मकवानपुरमा स्कुटरलाई ग्यास बुलेटले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ।
मकवानपुरको मनहरी गाउँपालिका–७ लच्का स्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार (आज) बिहान ९ः३० बजेको समयमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश २–०५७ प ३२३० नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको एन एल०१ एन ०२८० नम्बरको ग्यास बुलेटले ठक्कर दिई दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा सिन्धुपाल्चोकको चौतारा नगरपालिका–५ का ३० वर्षीय केदार श्रेष्ठ रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते भएको उनलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा अस्पताल पुग्ने बित्तिकै चिकित्सकले मृत घोषणा गरेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक पुस्कर बोगटीले जानकारी दिए। मृतक केदारको शव हेटौंडा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
स्कुटरमा श्रेष्ठ सहित उनको २८ वर्षीया श्रीमती सरस्वती श्रेष्ठ र २ वर्षीय छोरा प्रविन श्रेष्ठसमेत सवार थिए। दुर्घटनाका क्रममा सरस्वती गम्भीर घाइते भएकी छन् भने छोराको अवस्था सामान्य छ।
उनको हाल चितवन स्थित एलाईभ अस्पतालमा उपचार भैरहेको प्रहरी प्रवक्ता बोगटीले बताए। प्रविन पनि उनकै साथमा रहेको प्रहरीको भनाइ छ। यता, ग्यास बुलेट चालक भारतको बिहार बस्ने ५५ वर्षीय मोहमद मतिन इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिहरेको बताएको छ।
Shares

प्रतिक्रिया