाँडिरहेको समूहबाट चोरी गरे। गोली चलाए। एक महिलालाई बन्दुक ताकेर उनको कार लुटे।

अदालतमा बोस्टिकलाई सम्झौताको प्रस्ताव गरियो। जसअनुसार उनले दोष स्वीकार गरे ३० वर्ष जेल सजाय पाउने थिए। बीचमा प्यारोलको सम्भावना पनि थियो। तर, उनले प्रस्ताव अस्वीकार गरे। र, दोषी ठहर भए। न्यायाधीश बेकरले उनलाई १७ अपराधका लागि २४१ वर्ष जेल सजाय तोकिदिइन्।

उनका साथी हट्सनले भने प्रस्ताव स्वीकार गरे र ३० वर्ष जेल सजाय पाए।

२०१८ मा उनलाई पहिलोचोटि भेट्दा उनी आशावादी देखिन्थे। २०१० मा अमेरिकी सर्वोच्च अदालतले १८ वर्षमुनिका किशोरहरुलाई ज्यान नमरेको अपराधमा प्यारोलबिनै आजीवन कैदको सजाय दिन नहुने फैसला गर्यो। २०१६ मा सो सर्त पुराना मुद्दाहरुमा पनि लागू हुने पुष्टि भयो।

तर, मिजोरी राज्य उनलाइृ छाड्न चाहँदैनथ्यो। राज्यको तर्क थियो, बोस्टिकले आजीवन काराबासको सजाय पाएका होइनन्, विभिन्न अपराधको सजाय जोडिएको मात्र हो।

अप्रिल २०१८ मा अमेरिकी सर्वोच्च अदालतले पनि उनको आवेदन खारेज गरिदियो, बिनाकुनै कारण नदेखाई।

‘त्यो अवस्थामा धेरै मान्छेले लत्तो छाड्छन्,’ बोस्टिक भन्छन्। तर, उनले छाडेनन्। उनी पुस्तक र टाइपराइटरमा फर्किए।
***

बाल्यकालमा अपराध गरेर लामो समय जेल परेका कैदीहरुलाई प्यारोल दिनेगरी राज्यको कानुन संशोधनको तयारी भयो। जसले बोस्टिकलाई अर्को मौका थियो।

तर, विधान सभाको अन्तिम दिन १४ मे २०२१ मा पनि सो कानुन पारित भएको थिएन। 

‘मलाई धेरै विश्वास थिएन,’ बोस्टिक भन्छन्, ‘सामान्यतः जनवरी वा फेब्रुअरीमा पास भएन भने पास हुने सम्भावना रहँदैन।’

तर, बोस्टिकले एक मित्रबाट एउटा सन्देश पाए।

‘जेलले हामीलाई इमेल हेर्न दिन थालेको थियो। कसैले मलाई एउटा लेख पठायो। कानुन वास्तवमा पास भएको थियो,’ उनले सुनाए, ‘चमत्कार भएको थियो।’

त्यसलाई गभर्नर माइक पार्सनले पनि हस्ताक्षर गरे। बोस्टिक प्यारोलका लागि योग्य भए। नोभेम्बर २०२१ मा त्यसको सुनुवाइ हुने भयो।

सुनुवाइमा कैदीहरुले एक डेलिगेटसँग सहयोग माग्न सक्छन्। कोसँग सहयोग माग्ने, बोस्टिकलाई थाहा थियो– तिनै न्यायाधीश जसले उनलाई जेलमै मर्छौ भनेकी थिइन्।
***

बेकर १९८३ मा मिजोरीमा न्यायाधीश बन्ने पहिलो अश्वेत महिला थिइन्। अवकाश भएको दुई वर्षपछि २०१० तिर नै उनले किशोर र वयष्कहरुको दिमागबीचको फरकका विषयमा पढेपछि बोस्टिकको सजायमा प्रश्न उठाउन थालेकी थिइन्। २५ वर्ष लामो करिअरमा आफ्नो यही फैसलाप्रति मात्र उनले पछुतो जनाएकी छन्।

जेलमा बोस्टिकसँग भेट्दै बेकर

२०१८ को फेब्रुअरीमा उनले वासिङ्टन पोस्टमा एक लेख लेख्दै बोस्टिकलाई दिइएको सजाय ‘मूर्खतापूर्ण र अन्यायपूर्ण’ भएको बताइन्। 

बीबीसीसँगको संवादमा पनि उनको कुरा त्यही थियो।

‘बबी १६ वर्षका बच्चा थिए। जसलाई मैले पूर्ण वयष्क ठानेँ। जुन गलत थियो,’ उनी भन्छिन्, ‘म बबी र उनकी बहिनीसँग निकट भएँ। एक किशोर कसुरदारबाट विचारशील, मायालु वयष्कमा फेरिएको मैले देखेँ। उनी हुर्किए।’

१९९५ मा बोस्टिकबाट पीडित एक व्यक्तिले पनि उनको समर्थनमा चिठी लेखे। उनीहरुको सहयोगले प्यारोलको सुनुवाइ सफल भयो।

‘समयको चक्र घुमाउन सके म घुमाउँथेँ,’ बेकरले भनिन्।

त्यसको ठिक एक वर्षपछि बोस्टिक मुक्त भए। 

‘म रुन थालेँ। बबी रिहा भए,’ उनले भनिन्।

बेकर, साथीहरु, नातेदार र सहयोगीहरुलाई भेटेपछि बोस्टिक १९९५ यता पहिलो पटक जेलबाहिरको खाना खान गए। २४ वर्षदेखि उनी शाकाहारी थिए। उनले टाको खाए। 

‘तर, कारमा चढेपछि सबै बान्ता गरेँ,’ उनले सुनाए, ‘२७ वर्षदेखि म गाडी चढेको थिइनँ।’

त्यसपछि उनी सेन्ट लुइस्थित बहिनीको घर गए। जहाँ एक दिनमै ४ सयभन्दा धेरै मानिस आफूलाई भेट्न आएको उनले बताए।

अहिले बबी र उनकी बहिनी मिलेर एएटा च्यारिटी चलाउँछन्। जसले कम आय भएका परिवारलाई सघाउँछ। प्रत्येक बिहीबार उनी किशोरहरुलाई थुन्ने ठाउँमा लेखन कार्यशाला चलाउँछन्। 

उनी पैसा भने आफ्ना किताब बेचेर कमाउँछन्। अमेजनमा उनका सात पुस्तक छन्। जुन सबै जेलमा त्यही टाइपराइटरमा लेखिएका थिए। कहिलेकाहीँ उनी सशुल्क भाषण पनि गर्छन्। त्यही पैसाले एउटा बेडरुम भएको अपार्टमेन्टको भाडा र खर्चबर्च धान्छन्।

‘म मुस्किलले खर्च चलाइरहेको छु,’ उनी भन्छन्।

उनी काम पाउने आशामा छन्। अन्तर्वार्ता पनि दिइरहेका छन्। पैसा ज्यादा नभए पनि बाहिरी संसारप्रति उनको आश्चर्य, कृतज्ञता कम भएको छैन।

‘म केही कुरासँग जुधिरहेको छु। तर, त्यसबाहेक यहाँ प्रत्येक दिन जीवन सुन्दर छ। म फ्रिज खोल्छु र त्यहाँबाट झिक्न सकिने अनेक चिज हेर्छु। म बाथटबमा डुबेर बसिरहन्छु। २७ वर्षसम्म मैले यसरी नुहाएको थिइनँ। म केही पनि कुरालाई हल्का रुपमा लिन्नँ,’ उनी भन्छन्।

बोस्टिकले जीवनमा दोस्रो मौका पाए। यसका लागि कृतज्ञ पनि छन्। तर, डिसेम्बर १९९५ मा अपराध गर्दाको त्यो दिन उनको साथी रहेका व्यक्तिले त्यो मौका पाएनन्।

डोनाल्ड हट्सन, जसले अदालती प्रस्ताव स्विकारेर ३० वर्षको सजाय पाएका थिए, सेप्टेम्बर २०१८ मा जेलमै बिते। मृत्युको कारण थियो लागुऔषधको ओभरडोज। त्यसको नौ महिनापछि उनी प्यारोलका लागि योग्य हुने थिए। 

(बीबीसीबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .