समाज


पाइलट घिमिरे भन्छन् : अरूको खुसीका लागि आफ्नो चाहना लुकाउनुपर्छ

पाइलट घिमिरे भन्छन् : अरूको खुसीका लागि आफ्नो चाहना लुकाउनुपर्छ

कृष्ण आचार्य
असोज २१, २०७६ मंगलबार १०:१७,

उद्दव घिमिरेले जहाज उडाउन थालेको १३ वर्ष पुग्यो। १२ वर्ष डोमेस्टिक फ्लाइट गरेका उनले पछिल्लो वर्षदेखि अन्तर्राष्ट्रिय उडान थालेका छन्। चाडपर्वमा यात्रुलाई गन्तब्यमा पुर्याउनु पाइलटको मुख्य जिम्मेवारी रहन्छ। त्यसैले दशैँजस्तो पारिवारीक चाडमा पनि उनीहरु परिवारसँग रमाइलो गर्न पाउँदैनन्। बरु अरु कसैका लागि दशैँको गोरेटो बनिदिन्छन्। यसै सन्दर्भमा हामीले नेपाल एयरलाइन्सको वाइडबडी जहाजका पाइलट घिमिरेसँग उनको करिअरका दौडान मनाइएका दशैँबारे कुराकानी गरेका छौँः

यस वर्ष दशैँको योजना के बनाउनुभएको छ?

त्यस्तो खासै केही छैन। सदाझैँ दशैँको बेला यस पटक पनि मेरो फ्लाइट छ। दशमीको दिन चाहिँ सकेसम्म मिलाएर दशैँ मनाउने सोचेको छु। हामी पाइलटहरु चाडपर्व भन्दा पनि जिम्मेवारीमै बढी केन्द्रित हुने भएकाले हाम्रा लागि अन्य दिनजस्तै समान्य रहनेछ।

भनेपछि नवमीको दिन पनि फ्लाइट छ?

बैंग्लोरको फ्लाइट छ, अष्टमीको दिन दिउँसो दुई बजे गएर हामी राति फर्कन्छौँ। कुनै कारण ढिला भयो भने अर्को दिन पनि हुन सक्छ। दशैँको दिनमा पनि कारणबस् मैले जहाज उडाउनुपर्यो भने म तयार छु।

यसभन्दा पहिला त तपाईं डोमेस्टिक फ्लाइट गर्नुहुन्थ्यो। व्यस्तता झनै बढी थियो होला नि?

कुरै नगर्नुस्। विदाको दिनमा फ्लाइट गरेर टिकाको दिनमा चाहीँ सकेसम्म बस्न दिनुस् भनेर आग्रह गर्थेँ। बुबाआमा गाउँबाट काठमाडौं आउनुहुन्छ, आफन्त्हरु आउनुभएको हुन्छ। सकेसम्म उहाँहरुको हातबाट टिका थापौँ भन्ने लाग्छ।

pilot1.jpg

तपाईंको व्यस्ततालाई लिएर बुबाआमाको प्रतिक्रिया के हुन्छ?

आफ्नो जिम्मेवारी महत्वपूर्ण कुरा हो। त्यसैले जिम्मेवारीमा सक्रिय हुनु भन्ने छ उहाँहरुको।

यो त एउटा चित्त बुझाउने कुरा भयो। कहिल्यै उहाँहरुको मन पढ्ने प्रयास गर्नुभएको छ?

मनमा त छोरा घरमै भइदिओस्, सबै परिवारका सदस्यहरु भेला गरेर रमाइलो गरौँ भन्ने लागिहाल्छ नि। तर, उहाँहरुले आफ्नो चाहना लुकाएर भए पनि जिम्मेवारीमा अघि बढ्न सुझाव दिनुहुन्छ। त्यसैले मैले यस कुरालाई सकारात्मक रुपमै लिएको छु।

तपाईंको चाहना चाहीँ के हुन्छ?

हामीले आफ्नो चाहना लुकाउनुपर्छ। म एक जनाले टिका नलगाएर के भयो त मैले डेढ सय यात्रुलाई टिकाका लागि अवसर जुराउने काम गर्न पाएको छु। उहाँहरुलाई गन्तब्यमा पुर्याएर। त्यसकारण दशैँको बेलामा पाइलटहरुको जिम्मेवारी अझ बढ्छ भन्ने मलाई लाग्छ। यही कुरामा मेरो सन्तुष्टी रहन्छ।

तपाईं पाइलट हुनुभन्दा अगाडिको र भइसकेपछिको दशैँमा के–कस्तो भिन्नता पाउनुभयो?

पाइलट हुनुभन्दा अगाडिको जीवन, दशैँ र अहिलेकोमा धेरै भिन्नता छ। मेरो जन्मघर खोटाङको दिक्तेल हो। गाउँले परिवेशमा दशैँ मनाउँदाको मज्जा नै फरक हुन्थ्यो। पाइलट भइसकेपछि दशैँमा खुलेर रमाउन पाइएको छैन। दशैँभन्दा पनि आफ्नो प्रोफेसनमा बढी केन्द्रित भइएको छ। दशैँमा अन्य कर्मचारीको फूलपातिदेखि पूर्णिमासम्म विदा हुन्छ तर, हामीलाई कुनै दिन विदा हुँदैन। झन् व्यस्तता बढ्छ। पाइलट भइसकेपछि तास खेल्ने, रमाइलो गर्ने, साथी–परिवारसँग घुम्न जाने समय नै भएन।

पाइलट करियरको १३ वर्षको दौरान तपाईंका लागि सबैभन्दा अविष्मरणीय दशैँ कुन हो?

२०६६ सालको दशैँ मेरा लागि बिर्सनै नसक्ने छ। किन कि त्योसमयमा मेरो दिदीको निधन भयो। महिनौँसम्म हाम्रो परिवार शोकमा डुबेको थियो। फ्लाइटमा जाने र आइसकेपछि कतै नगई घरको एउटा कुनामा बसिरहने अवस्था थियो। मानिसहरुलाई रमाइलो गरेको देखिरहे पनि माहोल निकै नरमाइलो लागेको थियो।

दशैँको दिनमा पनि फ्लाइट गर्दाको अनुभवहरु पनि होला नि?

म पाइलट भएपछि लुक्लामा दैनिक पाँच वटा फ्लाइट गर्थेँ। दशैँको बेलामा पर्यटकहरुको अलि बढी घुँइचो हुन्थ्यो। दशैँको समयमा हाम्रो व्यस्तता झनै बढी हुन्थ्यो। रेस्टुरेन्टहरु बन्द भइसकेका हुन्थे। घरमा थुप्रै खानेकुरा भए पनि हामी रोटी, ब्रेड, उसिनेको अण्डा खाएर बस्नुपथ्र्यो। त्यै पनि यात्रुलाई गन्तब्यमा पुर्याउन पाउँदा छुट्टै आनन्द आउँथ्यो र अहिले पनि आउँछ। आफ्नो सेवाले सन्तुष्टी दिन्छ।

पाइलट भइसकेपछि तपाईंले अहिलेसम्म मनाएको दशैँमध्ये सबैभन्दा सुखद् दशैँ चाहिँ कुन हो?

२०७२ सालको दशैँ हो। त्यतिबेला फ्लाइटहरु अलि कम थियो। त्यतिबेला मैले दुई दिन दशैँको विदा पाएको थिएँ। त्यो समयमा साथीभाइसँग बसेर गेट दुगेदर गर्ने मौका पाएँ। त्यस्तो दशैँ जीवनमा फेरि पनि आओस् भन्ने लाग्छ।

दशैँको समयमा मानिसहरुलाई उडाइरहँदा उहाँहरुमा कत्तिको उत्साह पाउनुहुन्छ?

उहाँहरु सबैभन्दा बढी फ्लाइट होला कि नहोला, हामी टिका लगाउन जान पाउँला कि नपाउँला भन्ने कुरामा चिन्तित हुनुहुन्छ। फ्लाइट भइसकेपछि उहाँहरुमा रहेको उत्साह वर्णन गर्न नसकिने खालको हुन्छ। म नेपाल एयरलाइन्समा आइसकेपछि पोखरा, भैरहवा, सिमरा र दाङमा फ्लाइट गरेँ। त्यतिबेला यात्रुहरुले म फ्लाइटमा छु भने मेरो फ्लाइट क्यान्सिल हुँदैन र हामी समयमै पुगिन्छ भन्ने सोच्नुहुँदो रहेछ। यो मेरा लागि खुसीको कुरा पनि हो।

pilot3.jpg

नयाँ पाइलट, एयरहोस्टेजहरुको मुहारमा दशैं कत्तिको खड्किएको अनुभव हुन्छ तपाईंलाई?

उहाँहरुलाई दशैँमा रमाइलो गरौँ भन्ने लाग्छ। कोही केही निराश पनि देखिनुहुन्छ। तर, हाम्रो पेसा यस्तो हो कि पहिल्यै सबै कुरा थाहा भइसकेको हुन्छ। त्यसैले आफ्नो व्यक्तिगत स्वार्थ भन्दा पनि जागिर र जिम्मेवारीको बढी ख्याल हुन्छ। मानसिक रुपमा यसबारे पहिल्यै तयारी भइसकेको हुनाले खासै गाह्रो हुँदैन। त्यसैले अलिअलि चित्र दुखे पनि मन बुझाउने बाटो भने हुन्छ। केही भाइबहिनीहरुले दशैंको समयमा सर भोक लाग्यो घरभरी मीठा–मीठा खानेकुरा छन्, हामीले के खाने होला भन्नुहुन्थ्यो। मैले मसँग विस्कुट छ त्यही बाँडेर खाऔँ भन्थेँ।

फ्लाइट ढिला भएका कारण टिका छुटेको त्यस्तो कुनै अनुभव छ त?

२०७१ सालको कुरा हो। मेरो बिहानै लुक्लामा फ्लाइट थियो। सकेर टिका लगाउन आउँछु भनेर घरमा भनेको थिएँ। तर, मौसम खराबी भएका कारण म लुक्लाबाट फर्किएर आउन सकिन। फोन सम्पर्क पनि हुन सकेन। मलाई दुई घण्टा जति टिकाका लागि बुबाआमाले कुर्नुभएछ। त्यसपछि पनि नआएपछि कार्यालयमा फोन गरेर बुझ्नुभएछ। मौसमका कारण फ्लाइट रोकिएको भन्ने थाहा पाएपछि उहाँहरुले टिका लगाउनुभयो। मौसम सफा भएपछि दिउँसो दुई बजेतिर बल्ल फर्कन पाइयो। साँझ ४ः३० बजेतिर बल्ल घर पुगेँ म। उहाँहरुले यसपालिको दशैं निकै नरमाइलो भयो भन्नुभयो। मलाई पनि साँझ एक्लै बसेर टिका लगाउँदा रुन मन लाग्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad