समाज


१६८ छोरीलाई मुद्दती खाता उपहार

१६८ छोरीलाई मुद्दती खाता उपहार

फाइल तस्बिर


नेपालखबर
असार ३२, २०८२ बुधबार ८:१२, बागलुङ

बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रम अन्तर्गत दुई वर्षमा १६८ जना छोरीको मुद्दती खाता खोल्न सफल भएको छ। बागलुङ नगरपालिकाले रु पाँच हजारसहितको मुद्दती खाता छोरीलाई उपहार स्वरुप प्रदान गरिएको जनाएको छ।

नगरपालिकाले २०८० साउनदेखि नगरपालिकाभित्र जन्मेका सबै छोरीलाई २० वर्षे मुद्दती खाता खोलेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए। नगरपालिकाले दुई वर्षमा नगरभित्र जन्मेका १६८ छोरीको खातामा रु पाँच हजारका दरले रु आठ लाख ४० हजार जम्मा गरिसकेको बताए।

नगरपालिकाभित्रका १४ वटा वडामा जन्मिएका छोरीहरूको नाममा प्रभु बैंक लिमिटेड बागलुङ शाखामा खाता खोली नगद पाँच हजार नगरपालिकाले जम्मा गरिदिएको हो।

“नगरपालिकाले छोरीहरूको प्रोत्साहनका लागि ‘नगरकी छोरी’ कार्यक्रम सञ्चालन गरेको छ”, नगरप्रमुख श्रेष्ठले भने, “१३औँ नगरसभाद्वारा पारित नीति तथा कार्यक्रमअन्र्तगत अहिलेसम्म एक सय ६८ जना छोरीहरुको २० वर्षे मुद्दती खाता उपहार दिइएको छ, छोरी जन्माउनेलाई प्रोत्साहन गर्ने नगरको नीतिअनुसार हो, त्यहीअनुसार मुद्दती खाताम चक्रिय ब्याज आउने गरी कार्यविधि निर्माण गरेर बैंकसँग सम्झौता गरिएको छ।”

परिवारमा बचत गर्ने बानी बसाल्न नगरकी छोरी कार्यक्रम ल्याइएको उनको भनाइ छ । नगरकोे छोरी कार्यक्रम सञ्चालनका निम्ति कार्यविधि निर्माण गरेर कार्यान्वयन गरिएको छ।

जिल्लाको बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रमलाई कार्यान्वयनमा ल्याएको छ। आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटमार्फत ल्याएको कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याएको हो।

नगरकी छोरी कार्यक्रमको कार्यविधिको दफा ६ मा कोष सञ्चालनसम्बन्धी व्यवस्थाअनुसार छोरीहरूका लागि मुद्दती खाता सञ्चालन गरी प्रत्येक छोरीहरूका लागि एकपटक रु पाँच हजार जम्मा गर्ने प्रावधान छ।

सो मुद्दती खातामा परिवारका सदस्यले रकम थप गर्न चाहेमा थप गर्न सक्ने, यसरी सञ्चालन भएको मुद्दती खाताको रकम छोरी २० वर्ष नपुगेसम्म झिक्न नमिल्ने कार्यविधिमा उल्लेख छ।

नगरपालिकाले पहिलो छोरीको रूपमा बागलुङ नगरपालिका–२ श्रीनगर टोलका दुर्गाबहादुर क्षेत्री र मिलिमा केसीकी छोरी अद्धिका क्षेत्रीको नाममा खाता खोलेर ‘नगरकी छोरी’ कार्यक्रमको थालनी गरेको थियो।

नगरमा जन्मेका छोरीहरूको सम्मान र आर्थिक भविष्यका उक्त कार्यक्रम ल्याएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले जानकारी दिए । छोरीहरूको संरक्षण, छोरीलाई गरिने विभेदको अन्त्य, बालविवाहको उन्मूलनसहित छोरीलाई शिक्षित र स्वावलम्बी बनाउने उद्देश्यले बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयन गरेको कँडेलको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad