समाज


मुक्तिनाथमा निर्माण भयो चक्रपथ सडक

मुक्तिनाथमा निर्माण भयो चक्रपथ सडक

नेपालखबर
पुस १५, २०८२ मंगलबार १४:२६, मुस्ताङ

प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गरेर वैकल्पिक मार्ग हुँदै माथिल्लो मुस्ताङ जान सकिने गरी यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १, २ र ३ नम्बर वडा जोड्ने (मुक्तिनाथ–तेताङ) चक्रपथ सडक निर्माण जारी छ।

चालुआवको पाँचमहिनामा यो सडकको भौतिक प्रगति ३९ प्रतिशत पुर्याइएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय गण्डकीअन्तर्गत पूर्वाधार विकास कार्यालयद्वारा यहाँको मुक्तिनाथ -पुराङ हुँदै झोङदेखि तेताङ जोड्ने १० किलोमिटर चक्रपथ सडक योजना कार्यान्वयनमा ल्याइएको हो।

यहाँस्थित मुक्तिनाथ–तेताङ जोड्ने छ मिटर चौडा वैकल्पिक सडकमार्ग विस्तार गर्न सात करोड एक लाख ५६ हजार रुपैयाँ लागतमा निर्माण कम्पनीले २०८१ साल साउन २९ गते यहाँको पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरेको थियो।

दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित सडक स्तरोन्नति तथा नयाँ ट्रयाक खोल्न कार्यालयले २०८३ साल साउन २९ गतेसम्म निर्माण कम्पनीलाई समयावधि तोकिएको छ।

मुक्तिनाथ–तेताङ जोड्ने सडकको ठेक्का सम्झौता मुताविक १० किलोमिटर सडकमध्ये ६।५ किलोमिटर नयाँ खोल्ने र ३.५ किलोमिटर सडक स्तरोन्नति गर्ने योजना रहेको पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर जगदीशचन्द्र जोशीले जानकारी दिए।

उनका अनुसार यहाँ सडकको नयाँ ट्रयाक खोल्ने कार्य सकिएता पनि गत असोजको वर्षाले आंशिक रूपमा क्षति पुर्याएकाले यस स्थानमा सडक मर्मतसम्भार गर्नुपर्ने देखिएको छ।

वारागुङ मुक्तिक्षेत्रको वडा १, २, ३ र ४ वडालाई चत्रपथ सडकले जोड्नेगरी मुक्तिनाथ सडक स्तरोन्नति कार्य भइरहेको सबइन्जिनियर जोशीले जानकारी दिए । उनका अनुसार यहाँको मुक्तिनाथ–तेताङ सडक योजनाको ३९ प्रतिशत भौतिक प्रगति हुँदा वित्तीय प्रगति २८.५८ प्रतिशत छ । हालसम्म निर्माण कम्पनीले दुई करोड ५६ हजार रुपैयाँ भुक्तानी लगिसकेको छ।

प्रदेश सरकारद्वारा अघि बढाइएको मुक्तिनाथ–तेताङ सडक स्तरोन्नति पूरा भएमा माथिल्लो मुस्ताङका स्थानीय नागरिक तथा पर्यटक कागबेनी झरेर खिङ्गा हुँदै मुक्तिनाथ जानु नपर्ने जनाइएको छ।

छुसाङदेखि माथिल्लो भेगका नागरिक मुक्तिनाथ जानुपरेमा छुसाङबाट तेताङ हुँदै वैकल्पिक चक्रपथ सडक प्रयोग गरेर मुक्तिनाथ जान सजिलो हुने यसबाट माथिल्लो मुस्ताङबाट मुक्तिनाथ जाने पर्यटक तथा स्थानीय नागरिकका लागि दूरीमा छोटिने बताइएको छ।

यो सडक सम्पन्न भएपछि वारागुङ मुक्ति क्षेत्रको छेङ्गुर, झोङ, पुडाक र तेताङ गाउँका स्थानीय नागरिकलाई यातायात आवागमनमा निकै सहज हुनेछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad