समाज


यौन सम्बन्धको पोल खोलिदिएको निहुँमा ६९ वर्षीय वृद्धको हत्या

‘कोठाको चुकुल बाहिरबाट लगाएर गाउँलेलाई खबर गरेको रिसमा ज्यान लिए’
यौन सम्बन्धको पोल खोलिदिएको निहुँमा ६९ वर्षीय वृद्धको हत्या

हत्या आराेपमा पक्राउ परेका ५१ वर्षीय लोकबहादुर गिरी र ५० वर्षीया जेदुकुमारी न्यौपाने


नेपालखबर
माघ २१, २०८१ सोमबार १०:८, काठमाडौँ

तीन दिनअघि प्युठानको गौमुखी गाउँपालिका- ५ खुङ्का निवासी ६९ वर्षीय चिन्तामणि उपाध्यायको हत्या विवाहेतर सम्बन्धमा रहेको जोडीबाट भएको प्रहरी अनुसन्धानले देखाएको छ। 

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय एक पुरुष र महिलालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा गौमुखी गाउँपालिका वडा ५ खालका ५१ वर्षीय लोकबहादुर गिरी र गौमुखी गाउँपालिका वडा ५ गोलढुङ्गाका ५० वर्षीया जेदुकुमारी न्यौपाने छन्। उनीहरु दुवै विवाहित हुन्।

न्यौपानेका छोराछोरीको समेत विवाह भइसकेको छ। उनका श्रीमान् रोजगारीका लागि भारतमा बस्दै आएको प्रहरीले जनाएको छ।
गिरीका पनि घरमा पत्नी र छोराछोरी छन्।

‘उनीहरूलाई घटना भएको २४ घण्टाभित्रमै हामीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका थियौँ,’ जिल्ला प्रहरी कार्यालय, प्युठानका सूचना अधिकारीसमेत रहेको प्रहरी निरीक्षक केशव केसीले नेपालखबरसँग भने, ‘आफूहरूबीचको अवैध यौन सम्बन्धको पोल समाजको अगाडि खोलिदिएको निहुँमा उनीहरूले उपाध्यायको हत्या गरेको बयान प्रहरीलाई दिएका छन्।’

यही माघ १८ गते बिहान करिब साढे ८ बजे गौमुखी गाउँपालिका-५, उपल्लो फुर्सेधारास्थित खुङ्ग-नारिकोट जोड्ने कच्ची सडकको भित्री बाटोमा चिन्तामणि उपाध्ययको शव फेला परेको थियो। 

टाउको, अनुहार, नाक, मुखमा समेत गहिरो चोट लागी रगताम्मे भई ढलेको अवस्थामा शव फेला परेको प्रहरीको भनाइ छ।

‘अनुसन्धानको क्रममा उपाध्यायको हत्यामा गिरी र न्यौपानेको संलग्नता पाइएको छ,’ प्रहरी निरीक्षक केसीले भने, ‘हामीले आरोपीलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका छौँ।’

पक्राउ परेका गिरी र न्यौपानेबीच सम्बन्ध रहेको र उक्त विषय उपाध्यायलाई थाहा भएपछि दुवै जनाले योजनाबद्ध रूपमा हत्या गरेको केसीले बताए। कल डिटेल रिपोर्ट र घटनामा प्रयोग गरिएको भरुवा बन्दुकको बटको आधारमा अनुसन्धान सफल भएको प्रहरी निरीक्षक केसीको भनाइ छ।

घटनास्थलबाट प्रहरीले भरुवा बन्दुक, मोबाइल र सात हजार रुपैयाँ नगद समेत बरामद गरेको छ।

आरोपित दुवै जनालाई प्रहरीले अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ।  

घटना विवरण
मिति २०८१।१०।१८ गतेका दिन बिहान अन्दाजी साढे ८ बजे प्युठान गौमुखी गाउँपालिका वडा नम्बर ५ उपल्लो फुर्सेधारास्थित खुङ्ग-नारिकोट जोड्ने कच्ची भित्री सडक बाटोमा चिन्तामणि उपाध्यायको शव फेला पर्छ। टाउको, अनुहार, नाक, मुख समेतमा गहिरो चोट लागेर रगताम्मे भई मृत अवस्थामा उपाध्यायलाई फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गर्छन्। सूचना प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय खलंगाबाट प्रहरी नायब उपरीक्षक समेतको प्रहरी टोली घटनास्थलमा पुग्छ।

प्रहरीको अनुमानमा यी हुन् हत्याका ३ कारण 
कारण १

प्रतिवादीहरू लोकबहादुर गिरी र जेदुकुमारी न्यौपानेबीच विगतदेखि नै अवैध शारीरिक सम्बन्ध रहँदै आएको र उक्त कुरा चिन्तामणि उपाध्याय समेतलाई जानकारी भएको।

कारण २
करिब एक वर्षअगाडि निज दुवैजना (प्रतिवादीहरू जेदु कुमारी न्यौपाने) को घरको कोठामा गिरी र न्यौपानेबीच शारीरिक सम्बन्ध राखिरहेको अवस्थामा मृतक चिन्तामणि उपाध्यायले फेला पार्छन्। त्यसपछि उनीहरू सुतेर बसेको कोठाको ढोकाको चुकुल उपाध्यायले बाहिरबाट लगाई दिन्छन्। र, निजहरूको सम्बन्धको बारेमा गाउँ छिमेकलाई समेत थाहा भयो। त्यसपछि चिन्तामणि उपाध्यायलाई कुनै दिन नमारी नछाड्ने भनेर निज दुवैजना प्रतिवादीहरूले रिसईबी लिएको‍।

कारण ३
मृतक चिन्तामणि उपाध्याय र जेदुकुमारी न्यौपानेबीच लामो समय फोन सम्पर्क हुँदै आएकाे।

घटनामा प्रतिवादीहरूको भूमिका
मिति २०८१।१०।१७ गतेका दिन बेलुका अन्दाजी साँझ ६ बजेको समयमा लोकबहादुर गिरी र जेदुकुमारी न्यौपाने जिल्ला प्युठान गौमुखी गाउँपालिका वडा ५ उपल्लो फुर्सेधारा स्थित खुङ्ग-नारिकोट जोड्ने कच्ची भित्री सडक बाटोमा भेट भई मृतक चिन्तामणि उपाध्यायलाई मार्ने योजना बनाई अन्दाजी राति ८ बजेको समयमा निज जेदुकुमारी न्यौपानेले आफ्नो मोबाइल नम्बरबाट निज मृतक चिन्तामणि उपाध्यायको मोबाइल नम्बरमा फोन गरी जिल्ला प्युठान गौमुखी गाउपालिका वडा ५ उपल्लो फुर्सेधारा स्थित खुङ्ग- नारिकोट जोड्ने भित्री कच्ची सडकमा बोलाई एकाएक ढुङ्गा र निजहरूले लिई आएको घरेलु हतियार (भरुवा बन्दुक) को बट समेतको भागले प्रहार गरी बीभत्स तरिकाले हत्या गरेको।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad