प्रशासनले ‘बिचौलिया’ को संज्ञा दिँदै धरपकड गरेको विरोधमा लेखापढी व्यवसायीले देशभरका मालपोत कार्यालयमा कामकाज ठप्प पारेका छन्।
व्यवसायीले ‘पेन डाउन’ गर्दै अनलाइन प्रणाली (भू-सेवा आईडी) बन्द गरिदिएपछि मालपोतको सेवा प्रवाह पूर्ण रूपमा अवरुद्ध भएको हो। नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनका अनुसार, मालपोत कार्यालयमा हुने कामका लागि सुरुमा भू-सेवा केन्द्रमार्फत अनलाइन फाराम भर्नुपर्ने र कागजात तयार गर्नुपर्ने हुन्छ।
व्यवसायीले सो प्रणाली (पाम सफ्टवेयर) मा तथ्याङ्क प्रविष्टि गर्न छोडेपछि जग्गा पास, नामसारी लगायतका सबै प्रशासनिक काम रोकिएको नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन मोरङ अध्यक्ष कन्चन न्यौपानेले जानकारी दिए।
पछिल्लो समय प्रशासनले मालपोत कार्यालयमा सक्रिय रहेका व्यक्तिलाई बिचौलिया भन्दै धरपकड र कानुनी कारबाही सुरु गरेको छ। तर व्यवसायीहरूले राज्यलाई धरौटी बुझाएर, अनुमति लिएर र ऐन बमोजिम काम गरिरहेको बताएका छन्।
‘हामीलाई बिचौलियाको संज्ञा दिएर धरपकड गरिएकाले हामीले काम रोकेका हौँ,’ अध्यक्ष न्यौपानेले भने, ‘राज्यले धरौटी राखेर हामीलाई भू-सेवा केन्द्र चलाउन दिएको हो, यो कुनै अवैध काम होइन।’

आन्दोलनका कारण विशेषगरी कोसी प्रदेशका मालपोत कार्यालयमा सेवाग्राही मर्कामा परेका छन्। कोसी प्रदेशमा मात्रै करिब एक हजारको संख्यामा लेखापढी व्यवसायी रहेका छन्।
उनीहरूले लेखापढी व्यवसायी सम्बन्धी ऐन २०५१ (संशोधित २०५०) ले दिएको व्यवस्था अनुसार आफूहरूको पेशा सुरक्षित हुनुपर्ने माग राखेका छन्। माग सम्बोधन नभएसम्म र धरपकड नरोकिएसम्म आन्दोलन जारी रहने बताएका छन्।
कामकाज ठप्प हुँदा दैनिक लाखौँ रुपैयाँ राजस्व गुम्नुका साथै सर्वसाधारणले सास्ती खेप्नुपरेको छ। देशभर ३० हजार लेखापढी कानुन व्यववसायी रहेको तथ्यांक छ।
Shares

प्रतिक्रिया