समाज


चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था २ महिनाका लागि बन्द

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था २ महिनाका लागि बन्द

नेपालखबर
पुस १८, २०८२ शुक्रबार ५:४८, मुस्ताङ

हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा सञ्चालित शैक्षिक संस्था दुई महिनाका लागि बन्द भएका छन् । यहाँस्थित माथिल्लो मुस्ताङका शैक्षिक संस्था हिउँदयाममा घुम्ती कक्षा संञ्चालन गर्न बेसी झर्छन भने यहाँको तल्लो मुस्ताङ र मध्यमुस्ताङका शैक्षिक संस्थाहरु हिउँदयाममा बन्द हुन्छन्।

अत्यधिक चिसो बढेसंगै यहाँका तीन पालिकामा सञ्चालनमा रहेका सरकारी सामुदायिक, संस्थागत र गुम्बा विद्यालयमा जाडो छल्न दुई महिनाका लागि हिउँदे बिदा गरेका शिक्षा विकास तथा समन्वय एकाइका कार्यालय प्रमुख रामेश्वर लामिछाने जानकारी दिए।

उनका अनुसार यहाँस्थित माथिल्लो मुस्ताङका विद्यालय अत्यधिक चिसोका कारण जाडो छल्न कात्तिक अगावै घुम्ती कक्षा चलाउन बेसी झरेको र यहाँको बारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका शैक्षिक संस्था पुस १५ गतेदेखि बन्द भएको छ।

एकाइ प्रमुख लामिछानेले बताएअनुसार यहाँको तल्लो क्षेत्रका तीन पालिकाका शैक्षिक दुई महिना जाडो बिदा गरेर फागुनको पहिलो र दोस्रो हप्तादेखि नियमित शैक्षिक पठनपाठन सञ्चालन गरिने छ। माथिल्लो मुस्ताङका शैक्षिक संस्थाहरुले विद्यार्थीहरुलाई बेसीको पारिलो स्थानमा राखेर शैक्षिक पठनपाठन सञ्चालन गरिराखेको एकाइ प्रमुख लामिछानेले उल्लेख गरे।

यहाँका शैक्षिक संस्थाहरुले हिउँदयामको जाडो मौसममा सम्भावित हिमपात र अत्यधिक चिसोका कारण विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकूल असर पु¥याउन सक्ने भएकाले बर्सेनि मुस्ताङका शैक्षिक संस्थाले हिउँदयाममा दुई महिना विद्यालय बन्द गरी विद्यार्थीलाई हिउँदे जाडो बिदा दिने चलन छ।

बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका शिक्षा शाखा प्रमुख रेखा पन्तका अनुसार यहाँ पालिकामा रहेका तीन सरकारी सामुदायिक र एक गुम्बा विद्यालय गरी चार सरकारी तथा गुम्बा विद्यालयहरु अत्यधिक चिसोका कारण दुई महिना अर्थात ६० दिनका लागि हिउँदे बिदा दिने अनुमति प्रदान गरिएको बताए।

प्रमुख पन्तका अनुसार यहाँका सरकारी विद्यालय पुसको ८ गतेदेखि फागुन ८ गतेसम्मका लागि जाडो बिदा दिने गरी छुसाङ, कागबेनी, र झारकोटमा रहेका शैक्षिक संस्था पूर्ण रुपमा बन्द भइसकेको बनाए।

यहाँ शिक्षकहरुका लागि सरकारी बिदा ४५ दिन, ५ दिन स्थानीय बिदा र १० दिन सार्वजनिक बिदामा अध्यापन गराएवापत दुई महिना विद्यालय बन्द गर्ने प्रस्ताव स्वीकृत गरिएको उनको भनाइ छ।

घरपझोङ गाउँपालिकामा सञ्चालनमा रहेका सरकारी सामुदायिक, निजी संस्थागत र गुम्बा विद्यालयहरु अत्यधिक चिसो बढेका कारण दुई महिनाका लागि विद्यालय बन्द गरेको शिक्षा शाखा प्रमुख शिव पुरीले बताए।

प्रमुख पुरीका अनुसार घरपझोङ गाउँपालिकामा चालु शैक्षिक सत्रको अर्धवार्षिक परीक्षा सकेर पुस १५ गतेदेखि फागुन २० गतेसम्मका लागि विद्यार्थीलाई हिउँदे बिदा दिएको बताए।

यहाँ विद्यालयमा विद्यार्थीलाई जाडो बिदा दिएता पनि त यहाँका शिक्षक/शिक्षिका र शैक्षिक प्रशासन शाखा भने पुस २० गतेपछि मात्रै बन्द हुने शिक्षा शाखा प्रमुख गिरीको भनाइ छ।

थासाङ गाउँपालिकाअन्तर्गत शैक्षिक संस्था अत्यधिक चिसोका कारण बन्द भएको त्यहाँका शिक्षा शाखा प्रमुख धर्म खनालले जानकारी दिए । यहाँका सामुदायिक निजी र गुम्बा विद्यालयलाई फागुन १ गतेदेखि विद्यालय खुल्ने गरी ४५ दिनका लागि हिउँदे बिदा दिइएको उनको भनाइ छ।

योसँगै घुम्ती कक्षा सञ्चालनका लागि बेसी नझरेका मुस्ताङको तीन पालिकाका गरी १९ सरकारी सामुदायिक, निजी र धार्मिक गुम्बा विद्यालय अत्यधिक चिसोका कारण बन्द भएका हुन् । यहाँको बारागुङ मुक्तिक्षेत्रमा चार, घरपझोङमा आठ र थासाङ गाउँपालिकामा सात विद्यालय चिसो मौसमका कारण बन्द भएका हुन्।

यसअघि माथिल्लो मुस्ताङस्थित लोमान्थाङ गाउँपालिकाका तीन सामुदायिक र चार गुम्बा विद्यालय अत्यधिक चिसोका कारण कात्तिक अगावै साविक स्थानको विद्यालयले छोडेर पोखराका विभिन्न स्थानमा घुम्ती कक्षा चलाइरहेका छन्।

माथिल्लो मुस्ताङस्थित लोघेकर दामोदरकुण्ड गाउँपालिकाअन्तर्गत तीन सामुदायिक र दुई धार्मिक गुम्बा विद्यालय जाडो छल्न बेसी झरिसकेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad