समाज


वीरगन्ज झडप: पर्साका एसपीसहित ४३ जना घाइते

वीरगन्ज झडप: पर्साका एसपीसहित ४३ जना घाइते

नेपालखबर
चैत ३१, २०८१ आइतबार ७:२४, वीरगन्ज

हुनमान जन्मोत्सवका अवसरमा वीरगन्जमा शनिबार दुई  समुदायबीच झडप हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका केही प्रहरी घाइते भएका छन्। 

दुवै समूहबीच ढुंगा हानाहान हुँदा पर्साका प्रहरी प्रमुख गौतम मिश्रसहित १७ जना प्रहरी घाइते भएका हुन्। त्यस्तै सशस्त्र प्रहरीतर्फ पर्साका प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहसहित आठ जना सशस्त्र प्रहरी घाइते भएका छन्। 

पर्साका प्रहरी प्रमुख गौतमले आफूसहित १७ जना नेपाल प्रहरी घाइते भएको जानकारी दिए। 

‘मेरो दाहिने हातमा चोट लागेको छ’, उनले भने, ‘मेरो त त्यति धेरै ठूलो चोटपटक भएको छैन। अन्य प्रहरी कर्मचारीको भने धेरै चोट देखिएको छ।’  वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईँ पनि झडपमा घाइते भएका छन्। 

पर्सा प्रहरी प्रमुख मिश्रले ढुंगा हानाहानका क्रममा सर्वसाधारणतर्फ १२ घाइते भएको जानकारी दिए।

नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा उदयनारायण सिंहले नारायणी अस्पतालमा नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित सर्वसाधारण गरेर ४३ सर्वसाधारणको उपचार भइरहेको बताए।
 
‘शनिबारको झडपमा घाइते भएका ४३ भन्दा धेरैको यहाँ उपचार भइरहेको छ’, उनले भने, ‘कतिपय सामान्य उपचारपछि घर पनि फर्किसक्नुभएको छ। केही घाइतेको भने यहाँ उपचार भइरहेको छ।’

प्रवक्ता सिंहले घाइते भएकाहरूको उपचारमा कमजोरी हुन नदिएको जानकारी दिए। ‘अधिकांशको टाउको र छातीमा ढुङ्गा वा इँटाले लागेर घाइते हुनुभएको छ’, भने। 

सूर्या हस्पिटल प्रालिका प्रमुख सरोज सिंहले आफ्नो अस्पतालमा प्रहरी नायब उपरीक्षक सिंहसहित उपचार भएको जानकारी दिए। ‘एक जना घाइतेको खुट्टा भाचिँएको छ। उहाँको उपचार जारी छ’, उनले भने, ‘अन्य घाइते भने सामान्य उपचारपछि डिस्चार्ज भएका छन्।’

जिल्ला प्रशासन कार्यालय पर्साले तनावको अवस्थालाई मध्यनजर गर्दै शनिबार बेलुकादेखि आइतबार बिहान १२ः०० बजेसम्मको अवधिमा कफ्र्यु आदेश जारी गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad