बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन भएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार उनी ८० वर्षको उमेरमा मंगलबार बिहान बंगलादेशको राजधानी ढाकामा बितेकी हुन्।
बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) की अध्यक्ष खालिदा देशकी पहिलो प्रधानमन्त्री पनि थिइन्।
धेरै वर्षदेखि छातीको संक्रमण, कलेजो, मिर्गौला, मधुमेह, बाथ र आँखाको समस्याबाट पीडित खालिदा २० दिनदेखि भेन्टिलेटरमा थिइन्। उपचारका क्रममा स्थानीय समयअनुसार मंगलबार बिहान ६ बजे उनको निधन भएको उनका परिवार र पार्टीले जानकारी दिएका छन्।
भारतमा जन्म, बंगलादेशमा पहिलो महिला प्रधानमन्त्री
खालिदा जियाको जन्म सन् १९४५ मा जलपाइगुडीमा भएको थियो। जुन ठाउँ त्यतिबेला अविभाजित भारतको भाग थियो।
भारत र पाकिस्तानको विभाजनपछि भारतीय भागलाई 'पश्चिम बंगाल' नाम दिइयो। यसैबीच पूर्वी बंगाल पाकिस्तानको हिस्सा बन्यो। पछि १९७१ डिसेम्बर १६ मा पूर्वी बंगालले स्वतन्त्रता प्राप्त गर्यो र बंगलादेश बन्यो।
यसपछि खालिदा र उनको परिवार दिनाजपुर (अहिले बंगलादेशमा) सरे।
उनले सुरुमा दिनाजपुर मिसनरी स्कुलमा पढिन्। प्राथमिक शिक्षा पूरा गरेपछि उनले सन् १९६० मा दिनाजपुर गर्ल्स स्कुलबाट म्याट्रिक पास गरेकी थिइन्।
सन् १९६० मै उनले बंगलादेशका तत्कालीन सैनिक जियाउर रहमानसँग विवाह गरिन्।
श्रीमान् रहमान सेनाबाट राजनीतिमा प्रवेश गरे र राष्ट्रपति बने
सन् १९६० मा उनका पति जियाउर पाकिस्तानी सेनामा क्याप्टेन थिए। रहमानले १९७१ को बंगलादेश मुक्ति युद्धका बेला पाकिस्तानी सेनाविरुद्ध विद्रोह गरे।
सन् १९७५ मा शेख मुजिबुर रहमान र उनको परिवारको हत्या भएपछि बंगलादेशमा बारम्बार सैन्य कु भयो। सेनाभित्र गुटबन्दी यति बढ्यो कि केही महिनाभित्र धेरैपटक सत्ता परिवर्तन भयो।
यस्तो अस्थिर वातावरणमा जियाउर रहमान बिस्तारै सबैभन्दा शक्तिशाली सैन्य नेताका रूपमा देखा परे र सन् १९७७ मा देशको राष्ट्रपति बने। राष्ट्रपति बनेको अर्को वर्ष उनले बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) नामको नयाँ राजनीतिक दल गठन गरे।
पतिको हत्यापछि खालिदा राजनीतिमा
सन् १९८१ मे ३० मा रहमानको हत्या गरियो। उनी चटगाउँमा रहेका बेला केही विद्रोही सेना अधिकारीहरूले विद्रोह गरे र गोलाबारीका क्रममा उनी मारिए।
रहनमानको मृत्युपछि बीएनपी पार्टी विघटनतिर जान थालेपछि पार्टीका नेताहरूले उनैकी पत्नी खालिदालाई नेतृत्व लिन आग्रह गरे। सुरुमा उनी अनिच्छुक थिइन्, तर १९८४ मा उनले पार्टीको जिम्मेवारी लिइन्।
उनको नेतृत्वमा बीएनपीले तानाशाही शासन विरुद्ध आन्दोलनको नेतृत्व गर्यो।
यसपछि १९९१ मा बंगलादेशले पहिलो लोकतान्त्रिक चुनाव भयो। जसमा खालिदा जियाको बीएनपी पार्टीले जित्यो र उनी बंगलादेशको पहिलो महिला प्रधानमन्त्री बनिन्। १९९६ मा उनले सत्ता गुमाइन्, तर २००१ मा फेरि प्रधानमन्त्री पदमा फर्किइन्।
उनले १९९१ देखि १९९६ र २००१ देखि २००६ सम्म दुईपटक बंगलादेशको प्रधानमन्त्री बनिन्।
खालिदा जियाको परिवारमा उनका जेठा छोरा तारिक रहमान, दुई बुहारी र तीन नातिनातिना छन्। उनका कान्छा छोरा अराफत रहमान कोकोको भने २०१५ मा मलेसियामा निधन भइसकेको छ।
शेख हसिनाकी प्रतिद्वन्द्वी थिइन् खालिदा

बंगलादेशको राजनीति दुई नेताको वरिपरि घुम्थ्यो : अवामी लिगकी शेख हसिना र बीएनपीकी खालिदा जियाबीच। सन् १९८० को दशकमा बंगलादेशमा सैन्य शासन थियो। हसिना र खालिदाले सैन्य शासनविरुद्ध सडकमा सँगै प्रदर्शन गरे।
सन् १९९० मा तानाशाह एरसादलाई पदच्युत गरेपछि बंगलादेशमा प्रजातन्त्र फर्कियो। यसपछि १९९१ मा भएको चुनावमा खालिदा जियाले जितेपछि शेख हसिनासँग उनको राजनीतिक प्रतिद्वन्द्विता सुरु भएको थियो।
सन् १९९० पछि बंगलादेशमा जब चुनाव हुन्थ्यो, तब सत्ता कि खालिदाको हातमा कि शेख हसिनाको हातमा जान्थ्यो। सञ्चारमाध्यमले यसलाई ‘बेगमहरूको युद्ध’ भन्थे।
२०१८ मा खालिदालाई १० वर्षको सजाय सुनाइएको थियो
२०१८ फेब्रुअरी ८ मा खालिदालाई ढाकाको विशेष अदालतले जिया अनाथालय ट्रस्टको नाममा सरकारी कोष हिनामिना गरेको मुद्दामा ५ वर्षको जेल सजाय सुनाएको थियो। उनका छोरा तारिक र अन्य पाँच जनालाई पनि १० वर्षको सश्रम कारावासको सजाय सुनाइएको थियो।
उनीहरूलाई २ करोड १० लाख बंगलादेशी टाका जरिवाना पनि सुनाइएको थियो।
जियाले यस निर्णयविरुद्ध उच्च अदालतमा निवेदन दिइन्। तर २०१८ अक्टोबर ३० मा मुद्दाको सुनुवाइ गर्दै अदालतले झन् सजाय बढाएर १० वर्ष पुर्याएको थियो।
यसविरुद्ध खालिदाले सर्वोच्च अदालतमा पुनरावेदन गरिन्। यसको सुनुवाइमा पाँच वर्ष ढिलाइ गरियो।
यहीबीच गत वर्ष विद्यार्थी आन्दोलनका कारण शेख हसिना सत्ता त्याग्दै भारत भागेपछि खालिदा त्यसको भोलिपल्टै २०२४ मा अगस्ट ६ रिहा भएकी थिइन्।
यसपछि उनी राम्रो उपचारको लागि भनेर लन्डन गएकी थिइन्। त्यहाँ ४ महिना बसेपछि गत मे ६ मा बंगलादेश फर्केकी थिइन्।
देशकै अस्पतालमा उपचारका क्रममा आज (डिसेम्बर ३०) बिहानै उनको निधन भयो।
१९९० को दशकका खालिदा जियाका ५ तस्बिर





Shares

प्रतिक्रिया