समाज


राति नै सर्लाही पुगेर बिहान ‘रिजर्भ’मा मनकामना फर्किने हतारमा थिए चालक

कक्षा ८ मा पढ्ने मानुषीको चाहना अधुरै, छोरीको अनुहार हेर्न शव कुरिरहेका छन् भक्तबहादुर
राति नै सर्लाही पुगेर बिहान ‘रिजर्भ’मा मनकामना फर्किने हतारमा थिए चालक

दुर्घटनामा परेकाे गाडीका चालक कमल बहादुर दर्लामी मगर र मृतक मानुषीका बुवा भक्तबहादुरसहितका आफन्त।


सुनिता विष्ट
बैशाख ५, २०८२ शुक्रबार ११:३९, हेटाैँडा

काठमाडौँबाट सर्लाही जाँदै गरेको ईभी गाडी दुर्घटनामा परेर मृत्यु भएकी सर्लाहीको बागमती नगरपालिका–७ कि १३ वर्षीया मानुषी दर्लामी मगरको शव यतीबेला हेटौँडा अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ। 

आफ्नी छोरीको मुहार अन्तिम पटक हेर्नका लागि उनका बावु भक्तबहादुर दर्लामी मगर हेटौँडा अस्पताल परिसरमा छन्। घर आउँदै गरेकी छोरी बाटोमै अस्ताएपछि भक्तबहादुर र आफन्तहरु यतिबेला शोकमा छन्। 

कक्षा ७ को परिक्षा दिएपछि काठमाडौँमा रहेका दिदीहरुसँग घुम्न भन्दै चैतको अन्तिम साता काठमाडौँ हिँडेकी मानुषी बिहीबार राति सर्लाही फर्कदैँ थिइन्। भदैनी नाता पर्ने युनिषा दर्लामी मगर र गाउँका अन्य आफन्तहरुसमेत सोही गाडीमा सवार थिए। 

जाँदा पनि सँगै काठमाडौँ गएकी युनिषा सँगै घर फर्किर्दै थिइन्। उनी घाइते अवस्थामा मकवानपुर सहकारी अस्पतालमा उपचारत छिन्। बेला बेलामा उनले मानुषीलाई खोजी रहँदा आफन्तहरुले ‘मानुषीको अर्को अस्पतालमा उपचार भैरहेको छ’ भन्दै टारिरहेका छन्।


 
शुक्रबार मध्यराति १ बजे दुर्घटनामा परेकी मानुषीको शव आज बिहान ५ः३० बजेतिर मात्रै दुर्घटनास्थल नजिकै खोल्सीमा फेला परेको थियो। 

बागमती –७ कै जनता माध्यामिक विद्यालयको कक्षा ७ को परिक्षा दिएर ८ मा पुगेकी उनी बिदा मनाउनकै लागि काठमाडौँ गएकी थिइन्। ‘उनीहरुलाई घर आउ भनेर त हामीले अस्ति नै भनेका थियाैँ। स्कुल खुलेको छैन, अलि दिन बस्ने भन्दै ढिपी गरेपछि दुईचार दिन बढी काठमाडौँ बसेका थिए,’ मानुसीका बुवा भक्तबहादुरले काँधमा राखेको गम्साले आँशु पुछ्‍दै भने, ‘झन् अरुले चलाएको गाडीको भर हुन्न। दाइको गाडी आउँदै छ। त्यसमै आउनु भनेको थिएँ। दाइकै गाडीमा आउँदा यस्ताे भयो।’

भक्तबहादुरका अनुसार उक्त ईभी गाडी चालक उनका आफ्नै भतिजा हुन्। चालक २९ वर्षका कमल बहादुर दर्लामी मगर पनि दुर्घटनामा घाइते भएपछि हाल उपचारमा छन्। उनकाे अवस्था सामान्य छ।

किन राति हिडेँको थियो गाडी? 
मध्यरातमा दुर्घटना भएकै कारण समयमै उद्धार नहुँदा दुईजनाले ज्यान गुमाउन परेको गाडीमा सवार यात्रुहरु बताउँछन्। सोही गाडीमा सवार सर्लाहीको बरहथवा नगरपालिका–९ का मनोज रायका अनुसार उक्त गाडी ७ बजेसम्म काठमाडौँ छुटिसक्ने भन्दै चालक कमल बहादुरले यात्रु चढाउँदै थिए। सासु र ससुरासँगै रहेका उनी जसरी पनि सर्लाही पुग्नुपर्ने दबाबमा थिए। 

सर्लाही नै पुग्ने यात्रु पाएपछि कमलबहादुरले १५ जनालाई गाडीमा राखे। कलंकीबाट गाडी ७ बजे त गुड्यो। तर सर्लाहीसम्म पुग्न चार्ज नपुग्ने भन्दै कोटेश्वर तर्फ मोडियो। करिब १ घण्टा गाडी चार्ज गरेपछि कान्तिलोकपथ हुँदै सर्लाही जानका लागि गाडी सातदोबाटोबाट चापागाउँ तर्फ लाग्यो। त्यतिबेला करिब ८ः १५ जति भइसकेको थियो। 

घाइते भएर हेटौँडा अस्पतालमा उपचारत मनोजका अनुसार रात छिप्पिएपछि बाटोमा भएका होटल बन्द हुने र खाना खान नपाइँने भन्दै कमलबादुरले ९ बजेतिर ललितपुरको बागमती गाउँपालिकास्थित छवेलीमा रहेको एक होटल अगाडि गाडी रोके। त्यहाँ सबैजनाले खाना खाए। त्यहाँबाट गाडी १० बजेतिर अघि बढ्यो।

‘चालकले उनका आफन्तहरुसँग भोली मनकामना जाने रिजर्भ छ, बिहानसम्म जसरी पनि सर्लाही पुग्नुपर्छ भनेको सुनेको थिएँ,’ मनोज भन्छन्, ‘तर त्यस्तो भने पनि गाडीको स्पिड त धेरै थिएन। रातको समयमा तातो खाना खाएपछि प्रायः सबै यात्रु निदाइ सकेका थिए। म पनि बेला बेलामा निदाउँदै, बिउँझिदै गरिरहेकाे थिएँ। कुन ठाउँ आइपुग्यो भन्ने त थाह थिएन, तर, खाना खाएर हिडेँको त्यस्तै २/३ घण्टापछि गाडी सडकबाट खस्यो।’

सालोलाई जापान पठाउन मनोज, उनका ससुरा सर्लाही बरहथहवा नगरपालिका–८ बस्ने निवासी ५२ वर्षीय शिवशंकर राय र सासु ४५ वर्षकी रिकिदेवी राय काठमाडौँ गएका थिए। उनका सासुससुरा मध्यम घाइते भएका छन्। मनोजको भने गोडामा सामान्य चोट मात्रै लागेको छ। 

बिहीबार राति काठमाडौँबाट छुटेको बागमती प्रदेश ०१–००६ ख ७०७२ नम्बरको इभी गाडी शुक्रबार (आज) बिहान १ बजेतिर मकवानपुरगढी गाउँपालिका–२ धरमपानीस्थित कान्तिलोकपथ खडकखण्डमा दुर्घटनामा परेको हो। गाडी सडकबाट करिब २ सय मिटर तल खसेको थियो। दुर्घटनामा दुई जनाले ज्यान गुमाएका छन्। हेटौंडा अस्पतालमा उपचारत रौतहटको दुर्गा भवानी गाउँपालिका–५ बस्ने ५० वर्षकी निलम देवी राउतको बिहान ४ बजतिर मृत्यु भएको हो। 

गाडीका चालक कमलबहादुर धमपानीको मोडमा आएपछि गाडीको ब्रेक नलागेको बताउँछन्। ‘रातको समयमा गाडी हाँक्दा तँपाई निदाउनुभएको हो कि?’ नेपालखबरको यो प्रश्नमा उनले भने, ‘निदाएको होइन। अरु बेलामा पनि म रातमा गाडी चलाउँथे। मोडमा ब्र्रेक लागेन। ब्रेक नलागेपछि गाडी एक्कासी सडकबाट तल खस्न पुग्यो।’

दुर्घटनामा चालकसहित अन्य १४ जना घाइते भएका छन्। घटनाबारे थप अनुसन्धान भैरहेको मकवानपुर प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad