समाज


नेपाली सेनाले तेस्रो गोरखा-जितगढी एकीकरण पदयात्रा गर्ने

नेपाली सेनाले तेस्रो गोरखा-जितगढी एकीकरण पदयात्रा गर्ने

फाइल तस्बिर


नेपालखबर
चैत १७, २०८१ आइतबार १२:८, गोरखा

नेपाली सेनाले ‘दोस्रो ऐतिहासिक गोरखा-जितगढी एकीकरण पदयात्रा’ सुरु गर्दैछ। स्थानीय तहको समन्वयमा यही चैत्र २७ गतेदेखि पदयात्रा सुरु गर्न लागिएको रिपुमर्दन गणले जनाएको छ। 

गोरखाबाट सुरु हुने पदयात्रा तनहुँ, पाल्पा हुँदै जितगढी पुगेर समापन हुने गणपति अशोककुमार क्षेत्रीले जानकारी दिए।

उनका अनुसार यात्रामा पृथ्वीनारायण शाहले तत्कालीन समयमा खडा गरेका पाँच पल्टन (पुरानो गोरख, कालिबक्स, बर्दवाणी, सवुज र श्रीनाथ) र जितगढीको लडाइमा भाग लिएका गुरुबक्स पल्टनका टोली सहभागी हुनेछन्। सहभागीले आ(आफ्नो पल्टनको झण्डासहित यात्रामा निस्कने उनले जानकारी दिए। 

गोरखाको टोली पालुङटारको सतिघाट पुगेर तनहुँलाई उज्यालोको प्रतिकस्वरुप टर्च हस्तान्तरण गर्ने र तनहुँले पाल्पालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको उनले बताए । ‘पाल्पाले रुपन्देहीलाई बुझाउँछ र रुपन्देहीको टोली जितगढीमा पुगेर विजय उत्सवमा सहभागी हुन्छ’, गणपति क्षेत्रीले भने।

उनका अनुसार नेपाल र तत्कालीन ब्रिटिस इस्ट इण्डिया कम्पनीबीच भएको लडाइमा विजय प्राप्त गरेको दिन (वैशाख ७ गते) लाई विजय उत्सवको रूपमा मनाउँदै आइएको छ। सोही उत्सवमा सहभागी हुने गरी पदयात्रा सुरु गर्न लागिएको उनले उल्लेख गरे।

नेपाल-अङ्ग्रेज युद्धको क्रममा रुपन्देहीस्थित जितगढी किल्लामा भएको लडाइमा विजय प्राप्त गरेको दिनलाई वर्तमान समयमा स्मरणीय बनाउन बुटवल उपमहानरपालिकाले हरेक वर्ष वैशाख ७ गते विजय उत्सव दिवसका रूपमा मनाउँदै आएको नगर कार्यालयले जनाएको छ । सोही ऐतिहासिक कार्यलाई थप महत्त्वका साथ मनाउन गोरखा-जितगढी पदयात्रा सञ्चालन गरिएको हो। 

यात्राले गढी, किल्ला, दरबार तथा एकीकरणको क्रममा प्रयोग भएका मार्गहरू पहिचान गरी, संरक्षण, सम्वर्द्धन र विकास गर्न सघाउ पुग्ने विश्वास लिइएको छ। सेनाले विसं २०७९ देखि गोरखा दरबार-जितगढी एकीकरण मार्गमा पदयात्रा सुरु गरेको थियो।

जितगढी किल्लामा विसं १८७२ वैशाख ७ गते नेपालसँग हारेपछि अङ्ग्रेज सेना फिर्ता भएका इतिहासका जानकार बताउँछन्।

नेपाली सेनाले विजय प्राप्त गरेको सम्झनामा प्रत्येक वर्ष जितगढीमा वैशाख ७ गते विजय उत्सव दिवसका रूपमा मनाइँदै आइएको रिपुमर्दन गणले जनाएको छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad