राजनीति


विपक्षी दलका नेतासँग ओलीको टेलिफोन संवाद, कुलमानबारे सोमबार जवाफ दिन सहमत

विपक्षी दलका नेतासँग ओलीको टेलिफोन संवाद, कुलमानबारे सोमबार जवाफ दिन सहमत

नेपालखबर
चैत १७, २०८१ आइतबार १२:११, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउनुको कारणबारे सोमबार संसद्‌मा जवाफ दिने भएका छन्। 

आइतबार बिहान सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग गरेको छलफलमा सो सहमति भएको एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले जानकारी दिएका हुन्। 

उनका अनुसार यस विषयमा आज प्रधानमन्त्री ओली र विपक्षी दलका नेताबीच टेलिफोन संवाद भएको थियो। 

प्रधानमन्त्रीले आजकै लागि सर्वदलीय बैठक बोलाएको जानकारी पनि बर्तौलाले नेपालखबरलाई दिए।

बैठकमा सत्तापक्षले सदन अवरोध खुलाउन विपक्षी दललाई अनुरोध गरेको छ। तर विपक्षी दलले कुलमान बर्खास्तका विषयमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नदिने अडान दोहोर्‍याए। 

आज पनि संसद्‌का दुवै सदनका बैठक बस्दै छन्। 

यसैबीच प्रमुख सचेतकहरूसँगको बैठकमा सभामुख घिमिरेले चैत १५ गते तीनकुनेमा भएको हिंसा लोकतन्त्रविरुद्धकै प्रहार भएकाले संसद्‌मा छलफल बहस गर्ने वातावरण बनाउन दलहरूलाई आग्रह गरेका थिए। 

सरकारले यही चैत ११ गते कुलमानलाई हटाउँदै विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि विपक्षी रुष्ट छ। 

राम्रो काम गरिरहेका कुलमानलाई ४ महिना कार्यकाल बाँकी छँदै सरकारले अपमानपूर्ण ढंगले निकालेको भनी विपक्षी दलले यस विषयमा प्रधानमन्त्री ओलीले संसद्‌मै जवाफ दिनुपर्ने माग गरिरहेका छन्। 

कुलमान पनि आफ्नो बर्खास्तीविरुद्ध सर्वोच्च अदालत पुगेका छन्। त्यसो त विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पनि आफ्नो पुरानो रिटमा पहिले निर्णय गरिनुपर्ने माग अदालतसँग गरेका छन्। 

यस विषयमा शुक्रबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै आज दुवै रिटका पक्ष र विपक्षलाई अदालत बोलाएको थियो।

घिसिङ र शाक्य दुवैको रिट सुनुवाइका लागि आज आज प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश सारंगा सुवेदीको संयुक्त इजलासमा तोकिए पनि कुलमानको रिट हेर्न नमिल्नेमा राखिएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad