समाज


भीपी अग्रवाल फाउन्डेसनले गर्‍यो सामुदायिक विद्यालयका ५ शिक्षकलाई पुरस्कृत

भीपी अग्रवाल फाउन्डेसनले गर्‍यो सामुदायिक विद्यालयका ५ शिक्षकलाई पुरस्कृत

नेपालखबर
साउन ४, २०८३ सोमबार २०:४१, काठमाडौँ

भी.पी. अग्रवाल साइन्स फाउन्डेसनले देशभरका सामुदायिक विद्यालयमा अध्यापन गराउने उत्कृष्ट ५ जना शिक्षकलाई जनही २ लाख २२ हजार २२२ रुपैयाँ नगद पुरस्कार र सम्मान गरेको छ।

फाउन्डेसनले आज (सोमबार) एक औपचारिक कार्यक्रमको आयोजना गरी नेपाली, अंग्रेजी, गणित, सामाजिक अध्ययन र विज्ञान विषयमा अध्यापन गराउने देशभरका सामुदायिक विद्यालयका शिक्षकमध्येबाट छनोट गरी उत्कृष्ट ५ जनालाई पुरस्कृत गरेको हो।

पुरस्कृत हुने शिक्षकहरुमा नेपाली विषयमा काठमाडौँको कीर्तिपुरमा रहेको मंगल माविका शिक्षिका अन्जना महर्जन, अंग्रेजी विषयमा सोही विद्यालयकी शिक्षिका शर्मिला प्रधान, गणित विषयमा नारायणी नमुना मावि भरतपुर चितवनका राजकुमार कडेल, सामाजिक अध्ययन विषयमा काठमाडौँको टुसालमा रहेको श्रम राष्ट्रिय माविका प्रकाश आचार्य र विज्ञान विषयमा सोही माविका मकुन्दप्रसाद काफ्ले रहेका छन्।

पुरस्कृत शिक्षकहरूलाई फाउन्डेसनका अध्यक्ष दिलीप अग्रवाल तथा उपाध्यक्ष समेत रहेकी प्रा.डा. अग्रवालकी श्रीमती ललिता अग्रवाललगायत पुरस्कार र सम्मान प्रदान गरेकी थिइन्।

पुरस्कार शिक्षासेवी, अध्येता, समाजसेवी तथा संविधानसभा सदस्य स्वर्गीय प्रा.डा.भी.पी. अग्रवालको नाममा स्थापना भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै फाउन्डेसनका अध्यक्ष दिलीप अग्रवालले स्वर्गीय प्राडा विश्वनाथ प्रसाद (भी.पी.) अग्रवालले शिक्षामा सुधार नभई देशको विकास र व्यक्तिको जीवनस्तर सहज नहुने बताउने गरेकाले उनको सम्झनामा फाउन्डेसन स्थापना गरी शिक्षाको ज्योति छर्न अहोरात्र खटिने उत्कृष्ट शिक्षकलाई सम्मान गरिएको बताए। अध्यक्ष अग्रवालले शिक्षकलाई पुरस्कृत र सम्मान गर्ने कार्यलाई फाउन्डेसनले निरन्तरता दिने बताए।

शिक्षक पुरस्कृत गर्नको लागि फाउन्डेसनले देशभरबाट आवेदन आह्वान गरेको थियो। यसरी प्राप्त भएका आवेदनबाट फाउन्डेसनले तयार पारेको मापदण्डका आधारमा शिक्षक छनोट गरी पुरस्कृत गरिएको पुरस्कार छनोट समितिका संयोजक केदार बहादुर अधिकारीले बताए।

अधिकारी नेपाल सरकारका अवकाशप्राप्त सचिव हुन्। उनले सार्वजनिक सूचना प्रकाशन गरिएको, छनोट प्रक्रिया सुरु हुनुभन्दा अगाडिनै मापदण्ड बनाइएको, शिक्षकहरूले पठाएको मापदण्डमा विद्यार्थी पासको संख्या लगायतका विषयमा शिक्षा विभागसँग संपरीक्षण गरिएको र निस्पक्षता कायम गर्न सबै उपाय अपनाइएको बताए।

फाउन्डेसनका महसचिव मनोज अग्रवालले विज्ञान र समाजबीचको पुललाई अझ प्रगाढ बनाउन प्रतिष्ठान स्थापना गरी शिक्षकलाई पुरस्कार र सम्मान गर्न सुरु गरिएको बताए।

पुरस्कृत शिक्षकहरुको तर्फबाट बोल्दै शिक्षिका अन्जना महर्जनले पुरस्कारले आफूलाई जिम्मेवारीबोधमा अझ गम्भीर बनाएको र फाउन्डेसनले आफूमार्फत सम्पूर्ण शिक्षकको सम्मान गरिएको अर्थमा आफूले बुझेको बताइन्।

यस्तै, पुरस्कृत अर्का शिक्षक राजकुमार कडेलले फाउन्डेसनले सामुदायिक विद्यालयका शिक्षकलाई सम्मान गरेर देशभरका सामुदायिक विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थीलगायत सम्पूर्ण शिक्षा क्षेत्रलाई सम्मान गरेको बताए।

फाउन्डेसनले देशका कुनाकाप्चासम्ममा रहेका विद्यालय तहका शिक्षकहरुले पनि देशव्यापी प्रतिस्पर्धामा सहभागी भएर पुरस्कार पाउन सक्ने अवस्था सिर्जना गरेको थियो।

नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक शिक्षा विषयमा प्रवेशिका परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यालयका माध्यामिक तहका शिक्षकलाई प्रोत्साहन गर्न यसरी पुरस्कार दिइएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad