समाज


कालिगण्डकी करिडोरमा ‘रक एंकरिङ’

कालिगण्डकी करिडोरमा ‘रक एंकरिङ’

नेपालखबर
मंसिर २३, २०८१ आइतबार ७:३३, म्याग्दी

भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालिगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडक अन्तर्गत जोखिमयुक्त काभ्रे, बाँदरजुङ र घोप्टेभिर क्षेत्रको सडक विस्तार, पहिरो र कटान रोकथामका लागि ‘रक एंकरिङ’ गरिएको छ। 

साँघुरो अवस्थामा रहेको काभ्रेभिरको सडकलाई ‘रक एंकरिङररक नेलिङ’ प्रविधिको प्रयोग गरेर फराकिलो र ग्रेड सुधार गरिएको बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ। 

तल बग्ने कालिगण्डकीले बनाएको खोच र विस्फोटक पदार्थ प्रयोग गरी भित्ता काटेर सडक फराकिलो बनाउँदा पहाड थर्किएर कमजोर भई थप पहिरो खस्ने जोखिम देखिएपछि रक एंकरिङ गरेको आयोजनाका इञ्जिनियर विष्णु चापागाईँले बताए।  

उनका अनुसार सडक मुनिको पहाडमा ड्रिलिङ गरेर रड राखी, कंक्रिट गरेर बेस बनाएर पक्की पर्खाल निर्माण गरेर डिलतर्फ सडक फराकिलो बनाइएको हो। रक एंकरिङ गर्न १०० मिटर लम्बाइको दूरीमा ‘ड्रिलिङ’ गरेर फलामको रड राख्ने प्वाल बनाइएको छ। 

रक एंकरिङ गर्नुपर्ने ठाउँको ३।५ मिटर फराकिलो सडकमा हाल एकतर्फी मात्र सवारी साधन चल्छन्। यसलाई दुईतर्फी सवारी साधन चल्ने बनाउन सातदेखि आठ मिटर फराकिलो बनाइएको हो। नाली, खोल्सा र सडकको पानी व्यवस्थापन गर्न ह्युम पाइपबाट बगाउने संरचना बनाइएको छ। 

बेनी-जोमसोम-कोरला सडकको तातोपानी–घाँसा खण्डको निर्माण कम्पनी शर्मा-गजुरमुखीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले मजदुर डोरीमा झुण्डिएर रड राख्ने प्वाल बनाएका बताए। रक एंकरिङको काम अन्तिम चरणमा पुगेको र सडकलाई ढलान गर्ने तयारी भएको उनले जानकारी दिए। 

म्याग्दी र मुस्ताङको सिमानामा रहेको दुई किलोमिटर दूरीको काभ्रेभिर, बादरजुङभिर र घोप्टेभिर क्षेत्र बेनी-जोमसोम-कोरला सडकको सबैभन्दा जोखिमयुक्त मानिन्छ। चीन र भारत जोड्ने सबैभन्दा छोटो दूरीको, राष्ट्रिय गौरवको कालिगण्डकी करिडोरअन्तर्गत म्याग्दीको काभ्रेभिरदेखि मुस्ताङको घाँसासम्म अक्करे पहाड छिचोलेर मार्ग खोलिएको सडकमा ‘रक फल’ ढुङ्गाको पहिरो खस्ने र कालिगण्डकीले कटान गर्ने समस्या छ। 

२०६३ मा नेपाली सेनाले मार्ग खोलेको यो ठाउँमा सवारी साधन खस्ने, गुडिरहेको सवारी साधनमा भिरबाट ढुङ्गा, पहिरो खसेर पुरिने गरेका छन्। यो क्षेत्रमा विस्फोट पदार्थको प्रयोग गरी एक हजार ६०० मिटर सडकलाई आठ मिटर फराकिलो बनाएर ढलान गरिएको छ। 

धेरै ‘रक फल’ हुने भएकाले डीबीएसडी प्रविधिको कालोपत्र सडक नटिक्ने देखिएपछि ढलान गरिएको हो। ढलान गरिएको ठाउँमा पनि भिरबाट खसेका ठूला ढुङ्गाले क्षति पुर्‍याएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad