कारोबार


गभर्नर बन्ने पक्का भएका भट्टले दिए कार्यकारी निर्देशकबाट राजीनामा

गभर्नर बन्ने पक्का भएका भट्टले दिए कार्यकारी निर्देशकबाट राजीनामा

नेपालखबर
बैशाख ५, २०८२ शुक्रबार १२:२, काठमाडौँ

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन्। गभर्नर बन्ने सुनिश्चित भएसँगै भट्टले राजीनामा बुझाएको राष्ट्र बैंकका एक अधिकारीले नेपालखबरलाई जानकारी दिए। 

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा दुई चरणमा भएको कुराकानीपछि भट्टलाई नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नर बनाउने समझदारी भएको थियो।

सरकारले अर्थमन्त्री विष्णु पौडेलका नेतृत्वको गभर्नर सिफारिस समिति गठन गरिसकेको छ। उक्त समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेल सदस्य छन्।

अब सिफारिस समितिले भट्टसहित ३ जनाको नाम मन्त्रिपरिषद्‌मा पठाउनेछ। अर्थविद् पौडेल हाल भारतमा छन्। उनी आएपछि समितिको बैठक बस्नेछ।

सत्ता साझेदार दल नेपाली कांग्रेस-नेकपा एमालेबीच गभर्नर कसलाई बनाउने भन्ने विषयमा लामो समयसम्म सहमति जुट्न सकेको थिएन। तर, कांग्रेसले भट्टलाई नै गभर्नर बनाउन अडान कायमै राखिरहेपछि प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली पछि हटेर गभर्नर कांग्रेसको भागमा दिन सहमत भएका थिए।  

बुधबार कांग्रेस-एमालेका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा भट्टको नाम लिएर देउवाले गरेको प्रस्तावमा ओलीले समर्थन जनाएका थिए। गभर्नर बन्ने दौडमा रहेका अन्य पाँच जनालाई पछि पार्दै कांग्रेस सभापति देउवाको प्रस्तावमा भट्टले बाजी मार्ने निश्चित भएको हो।

बिहीबार मात्रै पनि सभापति देउवाले पार्टी पदाधिकारी, पूर्वपदाधिकारी बैठकमा पनि यस विषयमा नेताहरूलाई ब्रिफिङ गरेका थिए।  

यद्यपि, भट्टसहित तीन जनाको नाम अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मन्त्रिपरिषद्‌मा पेस गरेपछि गभर्नर नियुक्तिको औपचारिक निर्णय हुनेछ। 

नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा कार्यरत भट्टले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। भट्ट यसअघि कांग्रेसबाट अर्थमन्त्री बनेका डा.प्रकाशशरण महतको आर्थिक सल्लाहकारसमेत थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad