समाज


बाढीले सडक र डाइभर्सन बगाउँदा नवलपरासीमा रातिदेखि नै पूर्वपश्चिम राजमार्ग अवरुद्ध

पिकअप भ्यान बाढीले बगाउँदा चालकले फाल हानेर ज्यान जोगाए
बाढीले सडक र डाइभर्सन बगाउँदा नवलपरासीमा रातिदेखि नै पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नेपालखबर
जेठ १६, २०८२ शुक्रबार ७:५०, काठमाडौँ

अविरल वर्षापछि आएको बाढीले सडक कटान गर्दा नवलपरासी पूर्व र पश्चिम दुवैतर्फ सवारी अवरुद्ध भएको छ। 

गए रातिदेखिको वर्षाको कारण विभिन्न नदीमा बाढी आउँदा दुवै जिल्लामा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। 

अहिले नवलपरासी पश्चिमको खोर्सानी खोलामा वानवे सडक सञ्चालनमा आए पनि पूर्व नवलपरासीमा भने सडक पूर्णरुपमा बन्द रहेको नवलपरासी पूर्वका डीएसपी मधु नेपालले जानकारी दिए। 

पूर्वपश्चिम राजमार्गमा पर्ने विनयी त्रिवेणी, चोरमारा, दुम्किबास र दाउन्नेमा निर्माण गरिएका वैकल्पिक सडक (डाइभर्सन) गएराति बाढीले बगाएको हो। 

चोरमारा र दुम्कीवासमा पुल भाँचिएपछि बनाइएको डाइभर्सन बिहीबार रातिको वर्षाले बगाएको हो। 

नवलपरासी पूर्वमा पर्ने चोरमारा पुल गत वैशाख २९ गते र दुम्कीवास पुल गत पुस २६ गते नै भाँचिएका हुन्। पुल भाँचिएपछि ती ठाउँमा खोलाबाट डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन हुँदै आएका थिए। 

‘दुम्किबासस्थित विनयी त्रिवेणी खोलाको डाइर्भन माथिबाट अहिले पनि पानी बगिरहेको छ,’ डीएसपी नेपालले नेपालखबरसँग भने, गएराति पाल्पा क्षेत्रमा ठूलो वर्षा भएछ। यताका नदीनालामा ठूलो बाढी आउँदा यातायात सञ्चालनमा समस्या सिर्जना भएको हो।’

विनयी त्रिवेणीमा पुल भाँचिएको कारण डाइभर्सनबाट यातायात सञ्चालन हुँदै आएको छ।

पश्चिम नवलपरासीका प्रहरी निरीक्षक नारायण थापाका अनुसार बर्दघाट नगरपालिका- ४ को खोर्सानी खोलामा बाढी कम भएपछि विहान ६ बजेदेखि वानवे गाडी चल्न थालेका छन्। 

खोर्सानी खोलामा गएराति सवा २ बजेदेखि नै सडक अवरुद्ध थियो। ‘यहाँ अहिले पनि सडक मर्मत कार्य जारी छ। सडक एकतर्फी भएकाले सवारी साधनको जाम छ,’ उनले भने। 

नवलपरासी पूर्वका डीएसपी नेपालले चोरमारामा बाढीले डाभर्सन बगाउँदा अवरुद्ध भएको सडकको अवरोध भने राति नै हटाइएको छ। 

गएराति त्रिवेणी खोलामा आएको बाढीले तरकारी बोकेको लु ३ च ८४९३ नम्बरको  पिकअप भ्यान नै बगाएको छ। गाडी बाढीले बगाएपछि चालकले फाल हानेर ज्यान जोगाएका छन्। 

बाढीले सडक अवरुद्ध हुँदा दुवै जिल्लामा गरेर हजारौँ यात्रु राजमार्गमा अलपत्र परेका छन्। पूर्व र पश्चिमका छुटेका सयौँ सवारी साधन चोरमारा र बर्दघाट क्षेत्रमा रोकिएका प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad