समाज


सिन्धुलीबाट रातारात पोखरा आएका हायू परिवार आज छोरीज्वाइँको टीकाटालोमा व्यस्त (तस्बिरहरू)

आफ्नाबारे अनावश्यक हल्ला भएकोमा उनीहरूको चित्त दुखाइ
सिन्धुलीबाट रातारात पोखरा आएका हायू परिवार आज छोरीज्वाइँको टीकाटालोमा व्यस्त (तस्बिरहरू)

वाशुदेव मिश्र
साउन १३, २०८२ मंगलबार १२:१६, पाेखरा

‘बसाइँ’ उपन्यास लेख्ने लीलबहादुर छेत्री यो धर्तीमा छैनन्। भएको भए सिन्धुलीको गोलञ्जोर-६ का हायू परिवारले एकाएक थातथलो छाडेको सुन्दा के सोच्दा हुन्?

२०१४ सालमा प्रकाशित ‘बसाइँ’ले ‘धने’ पात्रको गरिबीको कथा भन्छ। भैँसीसँग जोडिएको तर तुहिएको सपना। बहिनी झुमालाई रिकुटेसँगको लसपस अनि मोटे कार्कीले हात समाएपछि मुग्लान भासिएको कथा कहन्छ, ‘बसाइँ’ले उपन्यासले।  

लीलबहादुर गम खाँदा हुन् र सोच्दा हुन्– भैँसी र बाख्राचाहिँ किन छाडेर हिँडे होलान्?

हो, सिन्धुलीको गोलञ्जोर-६ का हायू परिवार एकाएक पोखरा भासिएको छ। 

रातारात पोखरा आइपुगेका उनीहरूको मनमा गोलञ्जोर-६ को एकान्तमा रहेको घर फर्कने मन छैन। १९ जनाको परिवारसहित पोखरा आएकी घरमुली ५२ वर्षीया उर्मिला हायू भन्छिन्, ‘हामीलाई त्यहाँ दुःख दियो, बिरामी धेरै भइयो। त्यहाँ बस्न मन छैन अब।’

थातथलो छाड्ने निधो भएपछि हायू परिवारले साउन १० गते राति घरमा सुँगुर काटे। 

आफ्नै ढंगले घरबार सुरु गरेका छोरीज्वाइँसहित भएर भोज गरेपछि मध्यरातमा त्यो परिवारले थातथलो छाड्यो र पोखरा आयो। 

उनीहरू सुटुक्क घर छाड्न चाहन्थे। त्यसैले मोबाइलको सिम पनि त्यहीँ फ्याँके। घरमा एउटा भैँसी थियो। हायू परिवारले अधियाँमा पालेको भैँसी भकारोमै छाड्यो भने हतारमा ५ वटा बाख्रा फुकाउने मेसो पनि पाएनन्।

त्यो घरका जेठा ज्वाइँ धनबहादुर तामाङका अनुसार उनकी श्रीमती २७ वर्षीया कमला हायू पनि माइतमै थिइन्।

नौ महिनामा छोरी डायनासँगै माइत पुगेकी कमला पनि आमा र परिवारसँगै पोखरा आइन्। धनबहादुर वैदेशिक रोजगारीबाट भर्खरै फर्केका हुन्। 

उनी तनहुँको शुक्लागण्डकी नगरपालिका-२ का स्थायी बासिन्दा हुन्। होटल छाडेपछि धनबहादुरलाई श्रीमतीले सम्पर्क गरिन्। 

आमासहितको परिवारको लागि कोठा खोज्नुपर्ने बताएपछि धनबहादुरले पोखरा-३०, गगनगौँडा क्षेत्रमा कोठा खोज्न थाले। बल्लतल्ल सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा डेरा पाए। 

धनबहादुरको घर शुक्लागण्डकी-२, कोत्रे र माथिल्लो गगनगौंडाको दूरी खासै टाढा छैन। 

कोठा खोजेपछि उनी ढुक्क भएर घर फिरे। तर, एकाएक प्रहरी चौकीबाट फोन आयो। 

‘मान्छे हराएको भन्ने हल्ला भएछ, घरबेटी र वरपरकाले प्रहरीलाई खबर गरेछन्, चौकी (डाँडाको नाक) लिएर गएछ। राति पानी परेको बाहिर (चौकी) बस्नुपर्‍यो। अहिले हाम्रो जिम्मा लगाइदिएको छ। उहाँहरू अब नफर्कने भन्नुहुन्छ। भैँसी अर्कैको रहेछ। बाख्रा मरे कि क्यारे कुन्नि। मलाई फेरि कोठा खोज्न पो दुःख हुने भो।’

प्रहरीले हायू परिवारलाई आफन्तको जिम्मा लगाइसकेको छ। हायू परिवार आफ्नोबारे अनावश्यक हल्ला भएकोमा आक्रोशित छ।

सिन्धुली नफर्कने अठोटसहित पोखरा आएको सो परिवार मंगलबार भने पोखराको एक मन्दिरमा भर्खरै ‘भागीबिहे’ गरेका तर टीकाटालो नगरेका अस्मिता हायू र ज्वाइँ सुजन हायूको बिहेबारीमा सहभागी भइरहेका छन्।

‘सालीले भागेर बिहे गरेकी हुन्। घरमा भित्र्याएको छैन। टीकाटालो मन्दिरमा नै गर्ने भन्ने कुरा छ। अहिले पूजापाठ चल्दैछ,’ हायू परिवारका जेठा ज्वाइँ धनबहादुरले भने, ‘बिहे सकेपछि कोठा खोज्न निस्कनुपर्ला।’

तनहुँका धनबहादुरले पनि सिन्धुलीकी कमला हायूसँग ३ वर्षअघि प्रेमविवाह नै गरेका हुन्। 

तनहुँको मान्छे, विदेश बस्ने, कसरी सिन्धुलीको मान्छेसँग प्रेम भयो त? नेपालखबरको प्रश्नमा उनले हाँस्दै भने, ‘यस्तै हो, अहिले मोबाइल भएपछि के हुँदैन?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad