सुर्खेतको वीरेन्द्रनगरमा रहेको मध्यपश्चिम विश्वविद्यालयमा पनि आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको हुँदैछ। विश्वविद्यालयको केन्द्रित क्याम्पसमा अहिले मतदान जारी छ।
यो निर्वाचनबाट स्ववियुका तीन पदाधिकारीसहित १७ सदस्यीय कार्यसमिति चयन हुनेछ।
स्ववियु निर्वाचन कार्यविधिअनुसार अध्यक्ष, सचिव र कोषाध्यक्ष गरी तीन पदाधिकारी र सात जना सदस्य मतदानाबट प्रत्यक्ष निर्वाचित हुनेछन् भने सातजना सदस्य समानुपातिक पद्धतिबाट निर्वाचित हुनेछन्।
दुवै प्रणालीबाट निर्वाचित १४ जना सदस्यमध्येबाट कार्यसमितिले एक उपाध्यक्ष र एक सहसचिव चयन गर्ने व्यवस्था छ। त्यसपछि कार्य समितिमा पाँच पदाधिकारी र १२ जना सदस्य रहनेछन्।
मध्यपश्चिम विश्वविद्यालयमा चार हजार तीन सय ८३ जना मतदाता छन्। स्ववियु नेतृत्वविहीन भएको ६ वर्षपछि निर्वाचन हुन लागेको हो।
८ भदौ २०७३ मा भएको पहिलो स्ववियु निर्वाचनबाट निर्वाचित पदाधिकारीको अवधि २०७६ मा सकिएपछि एमयूको स्ववियु नेतृत्वविहीन छ।२०७३ भदौमा सम्पन्न पहिलो निर्वाचनबाट कांग्रेसनिकट नेविसंघका झक्कबहादुर शाही स्ववियु अध्यक्षमा निर्वाचित भएका थिए।
तर, तत्कालीन उपकुलपति उपेन्द्र कोइरालाले कार्यकाल पूरा नहुँदै २०७५ मंसिरमा स्ववियु विघटन गरिदिएका थिए। तत्कालीन रजिस्ट्रारलाई बर्खास्त गरिएको विषयमा स्ववियुले विरोध जनाएपछि कोइरालाले उक्त कदम चालेका थिए।
Shares

प्रतिक्रिया