समाज


अर्काकी श्रीमतीलाई मोटरसाइकल चढाएको विवादमा गयो ज्यान

हत्यापछि फरार भएका ३ जना अभियुक्त ३ महिनापछि पक्राउ
अर्काकी श्रीमतीलाई मोटरसाइकल चढाएको विवादमा गयो ज्यान

नेपालखबर
कात्तिक ३, २०८१ शनिबार ८:३७, काठमाडौँ

एक व्यक्तिको हत्यामा संलग्न भएको आरोपमा नवलपरासी पश्चिम प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

नवलपरासी पश्चिमको पाल्हिनन्दन गाँउपालिका- ५ घर भएका २० वर्षीय रोशन भनिने सूर्यकुमार बढईको हत्यामा संलग्न भएको आरोपमा सोही ठाउँका एक किशोरसहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी रेशम बोहोराले जानकारी दिए। 

पक्राउ पर्नेमा पाल्हिनन्दन गाउपालिका- ६ का ३० वर्षीय जोगिन्दर बढई, सोही ठाउँमा २० वर्षीय सुरज राजभर र अर्का एक १७ वर्षका किशोर छन्। 

गएको साउन १४ गते राति आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा बढईको हत्या भएको थियो।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले सार्वजनिक गरेको विवरण अनुसार साउन १४ गते राति आफ्नै भाइसँग सुतिरहेको बेला बढईमाथि धारिलो हतियार प्रहार भएको थियो। उनको घटनास्थलमै मृत्यु भएको थियो। घटनापछि हत्याराहरु फरार भएका थिए। 

घटना हुनुभन्दा तीन दिनअघि साउन ११ गते जोगिन्दर बढईकी श्रीमतीलाई मोटरसाइकलमा राखेर रोशन भनिने सूर्यकुमार बढईले आफन्तको घरमा पुर्‍याएका थिए। त्यसक्रममा बाटोमा जोगेन्दरसँग रोशनको भेट भएपछि विवाद सुरु भएको थियो। 

सो विवादपछि जोगिन्दरले रोशनसँग बदलाको भावना राखेको पाइएको प्रहरी अनुसन्धानबाट देखिएको छ। आफ्नी श्रीमतीलाई मोटरसाइकलमा चढाएको विषय जोगिन्दरले साथी सुरज राजभर र अर्का किशोरलाई पनि जानकारी गराएका थिए। 

त्यसपछि उनीहरुबीच रोशनलाई तह लगाउने सल्लाह भएको थियो। सोही बमोजिम साउन १३ गते बेलुकी गाउँको कुटिया माई मन्दिरमा बसेर उनीहरु गाँजा सेवन गरेका थिए। तयसक्रममा रोशनलाईसमेत उनीहरुले सोही स्थानमा बोलाएका थिए। 

रोशन मोटरसाइकलमा त्यहाँ पुगेपछि सामान्य छलफल भएर उनीहरु छुट्टिएका थिए। सोही राति १७ वर्षीय किशोरसहित जोगिन्दर र सुरजले स्थानीय पसलमा मादक पदार्थ खाएर रोशनको घर नजिके बगैचामा बसेर गाँजा सेवन गरेका थिए। 

गाँजा सेवनपछि जोगिन्दर बढईले साथमा लिई आएको पखुवा (धारिलो हतियार) लिएर रोशन सुतेको ठाउँमा गएका थिए। 

साउन १४ गते बिहान झण्डै चार बजे उनले ओछ्यानमै गएर रोशनको घाँटीमा प्रहार गरेका थिए। त्यसपछि उक्त हतियार ट्वाईलेटको सेफ्टिट्यांकीमा लुकाएर जोगिन्दर यूपी ५६ एए २७८९ नम्बरको मोटरसाइकल चढेर भारततर्फ भागेका थिए। घटनापछि पनि सुरज र ती किशोर गाउँमै बसेका थिए। 

प्रहरी घटनाको अनुसन्धानमै थियो। सोही क्रममा यही असोज २३ गते जोगिन्दर बढई आफ्नो घरमा आएको सूचना पाएपछि पुगेको प्रहरीले उनलाई पक्राउ गरेको हो। जोगिन्दरकै सूचनाको आधारमा घटनामा संलग्न देखिएका अन्य दुईजना समेतलाई पक्राउ गरिएको नवलपरासी प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad