समाज


सामान खरिदमा हुने गरेको ‘सेटिङ’को विरोध गर्दा डा.प्रतिभाको ३ महिनामै काज सरुवा

सामान खरिदमा हुने गरेको ‘सेटिङ’को विरोध गर्दा डा.प्रतिभाको ३ महिनामै काज सरुवा

सुमन सुस्केरा
चैत २४, २०८२ मंगलबार १२:२०, विराटनगर

कोसी प्रदेश अन्तर्गतका स्वास्थ्य संस्थाहरूको सामान खरिदमा हुने ‘सेटिङ’ र अनियमितताको विरोध गर्दा कर्मचारीमाथि राजनीतिक प्रतिशोध साँध्न थालिएको छ। पछिल्लो पटक ताप्लेजुङ अस्पतालमा कार्यरत एक चिकित्सकलाई खरिद प्रक्रियामा असहमति जनाएकै कारण तीन महिना नपुग्दै मन्त्रालयले काजमा सङ्खुवासभा पठाएको छ।

इनरुवा जिल्ला अस्पतालबाट २०८२ कात्तिक २६ गतेको पत्रअनुसार डा.प्रतिभा महतोलाई ताप्लेजुङ जिल्ला अस्पताल पठाइएको थियो। 

पढ्नका लागि दुर्गम सरुवा भएर गएदेखि नै वेथितीको विषयमा प्रतिभाले कुरा उठाउन थालेपछि  मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. प्रणाम जयरुले  मन पराएनन्। डा.जैरु करिब एक वर्ष पहिला मात्रै त्यहाँ काज सरुवा भएका थिए।

सङ्घीय सरकार मातहतको आठौँ तहका डा.जयरुले आफू अनुकूलको ठेक्का मिलाउने, दिलाउने तथा आर्थिक अपारदर्शीताको रूपमा काम गरेको भन्दै उनको आलोचना हुँदै आएको थियो। खरिद प्रक्रियामा आफ्नो मान्छेलाई पार्ने, दलहरूलाई मिलाउने, मन्त्री र सचिव तथा दलका नेताहरू मात्रै मिलाउने तर पारदर्शी काम नगरेपछि त्यहाँ डा.जयरुको शैलीको आलोचना हुँदै आएको छ। 

ताप्लेजुङ जिल्ला अस्पतालमा खरिद समितिमा नबस्ने भनेर डा.प्रतिभाले निवेदन नै दिएपछि अहिले विवाद सतहमा आएको छ।

मन्त्रालयका केही उच्च अधिकारीको मिलेमतोमा सीएआरएम लगायतका स्वास्थ्य उपकरण खरिद गर्दा ‘स्पेसिफिकेसन’ नै लक गरेर निश्चित भेन्डरलाई दिन खोजिएको आरोप मेसु माथि लाग्दै आएको छ। डा.प्रतिभा सहितका अन्य अधिकृत समेत खरिदमा नबस्ने भएपछि प्रतिभालाई सङ्खुवासभा काज सरुवा गरिएको हो। 

‘मेरो करियर अझै ३० वर्ष बाँकी छ, सङ्घको मान्छे काठमाडौँ फर्केला तर प्रदेशको कर्मचारी भएकाले मैले यहाँको जबाफदेहिता लिनुपर्छ भन्दा मलाई तारो बनाइयो,’ डा.महतोले भनिन्।

अस्पतालका मेसु डा. जयरुको दरबन्दी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (सङ्घ अन्तर्गत)  हो। उनी विगत २०७९ सालदेखि कोसी प्रदेशमा काजमा रहेका छन्।

जयरु यसअघि जिल्ला अस्पताल सङ्खुवासभामा पनि मेसुको रूपमा कार्यरत थिए। त्यहाँ पनि उनको कार्यशैलीको विरोध हुँदै आएको थियो। ‘सेटिङ’ मिलाउन जान्ने भएकै कारण सङ्घका कर्मचारीलाई काजमा टिकाइराख्ने र प्रदेशका कर्मचारीलाई अनावश्यक ठाउँमा सरुवा गर्ने प्रवृत्ति बढेको भन्दै प्रदेशका कर्मचारीहरूबाट विरोध हुँदै आएको छ। 

अस्पतालले खरिद गर्न लागेको मेसिन यसअघि इनरुवा अस्पतालमा खरिद गरिएको थियो। त्यो अस्पतालमा विवाद भएको मेसिन खरिद गर्ने सोही सप्लायर्स (भेन्डर)बाट ल्याउन लागिएको स्रोतको दाबी छ। जुन खरिद प्रक्रियामा यसअघि नै मुद्दा परिसकेको छ।

विवादास्पद उपकरण र प्रक्रियामा सामेल हुन डा प्रतिभाले इन्कार गरेकै कारण उनलाई मन्त्रालयले काजमा सरुवाको पत्र थमाएको हो।  

सेटिङ मिलाउन तथा काज सरुवा गराउने काममा जयरुले नेपाली काँग्रेस ताप्लेजुङका सांसद तथा पूर्व मन्त्री खगेनसिं हाङ्गामलाई सँगै लिएर मन्त्रीको चेम्बरमा केही दिन अघि पुगेका थिए। त्यसपछि प्रतिभाको चैत १९ गते काज सरुवा भएको एक कर्मचारीले बताए। 

पहिलादेखि नै आफू निकटका कर्मचारीहरूलाई एकै ठाउँमा राख्ने र  पहुँच नभएका कर्मचारीहरूलाई दु:ख दिने विकृति स्वास्थ्य मन्त्रीमा मानबहादुर लिम्बुले निरन्तरता दिएका छन्।

जसरी हुन्छ खरिदको टेन्डर आफू निकटलाई पार्नको लागि मन्त्री तथा उच्च अधिकारीहरू जिल्ला अस्पतालहरूमा  दबाब दिने गरेको कर्मचारीहरू बताउँछन्। मन्त्रालय स्रोतका अनुसार, स्वास्थ्य मन्त्री लिम्बुले सम्बन्धित जिल्ला अस्पतालका स्टोर हेर्ने कर्मचारीको नम्बर नै लिएर राखेका छन्, फोन गरेर आफू निकटलाई काम दिन दबाब बढाउने गरेका छन्।

ताप्लेजुङ जिल्ला अस्पतालका मेसु जैरुले भने सामान खरिद प्रक्रिया नै सुरु नभएको बताएका छन्।

उनले भने, ‘हामीले खरिदको प्रोसेस नै अगाडि बढाएका छैनौँ। अहिले स्वास्थ्य मन्त्रालयको आपूर्ति विभागबाट सामानको स्पेसिफिकेसनमा मात्र आइपुगेको छ।’

अस्पतालको वास्तविक विवाद मेसु को बन्ने भन्नेमा रहेको उनको दाबी छ। प्रदेशका डाक्टरले प्रदेश स्तरकै डाक्टरलाई मेसु बनाउनुपर्ने अडान राख्नु र अस्पतालमा कार्यरत सिनियर डाक्टर आफू भएको कारण आफूले जिम्मेवारी लिइरहेको कारण समस्या भएको उनले स्वीकार गरे।

यो घटनालाई लिएर प्रदेशका सरकारी चिकित्सकहरूको सङ्गठन र अन्य सरोकारवालाहरूले मन्त्रालयको ध्यानाकर्षण गराउने तयारी गरेका छन्।

‘आज एक जना प्रतिनिधि पात्रमाथि यस्तो भयो, भोलि अरू इमानदार कर्मचारीमाथि पनि यही हुनसक्छ’ प्रदेशका एक डाक्टरले भने, ‘यो विषय डा प्रतिभासँग मात्रै जोडिएको छैन, भोली सबै प्रादेशिक डाक्टरहरू समस्यामा पर्ने अवस्था आउँदै छ।’

प्रदेश चिकित्सक सङ्घका संयोजक  डा.सन्तोष राईले अहिले सबै नीतिगत रूपमा नै हुने विकृतिलाई रोक्नु पर्ने बताए।  एक ठाउँमा सरुवा भएको ४ महिना नपुग्दै हुने काज सरुवाले कुनै सेवा प्रवाहमा सुधार नल्याउने बताए।

कर्मचारी प्रशासनमा देखिएको यो विकृतिले गर्दा लोकसेवा उत्तीर्ण गरेर आएका नयाँ र स्थायी चिकित्सकहरूले अवसर नपाएको र स्वास्थ्य मन्त्रालयमा बिचौलियाहरूको बलियो पकड छ। बिचौलियाले पुराना डाक्टरहरूलाई सरुवा गर्न लाग्यो भने रोक्ने र नयाँलाई कार्यालयको प्रमुख हुनै नदिने गरेको पाइएका छ।

प्रदेशका अस्पतालहरूलाई ’कमाऊ अड्डा’ को रूपमा प्रयोग गर्ने गिरोह सक्रिय रहेको कर्मचारी नै बताउँछन्। पछिल्लो सरुवामा मात्रै विभिन्न मन्त्री मुख्यमन्त्री, उपसभामुख तथा विभिन्न उच्च अधिकारीहरूको दववाको कारण वर्षौँदेखि एउटै कार्यालयमा रहँदै आएको कर्मचारीहरूको सरुवामा दबाब पछि रोकिएको छ। ६ जनालाई विभिन्न जिल्लाहरूमा सरुवा गरिएकोमा उनीहरूकै दबाबका कारण सरुवा नै क्यान्सिल गरिएको मन्त्रालयका एक अधिकारीले बताए।

अहिले पनि कोशी प्रदेशमा भनसुन र माथिल्लो पहुँच देखाएर बर्षौ देखि एउटै कार्यालयमा बस्ने कर्मचारीहरू झन्डै ७० प्रतिशत रहेको सरकारी तथ्याङ्क छ। यसलाई मन्त्रालयले क्रोनिक कर्मचारी भनेको छ। 

१०४४ जनाको स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य क्षेत्रको दरबन्दी रहेकोमा ७० प्रतिशतलाई क्रोनिक कर्मचारीको रूपमा राखिएको भए पनि यस्ता कर्मचारी कुनै न कुनै माथिल्लो तह मन्त्री, सचिव, मुख्यमन्त्री तथा सभामुख उपसभामुखका आफ्नो मान्छे भनेर सरुवा रोक्न पुग्ने गरेका छन्। एक कर्मचारीले भने, ‘यस्ता कर्मचारी वर्षौँदेखि एकै ठाउँमा बस्ने, काम नगर्ने, खरिददेखि सबैमा सेटिङ मिलाउने काममा सक्रिय देखिएका छन्।’

कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा यदुचन्द्र घिमिरेले अहिले पनि जिल्ला अस्पतालका धेरै मेडिकल सुपरिटेन्डेन्ट सङ्घीय सरकारबाट काजमा रहेकोले त्यसलाई व्यवस्थित गर्ने काम मुख्यमन्त्री कार्यालयको हुने बताए।

उनले ताप्लेजुङको विवादको बारेमा आफूलाई जानकारी आएको बताए । डा जयरुको बारेमा पहिलादेखि नै सकारात्मक सूचना नआएकोले त्यसलाई व्यवस्थित गर्ने काम सुरु भएको बताए।  सचिव घिमिरेले अस्पताल प्रमुखको जिम्मेवारी तोक्ने अन्तिम अधिकार मुख्यमन्त्री कार्यालय र प्रमुख सचिवमा निहित हुने भएकाले आफूले मन्त्री र मुख्य सचिवसँग समन्वय गरेर एउटा उचित निकास निकाल्ने प्रतिबद्धता जनाएका छन्। उनले  मन्त्रालयले स्वास्थ्य क्षेत्रको सुधारको लागि धेरै काम गर्न बाँकी रहेको जानकारी दिँदै अब यसलाई आफूले मात्रै नभई मन्त्री र समग्र सबैको सहयोग चाहिने उल्लेख गरे।
 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad